-CP Aryal (सिपीअर्याल)
क्रिस्चियन आमा तथा हिन्दु/बंगाली बाबुबाट सन् १९६१ मा भारतको केरलामा जन्मिएकी अरुन्धती रोयको (Arundhati Roy) पाँच फुट दुई इन्चको सानो कद छ। तर उनको बौद्धिकताको कद भने ठूलो छ।
बाबुआमाको असफल दाम्पत्य जीवनको कारण उनले अयेमेनेममा आमासँग बाल्यकाल बिताउनु पर्यो। बाल अवस्थामै पनि उनी बाबुआमाको असफल दाम्पत्यको कारण आफूलाई केही असुरक्षित महसुस गर्थिन्। छेउमा आमा बाहेक कोही हुन्थेनन्। आफ्नो त्यो बाल संसारसँग सम्झौता गर्न सधैँ नै दृढ हुन्थिन् अरुन्धती।
आफ्ना बाल्यकालका प्रभाव उनका लेखनीहरूमा (सारांशात्मक वा संरचनात्मक रूपमा) प्रशस्त पाइन्छ।
रोयकी आमा आफैँ पनि एक सत्रृ्कय सामाजिक कार्यकर्ता थिइन्। उनले छोरी अरुन्धतीलाई एक स्वतन्त्र पाठशाला बनेर दीक्षित गरिन्। अरुन्धती दस वर्ष हुँदासम्म स्कुल गइनन्। त्यतिबेलासम्म उनकी आमा एउटी विद्यालय बनीन् भने छोरी अरुन्धती विद्यार्थी। यस्तो संसाथले अरुन्धतीको बाल मस्तिष्कमा बौद्धिकताको गुदी भरिदियो। उनी त्यसबेलादेखि नै लेख्न हौँसिन थालिन्।
अरुन्धती भन्छिन्, 'जब मैले लेख्छु मैले पुनर्लेखन कहिलेपनि गर्दीनँ। किनकि मेरो सोचाई र लेखाई एकै थोक हो। यो श्वाश लिने काम जस्तै हो, मेरो लागि। लेखाइमा मैले मेरो बौद्धिकता, मेरो अनुभव तथा मेरा विचार सबैको प्रयोग गर्छु। यो कुरा यदि कसैलाई मन पर्दैन भने उसलाई मेरो पित्ताशय मन नपरेजस्तै हो। यसमा म केही पनि गर्न सक्दिनँ।'
उनको लेखन शैलिमा उनी सानो हुँदाको समयले सांस्कृतिक रंग भरिदिन्छ। सधैँजसो। उनी भन्छिन् आफू जन्मिएको ठाउँ केरलामामात्र धार्मिक सहिष्णुता हुन्छ रे। जहाँ क्रिस्चियन, हिन्दु, तथा इस्लामीहरू मिलेर बसेका छन्। 'म हुर्कँदै गर्दा ती सबै संस्कृतिबारे राम्ररी अनुभव गर्थेँ जुन म अहिले पनि गर्छु। अहिले पनि केरलामा केही नराम्रो भएको मैले थाहा पाएँ भने मलाई बेस्सरी रुन मन लाग्छ।' उनी भन्छिन्। हुर्कँदै गर्दा गाउँमा मार्क्सवादको खुबै ठूलो दबदबा थियो। आन्दोलन आजै होला कि, अर्को हप्ता नै होला कि जस्तो!
उनी सोर्ह वर्षे उमेरमा घर छाडेर दिल्लि स्कुल अफ आर्किटेक्टमा भर्ना भइन्। घरको डिजाइन् गर्ने पढाई थालेकी अरुन्धतीलाई साहित्य र आर्किटेक्टमा समानता पो लाग्न थालेछ। उनले लेखन कला पनि घरको डिजाइन जस्तै हुने मान्छिन्। साहित्यलाई भाषाको ग्राफिक डिजाइन् ठान्ने उनलाई ठूला र आकर्षक घरको नक्सा बनाउने ध्याउन्नले भन्दा अक्षरले तान्न थाले। अनि अक्षरको खेलो गर्ने पेशा रोज्न मन लाग्यो। उनी अक्षरकी आर्किटेक्ट बन्ने बाटोतिर मोडिइन्।
पाठकले उनको लेखनशैलिको तारिफ गर्दा उनी 'म आफैँले कुनै कुरा लेख्ने होइन, त्यो त मेरा पात्रले जे अनुभव गर्छन् मैले त्यो कुरा टिप्ने मात्र हो! पाठकले पढ्ने कुरा भनेको पात्रको आफ्नै दृष्टिकोण हो।' भन्छिन्। अरुन्धतीले आफूलाई रुस्दीसँग दाँजीनुभन्दा फकनर वा मार्क ट्वाइन वा हार्पर एस लिसँग नजिक मान्न सकिने बताउँछिन्। 'ती साहित्यकार र मेरै लेखाइमा एउटै दृष्टिकोणको ल्यान्डस्केप हुन सक्ला' उनी अनुमान गर्छिन्।
लेखाइको सुरुको वर्षको सन् १९८४ तिर फिल्म निर्माता पतिलाई भेटीन्। टिभी सिरियलको कथा लेख्न थालिन्। असफलता हात लाग्यो। स्कि्रनप्लेतिर आकर्षित भइन्। तर कुनैले पनि सफलताको गाँस टक्राएन। दिमागमा उपन्यासको कथा फुर्न थाल्यो। अनि लेख्न थालिन् गड अफ स्मल थिङ्स्। पुस्तक प्रकाशित भयो सन् १९९७ मा। जुन उनको आत्मवृतान्त उपन्यास पनि मानिन्छ।
पुस्तक प्रकाशन पछि सम्पूर्ण हतियार पाठकलाई नै सुम्पीदिने कारण उनले आफ्नो पुस्तकबारे कहिल्यै प्रतिरक्षा गर्दिनन्। अचेल यी अक्षर आर्किटेक्टको चर्चा एउटी सफल उपन्यासकार भन्दा पनि सचेत अधिकारकर्मीको रूपमा मौलाएको छ। तर अरुन्धतीको कुरा गर्दा धेरै समय उनको पुस्तक गड अफ स्मल थिङ्स्को गर्नुपर्ने हुन्छ।
गड अफ स्मल थिङ्स्
अप्रिल १९९७ मा रेन्डम हाउसद्वारा प्रकाशित उनको उपन्यासले प्रकाशनको ६ महिनापछि नै प्रतिष्ठित बुकर पुरस्कार बाजि मार्यो। त्यस्तो प्रतिष्ठित पुरस्कार पाउने पहिलो भारतीय लेखिका बनिन् अरुन्धती।
गड अफ स्मल थिङ्स् अंग्रेजीमै लेख्नुपर्ने उनीसँग प्रशस्त कारणहरू छन्। भाषाको रोजाइ उनको लागि महत्वपूर्ण पनि भएन। उनका अनुसार अंग्रेजी कै कारण हामीले राम्रो जागिर वा राम्रो विश्वविद्यालयमा पढ्न पाउँछौँ। अझ, बेलायतमा भन्दा धेरै अंग्रेजी बोल्ने मानिस त भारतामा पो छन्! त्यसकारण अंग्रेजी त भारतमा बोलिने सजिलो र साझे भाषा हो रे, अरुन्धतीका अनुसार। सबै ठूला अनि चलेका पत्रपत्रिकाहरू पनि अंग्रेजीमै लेख्छन्।
उपन्यास सर्र बुझ्न खोज्दा कस्तो छ त? यसबारेको पहिलो कुरा : यो अरुन्धतीको अटोबायोग्राफिकल उपन्यास भएकोले लगभग सबै थोक उनको जीवनभित्रैको हो। अरुन्धती आफैँ जन्मिएको ठाउँ अयेमेनेमको एउटा परिवारको कथा छ यसमा। एउटा परिवारको वियोगान्त कथाको बाबजुद उपन्यासमा स्थानीय राजनीतिको पृष्ठभूमि, सामाजिक निषेध तथा इतिहासको चक्रबातको कुरा छ। कथामा लिनियरिटी छैन, बरु बहु दृष्टिकोणहरू छन्। यसले घटनाहरूको विविध झझल्को दिँदै जातीयतामा आधारित तात्कालीन भारतीय समाजको स्पष्ट रेखाचित्र खिचेको छ। यो पुस्तकले हाम्रा जीवनका स–साना चिजहरू कसरी स्थापित हुन्छन्? ती कुरा मानिसको व्यवहारमा कसरी अनुदित हुन्छन्? र जीवनलाई कसरी प्रभाव पार्छन्? भन्ने कुरा दर्शाइएको छ। भारतीय इतिहास र राजनीति, वर्ग सम्बन्ध तथा सांस्कृतिक समस्या, निषेधित प्रेम, सामाजिक विवेधका विषयहरू उठान गरिएको छ। यसमा अरुन्धतीको भाषा शिल्प अत्यन्तै बेजोड छ।
यो एउटै उपन्यासले अरुन्धतीका करोँडौ फ्यानहरू भए। ती फ्यानहरू उनको पुस्तक विनाको संसारै कल्पना पनि गर्न चाहँदैनन्। गड अफ स्मल थिङ्स्को वाहवाहीले अरुन्धतीलाई त रातारात सेलिब्रेटी पो बनायो त! उनले त्यस पहिलो उपन्यासमा रोजेको विषयले भने विवाद निम्त्यायो। रोयलाई पुस्तकको अन्तिम पाताहरू हटाउने दवाब दिनेहरू बढे। उनीहरूका अनुसार सो खण्ड अति नै लाजमर्दो र भद्दा भयो रे। अदालतमा मुद्दा पनि लाग्यो। उनले पुस्तकप्रति केही मानिसहरूको घृणा नैतिक भन्दा पनि राजनीतिक बन्यो भनिन्। पुस्तकमा जातियतावादका कुरालाई नराम्रो हो भन्न खोजेकी थिइन्। तर धार्मिक कट्टरपन्थिहरूले बुझे पो! आफ्नो व्यापक आलोचना भैरहँदा उनको प्रतिकृया यस्तो आयो, 'समालोचकहरूले कुनै नयाँ लेखक तिनीहरूको आँगनमा टुप्लुक्क झुल्किएको देख्न चाहँदैनन्। मलाई अहिले त्यस्तै भएको हो।'
अरुन्धतीलाई यो उपन्यास लेख्न इन्सपायर गर्ने पहिलो कुरा भने आफ्नो जन्म थलोको आकास हो। यसबाहेक उनको थलोमा हुने गरेको मार्क्सवादी र्याली पनि हो। अरुन्धतीको लागि फिक्सन लेख्नु भनेको संसारलाई मनले अनुभव गर्ने काम हो। यसको लागि एउटा कुञ्जिको आवश्यकता पर्छ। कुञ्जि जोकोहीले भने सजिलै फेला पार्न सक्दैनन्। तर उनले केरलाको आकासमा त्यो कुञ्जि सजिलै भेटिन् । त्यसपछि उपन्यास लेख्ने कार्य उनको लागि एउटा अभिन्न अंग भयो। अरुन्धतीलाई उनकी आमाले भन्दि रैछन्, उपन्यासका केही घटनाहरू अरुन्धती दुई वर्षकी हुँदा घटेका थिए रे। जुन यी लेखिकाले सम्झन सक्ने कुरै भएन। तर यी लेखिका भन्छिन् 'मैले ती घटना सम्झन नसकेपनि त्यो मेरो मष्तिस्कको कुनै भागमा टपक्क टाँसिएका थिए।' यो उपन्यास २० राष्ट्रमा प्रकाशित भैसकेका छन्। विश्वका प्रतिष्ठित सबै पत्रपत्रिकामा कैयौँ हप्तासम्म उनको पुस्तकले 'हिट' र 'बेस्टसेलर'को लिस्ट ओगट्यो। भारतले आफू स्वतन्त्र भएको पचासौँ वर्षगाँठ मनाइरहेको बेला प्रकाशित उनको उपन्यासले पनि भारत कै स्वतन्त्रता दिवस जत्तिकै महत्व पाइरहेको थियो!
सन् २००७ को सुरुआतमा अरुन्धतीले नयाँ उपन्यास लेख्दै गरेको जानकारी दिएकी थिइन्।
उपन्यासबारे प्रख्यात समीक्षाहरू
लिदिया रोफेलले गड अफ स्मल थिङ्स्लाई व्यापक ऐतिहासिक वर्णानुक्रम मानेका छन्। जसमा इतिहासका विविध स्वरूपहरू, जस्तै पूर्व औपनिवेशिक र औपनिवेशपछिका ब्रिटीस साम्राज्यको हिन्दु तथा क्रिस्चियन समयका विविध खण्डको चर्चा छ। यसमा भारतीय तथा पश्चिमी संस्कृतिको चर्चा र सांस्कृतिक हाइब्रिडिटीको मिथ समावेश भएको उनी मान्छन्। न्यूयोर्क टाइम्स बुक रिभ्यूले अत्यन्त असाधारण उपन्यासको दर्जा दियो। लस एन्जलस टाइम्सले स्मरणयोग्य तथा तिक्ष्णताको वेगको उपन्यासको दर्जा दियो। यसैगरी टोरन्टो टाइम्सले उत्कृष्ट, जादुगरी उपन्यासको स्थान दियो। यसबाहेक भारतका केही समीक्षकले उनको उपन्यासलाई नकारात्मक भाव फैलाएको भनी आरोप लगाए।
अरुन्धती एउटी सचेत अधिकारकर्मी
गड अफ स्मल थिङ्स्को प्रकाशन पछिका वर्षहरूमा उनले भारतले झेलिरहेको विविध समस्याका कुरामा गैर आख्यान तथा राजनीतिक सवालमा काम गर्न थालीन्, एउटी अधिकारकर्मी भएर। अरुन्धतीको खुबी सशक्त निबन्ध लेखन पनि हो। उनले राजनीतिक तथा सामाजिक सवालहरूमा थुप्रै घतलाग्दा लेखहरू प्रकाशित गरेकी छन्। उनी एउटी उपन्यासकार भन्दा एउटी सचेत अधिकारकर्मी भएर काम थालीन्। भारतका जल्दा–बल्दा समस्यामा विश्वका ठूला–ठूला अखबारहरूमा कडा आलोचना अनि विचार सहित लेखहरू लेख्न् थालिन्। केहीले उनलाई अत्यन्त लोकप्रिय बनाइरहेका छन् भने केहीले उनलाई विवादको चरमचुलीमा धकेल्छन्। उनले अमेरिका जस्तो सुपरपावरले निहत्था राष्ट्रमाथि प्रयोग गर्ने शक्तिको सधैँ खुलेर आलोचना गर्छिन्। युद्धविरोधि अरुन्धती इराक र अफगानिस्तान ध्वस्त पारेको अमेरिकी बुस प्रशासन विरुद्ध सधैँ अक्षरमार्फत् जाइलागीरहन्छिन्। ओबामालाई नोबल शान्ति पुरस्कार दिएर विश्वले 'युद्धको योग्यता दर्शाएको' ठोकुवा गर्छिन् अरुन्धती। उनी भन्छिन् 'कुनै पनि कुराले आतंकवादलाई पुष्टि गर्न सक्दैन!' सन् २००८ को मुम्बै हमला कास्मीर र भारतीय मुस्लिममाथिको आर्थिक असमानताको कारण भएको उनले टिप्पणी गरिन्। सन् २००९ मा उनको निबन्ध संग्रह 'फिल्ड नोट्स अन डेमोक्रेसी : लिसनीङ् टु ग्रास हप्पर' प्रकाशित भयो जुन विभिन्न लेख तथा भाषणमा प्रस्तुत भएकी अरुन्धतीको विचारको संगालो हो। यसमा उनले 'भारतीय शैलीको डेमोक्रेसी, डेमोक्रेसी नभएर डेमन क्रेजी' भएको सशक्त प्रतिकृया दिएकी छन्। उनको यस्तो विश्लेषणले त्यतीबेलाको संचार तथा राजनीतिक जगतमा खुबै तहल्का पिटेको थियो। यस पुस्तकका पानामा अरुन्धती विशेषतः लोकतन्त्रको खोल ओढेको भारतीय राजनीतिक नाटक विरुद्ध खनिएकी छन्। मार्च २०१०मा वाकिङ विथ द कम्रेड्स शिर्षकको उनको लेख छापियो भारतीय अखबार आउटलुकमा। यो लेख उनले दन्तेवडाको फिल्ड भिजिट गरी तयार पारेकी हुन्। युद्धको रंगमंच भारतको जंगली इलाकामा छेडिएपनि यसको दुःखदायी र खतरनाक असर भने सबैमा पर्छ भन्छिन् उनी। सो युद्धको एउटा पाटोमा उदाउँदो सुपरपावरको प्यारामिलिटरी फोर्स, मोटो रकम र प्रचारवाजी गर्ने मिडिया छ र त्यसैको अर्को पट्टी परम्परागत हतियार बोक्दै विद्रोहको इतिहास काँधमा सिउरेर भिड्न तयार गुरिल्लाहरू छन्। भारतले ती निमुखालाई 'मूलधारमा ल्याउने' र 'विकासको फल चखाउने' ललिपप त देखायो तर उनीहरू सधैँ ठगिए मात्र। भारतको माओवादी विद्रोह यीनै कारणले मौलाएको मान्छिन् अरुन्धती। उनी एन्टि ग्लोबलाइजेसन/अल्टर ग्लोबलाइजेसनको प्रमुख आवाज र नव साम्राज्यवादको कट्टर आलोचक पनि भइन्।
सन् २००३को जनवरीमा प्रकाशित उनको लेख कन्फ्रन्टिङ् एम्पायर मा उनले साम्राज्य भनेको अमेरिकी सरकार, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व ब्यापार संगठन हो वा अन्य कुनै थोक? यस प्रश्नको उत्तर उनले सो लेखमा दिन खोजेकी छन्। साथै उनले अनियन्त्रित खुला बजारले राष्ट्रिय सम्प्रभुतालाई धमास दिने होइन कि प्रजातन्त्र विरुद्ध नै खोइरो खन्ने जनाएकी छन्। सामाजिक अभियानको कार्यकर्ता भएको र गैर हिंसाको प्रवर्धन गरेकोमा उनलाई सन् २००४ मा सिड्नी पिस प्राइजद्वारा सम्मानित गरियो। यसैगरी सन् २००६ मा उनलाई उनको निबन्ध संग्रह द अलजेब्रा अफ इन्फाइनाइट जस्टिसको लागि साहित्य अकादमी पुरस्कारद्वारा सम्मान गरियो जुन उनले अस्विकार गरिन्। अस्विकार गर्ने कारण थियो : औद्योगिक कामदारमाथि भारतीय सरकारले गर्ने अत्याचार र भारतले अमेरिकाको सिको गरेको बढ्दो सैनिकीकरण तथा नव साम्राज्यवादको विरोध। सन् १९९८ मा उनले द इन्ड अफ इम्याजिनेसन नामको निबन्ध लेखिन्। जुन भारतले गर्न लागेको आणविक परिक्षणको विरोधमा थियो। उनी आणविक होडवाजीले संसार ध्वस्त बनाउने कुरामा चिन्तित भइन्। त्यसै निबन्धमार्फत् उनले आफ्नो कुरा मान्ने जोकोहीलाई आणविक हतियारको बहिष्कारमा लाग्न अपिल गरिन्। अरुन्धतीले टाइम्स अफ इन्डियालाई दिएको आफ्नो एउटा अन्तरवार्तामा कास्मीरलाई छुट्टै राज्य बनाउनुपर्ने कुरामा मत राखिन्। अरुन्धतीको यस विचारप्रति भारतीय राष्ट्रिय कंग्रेस तथा भारतीय जनता पार्टीले व्यापक असन्तुष्टि जनाएका थिए।
नर्मदा बचाओ आन्दोलन
रोयले केही अधिकारकर्मीको साथमा नर्मदा ड्याम प्रोजेक्ट विरुद्ध काम गर्दै छिन्। उनका अनुसार उक्त बाँध बनाइएमा त्यसले करोँडौँ मानिसलाई विस्थापित बनाउँछ, त्यसले कुनै किसिमको सिँचाई वा खानेपानी सुविधा उपलब्ध गराउन सक्दैन। त्यसैले सो बाँध परियोजना विरुद्ध खनिएकी हुन अरुन्धती।
यो आन्दोलन रोक्ने धम्किहरू उनीतिर लक्षित गरिँदा यी हरफलाई सम्झन्छीन् अरुन्धती :
हामी त्यस्ता विद्रोहीहरू हौँ !
जो रोकिने छ्रैनौँ !
निहुरीने छ्रैनौँ !
पेलिने छैनौँ !
र जो मेटिने पनि छैनौँ !
हामी बेइन्साफीका जवाफ हौँ !
रोयले आफूले बुकर पुरस्कारबाट पाएको रकम तथा पुस्तकको रोयल्टी सोही आन्दोलनलाई सघाउन दिइन्। सन् २००२ मा अरुन्धतीले दिल्ली सर्वोच्च अदालतले नर्मदा बचाओ आन्दोलनलाई दबाउने प्रयास गरेको आरोप लगाइन्। फलतः अदालतलाई उनले सम्मान नगरेको आरोप लगाइयो। उनलाई 'एक दिने सांकेतिक कारावास' तथा रु २५०० को जरिवाना सुनाइयो।
अरुन्धतीलाई मध्यस्तकर्ताको प्रस्ताव
'गरीब जनताको मुक्तिको लागि' सशस्त्र युद्ध चलाइरेको बताउने भारतमा युद्धरत माओवादी विद्रोहीहरूले अरुन्धती जस्ता बौद्धिक वर्गलाई भारत सरकारसँग वार्ता गर्न मध्यस्तकर्ताको भूमिका दिए उनीहरू युद्धविराम गर्न तयार रहेको समाचार केही दिन अघि आएको थियो। जवाफमा अरुन्धतीले “स्वतन्त्र पर्यवेक्षक”को भूमिका दिए उनी मध्यस्तकर्ता बन्न तयार रहेको प्रतिकृया बिबिसी रेडियोलाई दिएकी छन्। उनका अनुसार उनी एक लेखक भएको नाताले उनीसँग मध्यस्तकर्ताको त्यस्तो कुनै अनुभव नभए पनि मुलुकको लागि काम गर्न तयार रहेको जनाएकी छन्। उनका अनुसार, उनी माओवादीको प्रतिनिधि भएर मध्यस्तकर्ता बन्न चाहेकी भने होइनन्। भारतका प्रधानमन्त्री मनमोहन सिंहले माओवादी विद्रोहीहरू 'भारत स्वतन्त्र भएयता भारतका लागि सबैभन्दा खतरनाक' भएको जनाएका थिए। माओवादीको यस्तो प्रस्तावले भने समस्या केही हदसम्म समाधान हुने मान्न सकिन्छ। केही राजनीतिक विश्लेषकका अनुसार विद्रोहीले अरुन्धतीलाई नै मध्यस्तकर्ता बनाउनु पर्ने कुराको केही कारण हुन सक्ने मान्छन्।
अरुन्धतीले यो आतंकीत ब्रम्हाण्डबीच निराशाको कुरा मात्र गर्ने होइन आसलाग्दो बिहानीतर्फ पनि संकेत गर्छिन्। उनी भन्छिन्, 'अर्की पृथ्विको उदय सम्भव मात्र नभै उनी आफ्नो बाटोमा पनि छिन्। शान्तिपूर्ण आकासमा मैले उनको सासको आवाज सुन्न सक्छु।'
जय होस् अक्षरकी यस्ती आर्किटेक्टकी !
The article was published in Nagarik (national daily) supplementary 'Akshar' dated 2067 Baisakh 25.
No comments:
Post a Comment