A drama (Performed in Gurukul) review published in Gorkhapatra National Daily dated 2010 February 26.
-नाटक समीक्षा
दुखेको फोटो
-CP Aryal (सिपी अर्याल)
कुरा हो, गुरुकुलमा प्रदर्शन भैरहेको नाटक पानीफोटो बारे।
नाटकमा कतिखेरै नदेखिने एउटा पात्र छ, हरि। ऊ नाटकको नायक हो। उसकै वरिपरी अरू पात्र रुमल्लिन्छन्, दर्शक रुमल्लिन्छन् र लेखकले पनि आफ्नो कलमलाई त्यही हरिभन्दा अन्तको विस्मृतिमा मोडिन दिएका छैनन्। यो उनको खुबी हो।
नाटकको कथानक यस्तो छ – कुशबहादुर र छलिमायाको छोरो हरि, द्वन्द्वकालमा बेपत्ता पारिएको हो (तर कसले बेपत्ता पारेका हुन्? सेना? माओवादी? केही खुलाइएको छ्रैन।)। घरमा छोरोको सम्झना मेट्ने/ताजा बनाउने एउटा तस्विर छ। बा आमाले घरको ढोका मास्तिर उही फोटो झुन्ड्याएका छन्। तस्विरले घरिघरि ती बुढा बा आमालाई टोकिरहन्छ। छोराको सम्झनाले तिनको मन अँठ्याइरहन्छ। बेपत्ता पारिएका नागरिक परिवारलाई डकुमेन्ट्री मेकर र नेताहरूले कसरी ललिपप देखाउँछन् त्यो पनि राम्ररी देखाइएको छ नाटकमा। कुशबहादुर र छलिमाया वाक्क छन् तिनीहरूबाट। त्यसैले उनीहरूले ती ललिपप सोवरसँग प्लेकार्ड संवाद गर्छ्रन्। गाउँमा हरिको साथीको बिहेको धुन बज्छ। यता हरिका बाआमाको मनको सारङ्गीले विरह गाउँछ। कुशबहादुर छोरोको साथीको बिहेको जन्ति जाने मन पनि गर्दैनन्। सँगै उनले हरिको बालसखी, राधाको बिहेको कुरा पनि थाहा पाउँछन्। बिचरा गर्न पो के सकून् र! राधालाई हल्का व्यङ्ग्य मात्र गर्छन्, आँशु बगाएरै। नाटक यसरी नै बग्दै गएको छ।
कुशबहादुर अलि रिसाहा स्वभावका छन्। श्रीमतीसँग उनी उत्तिखेरै रिसाउँछन् उत्तिखेरै रमाइला हुन्छन्। हामी मान्न सक्छौँ, बुढेसकालको आड छोरो हराएपछि बिथोलीएका हुन् कि उनी? हरि र उसकी दाँवली राधाको बालप्रेम दर्शकले देख्न त पाउँदैनन् तर अनुभवचाहिँ के गर्छन् भने उनीहरूको प्रेम भएको हुनुपर्छ। हरि हराएको कथाले बाबुआमाको मन बाहेक एउटी प्रेमिकाको मन कसरी कुँडीन्छ त्यो पनि झल्काएको छ कथानकले।
प्रत्येक तिहारमा एउटी दिदीको आँशुले हराएको भाइलाई कति बोलाउँदा हुन! तिहारमा भाइको निधारको अभाव उहि एउटा फोटोले मेट्न खोज्छीन् दिदी कमला।
हरिकी आमाले फोटोलाई जतन गर्ने उद्देश्यले फोटो बाकसमा हाली राख्ने सल्लाह गरेकी थिइन्। उतिखेर कुशबहादुर मान्दैनन्। अन्तिममा त्यही एउटा सम्झना पनि मेटिन्छ। राधा र हरिको फोटो एकैदिन हराँउछन्। नाटक सकिन्छ।
फोटो फेरि बनाउन विचरा बा आमासँग पानीफोटो पनि छैन। अन्तिममा छोरोको सम्झनाको उहि एउटा घिट्घिटी पनि खोसिन्छ, उनीहरूबाट। यसअर्थमा, नाटकले ट्रेजेडीको अर्ग्याजम पनि पार गरेको छ!
“कसले लगेको हुनुपर्छ फोटो?” दर्शक यहि अड्कल काट्दै गुरुकुल परिसरबाट ओरालो लागिसक्छन्।
यति भनिसकेपछि त नाटकले द्वन्द्वकालमा आफन्त गुमाएकाको पिडाको झल्को दिएको कुरालाई दोहोर्याउनु आवश्यक देख्दीनँ।
हामीले 'नेगेटीभ' भनेर बुझ्ने शब्द गाउँघरतिर पानीफोटो भनिदोँ रहेछ। नाटकबाटै थाहा पाएँ। नाटकको शिर्षक पनि निकै राम्रो लाग्यो।
खगेन्द्रले नाटकमा आफूले निभाएको भूमिकाको पूर्ण कदर गरेका छन्। उनको लेखनशैलि तारिफयोग्य छ। निर्देशनमा खोट लगाउने ठाउँ देखिनँ। दर्शकलाई उत्तिखेरै खितिति हँसाउन र थाहै नपाई आँसुमा डुबाउन सफल छन् उनी। यी लेखकको भाषाप्रयोग निकै उत्कृष्ट लाग्छ। उनका लेखाइमा पढेका र (रेडियो)नाटकमा सुनेका भाषाले नै मलाई नाटक हेर्न गुरुकुल डोर्याएको हो। गाउँकै ठेट भाषा प्रयोग गरिएको छ।
नाटकका सबै पात्रले सजिलै गाउँको लवज पक्रन सकेको देखिनँ। कुशबहादुरको भूमिकामा देखिएका राजकुमार पुडासैनीले राम्रो गरेका छन् तर अरुणा कार्की, जो छलिमाया बनेकी छन्, अभिनयमा त खरो उत्रिएकी छन् तर संवाद उच्चारणमा उति राम्रो गरेकी छैनन्। हरिकी दिदी कमलाको भूमिका निभाएकी सरिता गिरीको पनि संवाद शिल्प उति उत्कृष्ट देखिँदैन। निशा शर्माले भेषभूषाको रूपाङ्कन राम्रै गरेकी छन्। स्टेज व्यवस्थापनमा भोलाराज सापकोटाले अझ मिहिनेत गर्न सक्थे। गाउँमा प्रयोग हुने सामग्रीहरू–ढिकी, जाँतो, मोइ पार्ने ठेकी, नारा, जोतारो, तुलसीको मठ आदि लगायतका सामान स्टेजमा थपिएको भए गाउँको तिर्सना अझ मेटिन सक्थ्यो, दर्शकको। सुनिल पोख्रेलको प्रकाश व्यवस्थापन राम्रो छ।
समग्रमा, नाटकले रिमाल नाटक घरलाई खचाखच भिडले भर्ने सामर्थ्यचाहिँ राम्रो बोकेको छ ।
(तस्विरस्रोत : गुरुकुल)
No comments:
Post a Comment