Thursday, May 23, 2013

हजुरआमासँग फोन संवाद


-सिपी अर्याल

अचेल बिसञ्चोले बढीनै चिथोर्न थालेको छ मेरी हजुरआमालाई । फोनमा नियमित बोलिरहन्छु । आँखा रसाउँछन् । रसाएर धमिलिएका मेरा आँखा उमेरले धमिल्याएर जालो लागेका हजुरआमाका आँखाले छर्लङ्ग देख्छन् । वेभले उहाँको कानसम्म मेरो आवाज पुर्‍याउन सक्दैन । त्यसैले एकतर्फि कुराकानी हुन्छ, उहाँ बोल्ने मैले चुपचाप सुन्ने । घर जान मन लाग्छ, एउटा युग बाँचेकी उहाँलाई सुनिरहन मन लाग्छ । चौरासी पूजा गरेपछि मान्छे पनि देउता हुन्छन् अरे । छिमेकहरू भन्छन्, “हजुरआमा पनि देउता हुनुभयो, मान्छेहरू माझकी भगवती हुनुभयो ।” देउता हुन्छन्/हुँदैनन् संसार ढुक्क छैन । मेरा लागि कम्तिमा तपार्इँ हुनुहुन्छ, त्यसैले म ढुक्क छु । यसकारण तपार्इँ देउता होइन हजुरआमा नै हुनुपर्छ ।

मेरी हजुरआमा
पढाइ र कामका अनेक टन्टा छन् यहाँ । घर गइरहन पाउँदिन । वेभले नसुनाएको मेरो आवाज उहाँ आफैं सुनेर भन्नुहुन्छ, “तँ राम्ररी पढ्, काम अर् । आत्तिएर घर नआइज । मेरो पिर पनि नअर् । तेरा बा/आमाले नम्मरी स्याहार अर्चन् । फालफूलको रस ख्वाम्चन् ।” उहाँले रुचाउने खान्की, मिश्री लगिदिएको थिएँ । सकिएछ । भन्नुभयो, “तैँले ल्याइदेको मिश्री भ्याइयो । गुलियो मिश्री नातीको कमाइको हुँदा झन् गुलियो मानेर खाएँ !”

“बिहा अर् !” मलाई जिस्क्याउनुहुन्छ, “स्वास्नी ले । तँलाई चट्ट पारेर केम्पस पठाम्चे । मीठो ख्वाम्चे । मोया अर्चे । जे जात भएनी केइ हुन्न । तेरा बा/आमाले नमाने म फकाम्चु ।” सुन्छु अनि मुसुमुसु हाँस्छु । फेरि भन्नुहुन्छ, "हुन्त पढेर ठूलो मुन्छे हो पैला अनि ल्याउलास् स्वास्नी । अक्षरको डाक्टर हुनपर्च तँ ।" अक्षर नचिनेकी उहाँले कसरी थाहा पाउनुभयो होला मान्छेहरु 'अक्षरका डाक्टर' पनि हुन्छन् भनेर !

मेरो हृदयमा तपाईँको आवाजको बेजोड झंकार छ ! नमन तपाईँलाई !

Saturday, May 18, 2013

फुकोका अनेक अनुहार

सिपी अर्याल/सरोज जीसी (CP Aryal/Saroj GC)

‘व्यक्तिगत रूपमा अहिलेसम्म मैले कोही बौद्धिक मानिसलाई भेटेको छैन । उपन्यास लेख्नेहरू, बिरामीको हेरचाह गर्नेहरू, अर्थशास्त्रीहरू भेटेँ । पढाउनेहरू भेटेँ, पेन्ट गर्ने मानिस भेटेँ र केही पनि काम नगर्ने मानिस भेटेँ । बौद्धिक व्यक्तिहरू कहिल्यै भेटिनँ ।” विश्वविख्यात दार्शनिक मिसेल फुकोले (Michel Foucault) कोही पनि मानिस बौद्धिक होइनन् भन्ने छनक दिँदै यस्तो भनिदिएपछि आफूलाई बौद्धिक भन्न रुचाउनेहरू उनीविरुद्ध जाइलागे । उनलाई दुव्र्यसनी, मनोरोगी, समलिङ्गी, स्वपिडक र पागल भन्दै उनको खेदो खने । तर उनले दिएको अतुलनीय ज्ञानको कारण विश्वले उनलाई पुज्यो पनि । उनको मष्तिष्कले कोरलेका विचारले संसारलाई अभूतपूर्व गुन लगाएका छन् । यिनै फुको मानवीकि तथा समाजशास्त्रअन्तर्गत् हुने अनुसन्धानहरूमा सबैभन्दा धेरै पढिन्छन् । र रिफरेन्सिङमा पनि यिनैको नाम अग्रपंक्तिमा आउँछ ।

Saturday, March 30, 2013

एउटा फिरन्तेको कथा



-सिपी अर्याल (CP Aryal)

कुनै–कुनै जिन्दगी मृत्युबाट सुरु हुन्छन् । सबैथोक अस्ताएर खरानी भैसक्छ । अनि मात्र एउटा फिरन्तेले भोगेको समय सुम्सुम्याउन पाइने मौका मिल्छ, ब्रजेशको पहिलो उपन्यास ‘यायावर’मार्फत् । कहिले सिनेमा लेखक, कहिले अभिनयकर्ता, कहिले स्तम्भकार त कहिले कथालेखकको पहिचान बनाउँदै पाठकको मनमा घुमिहिँड्ने यायावर हुन् ब्रजेश । उनै ब्रजेशले ‘यायावर’ नामकै पहिलो उपन्यासमार्फत् फेरि अर्को नौलो यात्रा सुरु गरेका छन् ।

समग्र जिन्गदीलाई डोहोर्याइ हिँड्नु अप्ठेरो कुरा हो । अझ मन लागेको ठाउँमा पैताला विसाउने फिरन्तेहरूलाई पनि सुख्ख छैन ! वैकुण्ठ नामक प्रमुख पात्रको वरिपरि जेलिएको यस उपन्यासमा सो पात्रचाहिँ आफ्ना सुन्य रोजाइहरूबीच कारुणिक समय बाँचिरहेको छ । बाङ्गो समाजबाट टेढो औँलाले घ्यु निकाल्न नजानेको वैकुण्ठ निरुद्देश्य यायावर हो । उसका कुनै गन्तब्यहरू छैनन् । ऊ निरन्तर डुलिहिँड्ने फिरन्ते हो । आफ्नै कथा लेख्दा उसले आफूलाई नायक पाउँदैन । ऊ भन्छ, “आफ्नै कथा लेख्दा पनि म कतै कुनै ठाममा नायक बन्न सकिनँ ।” तर ऊ खलनायक पनि होइन । केवल एउटा पात्र हो, बस् ! वैकुन्ठ एउटा पहिचानबिहिन पात्र हो । उसका थुप्रै नाउँहरू छन्, बाङ्खुरे, माड्साप, काठ्ठा, धतुरे, हिरा आदि । यतिका धेरै नाम बोकेको मानिस निश्चित परिचयविहिन र उद्देश्यविहिन छ । वैकुण्ठजस्ता जोकोही नेमट्याग भिरेकाहरूको जिन्दगीमा यस्तो घटना घट्न सक्छ भन्ने चेतना लेखकले भरिदिन खोजेका हुन सक्छन् ।

मूलकथा जस्तै लाग्ने इन्सपेक्टर प्रतापको जीवनशैलीबाट उपन्यास सुरु हुन्छ । तर हेर्दाहेर्दै प्रतापको कथा गौण बन्छ र वैकुन्ठबाट कथाको म्याराथन सुरु हुन्छ । आफ्नो जीवनसंघर्ष वैकुण्ठले आफ्नै लेखाइमार्फत् उजिल्याउन खोजेको हो, एउटा डायरीको रूपमा । बस दुर्घटनामा परेको बैकुण्ठको पेनड्राइभ कम्प्युटरमा हुलेपछि इन्सपेक्टर प्रतापले कम्प्युटर स्क्रिनमा अक्षर पढ्न थाल्छ, निरन्तर । कहिल्यै कुनै पुस्तक नपढ्ने प्रतापलाई वैकुण्ठको डायरीले तत्कालै तान्छ । ऊ कहिँकतै नरोकिएरै खररर कथा पढ्न थाल्छ । तारेभिरजस्तै अप्ठेरो जीवन बाँच्न बाध्य वैकुन्ठको कथा पढ्दा चाहिँ कहिँ कुनैपनि अप्ठेरो महसुस हुँदैन । त्यसैले कुनै पात्रको जिन्दगी पढ्नु र सोही जिन्दगी उही पात्रले भोग्नु नितान्त फरक कुरा हुन् ! उपन्यासले यहि भन्छ । वैकुण्ठको बाल्यकाल, विद्यार्थी जीवन, विवाहोत्तर समय, कलेज पढ्दा काठमाडौँमा गर्नुपरेको संघर्ष र प्रौढावस्थाको एक्लो जीवनबारे पढिरहँदा अनेक ठाउँमा खित्का छाडेर हाँस्ने ठाउँ मिल्छ । उसैगरी आँसुका ढिक्काहरूसँग पनि पाठकलाई सिँगौरी खेल्नुपर्ने हुन्छ ।

कालोराम वैकुण्ठको जीवनको ग्रहण हो । मूल खलनायक उही हो । स्कुलमा नाटक देखाउने तयारी गर्दा कलाकारहरूलाई कालोरामले शोषण गर्छ । आफ्नो निर्देशनमा प्रस्तुत गर्न लागेको नाटकमा मूलभूमिका दिने सर्तमा कालोरामले जुनेली र वैकुण्ठमाथि अनैतिक यौनशोषण गर्छ ! त्यस्तो शोषणले वैकुण्ठलाई जीवनभर निरिह बनाइरहन्छ । यो यथार्थ नेपाली सिनेमा क्षेत्रमा पनि व्याप्त भएको ठूलै गाइँगुइँ चलिरहन्छ । सिनेमामै मज्जाले भिजेको हुनाले पनि ब्रजेशले त्यो प्रसंगलाई न्याय गर्न सकेका हुन् । कथाका अन्य थुप्रै प्रसंगहरू पनि सिनेमा जस्तै लाग्छन् । आँखामा अक्षर घुमिरहँदा सिनेमाको रिल घुमेजस्तै लाग्छ । यो शैलीलाई लेखकको अद्भुत क्षमता मान्न सकिन्छ ।

कतिपय घटना प्रसङ्गहरूको जोडघटाउ प्राकृतिक लाग्छन् । घटनालाई लेखकले नघटाएर तिनीहरू आफसेआफ घटित भैरहेका जस्ता लाग्छन् । यसले उपन्यासलाई अस्वाभाविक हुनबाट रोक्न सकेको छ । कथामा आएका कुनै–कुनै (अश्लिल) शब्दहरू केही ठाउँमा प्रयोगको दृष्टिले प्राकृतिक देखिँदैनन् । आख्यान लेखनमा चलिरहेको शैलीलाई पछ्याउने जमर्को जस्तो मात्र देखिन्छन् ती शब्द छनौट । कथाको मूलपात्र वैकुन्ठको पात्रचित्रण सशक्त छ । वैकुन्ठले आफ्नो शैलीलाई कहिँपनि फुत्कन दिएको छैन । उसको जीवन एउटा सरल रेखामै बगेको छ । कुण्ठाहरूसँग प्रत्येक पल लाप्पा खेल्दै ऊ निरुद्देश्य हिँडिरहन्छ । कालोरामले शोषण गरेपछि उसले आफ्नो यौनकुण्ठा मेट्न कुनै हालत सक्दैन । पात्रहरूलाई जन्माउन, हुर्काउन, बढाउन, तिनको सही स्याहार गर्न र समयसँगै तिनलाई उचित थान्को लगाउन सहि तरिकाले सकेका छन् ब्रजेशले, आत्मीय आमाबाबुले जस्तै । वैकुण्ठबाहेकका पात्रहरू, जुनेली, कालोराम, बा, आमा, भैरे, मेनुका आदि सहज लाग्छन्, वैकुण्ठले जिन्दगीको जेब्राकसिङमा भेटिएका जस्तै लाग्ने । ती जसरी आउँछन् उसैगरी बिलाउँछन् । एकैछिन मात्र देखिने भूगोल शिक्षकले पाठक मनमा अमिट छाप छोड्न सक्छन् । उपन्यास सकिँदा कालोराम कता गयो होला भन्ने प्रश्न पाठक मनमा उब्जन सक्छ । त्यसको पनि सहि सम्बोधन गर्नुपथ्र्यो लेखकले । कथामा एउटा ‘फ्याक्चुअल एरर’ छ । यात्रु बोक्ने भाडाको बसको नम्बरप्लेटमा अल्फाबेटको बीचमा अङ्क हुन्छ, ‘अ’ होइन र अन्तिम अक्षर ‘ख’ हुन्छ ‘क’ होइन । उपन्यासको सबैभन्दा रोचक पक्ष यसको कथानक हो । भाषा मध्यम लाग्छ । जे छ कथानकमै छ ! यसैगरी कथा भन्ने शैली (प्रस्तुतीकरण) मा पनि दम छ । यसलाई नौलो मान्न सकिन्छ । कथा अन्त्य चित्तबुझ्दो लाग्छ । पुस्तकमा नगण्य मात्रामा शाब्दिक त्रुटीहरू छन् । यथेष्ट मिहिनेत देखिएको यो पुस्तक पठनीय छ ।

Brazesh's Yayawar review by CP Aryal


पुस्तकः यायावर
विधाः उपन्यास
लेखकः ब्रजेश
प्रकाशकः अर्किड बुक्स
पृष्ठः २०९
मूल्यः ने.रु २९५


(नागरिक 'अक्षर'मा २०६९ चैत १७ गते प्रकाशित । लिङ्क यहाँ छ ।)


Saturday, February 23, 2013

गुमनाम गुरु

सिपी अर्याल, विजयराज पौडेल

बाबुको सम्झनाको हिक्काले कहिल्यै छोड्दैन उनलाई । एक–अनेक तरिकाले घाउ बल्झिरहन्छ । दुनियाँलाई चासो छ नि त बाबुबारे । त्यसैले सोधिरहन्छन् सबैले ।

“फर्केर आउने सम्भावना अब होला र ?” मानिसहरूको यस्तो प्रश्न सिधै उनको आँखामा गएर ठोक्किन्छ ।
अनि ती आँखामा सम्झनाका बाछिटाहरू लम्पसार पर्छन् । ओसिला आँखाहरू सजिलै ओभाउनै पाउँदैनन् । 

“बुवा फर्केर आउनुहोला जस्तो लागिरहन्छ...” डोरबहादुर विष्टका छोरा केशरबहादुरले यसो भन्दा माघको आकाश धुम्मीएको थियो । पानी पर्ला–पर्ला जस्तो देखिन्थ्यो । अनि केशरका आँखा पनि उसैगरी पानीले धुम्मीएका थिए । आकाशको जस्तै आँखाका पानी पनि तप्प चुहिइहालेका थिएनन् ।

केही वर्ष अघि धेरैलाई आश थियो–काँसझैं सेतै फुलेको एउटा बुढो मानिस झोलाभरी पाण्डुलिपि बोकेर आउने छ । र, फेरि एकपल्ट संसारभरिका विद्वानहरुलाई चक्मा देखाउने छ । १२ वर्षमा खोला पनि फर्किन्छ भन्छन्, तर उनी फर्केनन् । सधैँका लागि एउटा रहस्य भए । धर्तीमा छन् कि आकाशमा ? सबै चुपचाप । उत्तर भए पो ! श्रीमतीको स्वर्गेवास हुँदा पनि फर्किएनन् न त घरमा ठूला थितीहरु चलाउँदा नै । त्यसैले कठ्यांग्रिने चिसोजस्तै भइसकेको छ आस । तर पनि ८७ वर्ष वाँचिने नै उमेर हो । खोला फर्किन्छ कि ! अनि के थाहा उनी चम्कीएका आँखासहित लौरी टेक्दै आइ पो हाल्छन् की ?

“उनी बहुलाएर हिँडे”

“‘प्रचण्ड’ भनेका अरू कोही नभएर यिनै विष्ट हुन् ।”

“उनी त जोगी भएर भारततिर बरालिइ हिँडेका छन् रे !”

“जोगीको भेषमा इथ्नोग्राफिक रिसर्च गर्दैछन् रे !”

विष्ट हराएपछि मानिसहरूका फरक–फरक अन्दाज हुन यी । माओवादी विद्रोह सुरु भएको भर्खरै एक वर्ष हुनु र उनी हराउनुको संयोग कस्तो जुरेको ! “त्यसैले उनलाई ‘प्रचण्ड’ भन्ने अड्कल काटेका थिए कतिले” छोरा केशर बताउँछन् । तर कट्टर राजनीतिक खेलसँग विष्टको सम्बन्ध ब्रहण्डको एक छेउदेखि अर्को छेउसम्मको दुरी जत्तिको पनि थिएन होला ! भलै उनका लेख, अनुसन्धान अनि विचारहरूले त्यस्तो राजनीति गर्नेहरूलाई आच्छुआच्छु पारेका होउन् ।

नेपालको मानवशास्त्रको जनकको उपाधी पाएका विष्टको जीवन काल्पनिक जस्तै लाग्छ । सुरुमा पाटनको कुनै विद्यालयका प्रधानाध्यापक । अनि स्वअध्ययनबाट प्रोफेसर तथा मानवशास्त्री । २०१३ सालतिर सिरिरि चलेको बतासले उनको कानमा खबर पु¥यायो, “बेलायतबाट आएका मानवशास्त्रीले सोलुखुम्बुका शेर्पाबारे अनुसन्धान गर्न चाहन्छन् । त्यसैले उनलाई नेपाली भाषा, रहनसहन, रितीबारेका यथार्थ बुझाउन एकजना नेपाली सहयोगी चाहिएको छ रे ।” कालो पाटीमा अक्षर पोख्न उद्दत प्रधानाध्पापकको मनको तलाउमा त्यो बतासले ढुङ्गा फ्याँकेजस्तो भयो । आफूले त्यो काम ती बेलायती मानवशास्त्री, क्रिस्टोफोर भोन फ्युर–हेमिन्ड्रफसँग गर्न पाए हुन्थ्यो भनि आफ्नै मनसँग विष्टले वार्तालाप गरे । अनि आफूलाई सहयोगी राखिदिन ती खैरो कपाल भएका बेलायतीसामु यस्तो याचना गर्न पुगे, “नेपाल बुझ्ने तपाईँका एक जोडी आँखा र कानमा मेरा पनि एक जोडी आँखा र कान मिसाउनुहोस् हेमिन्ड्रफ !” हेमिन्ड्रफलाई विष्ट चाहिएको अनि विष्टलाई हेमिन्ड्रफ । कुरा मिल्यो । चक र डस्टरको दुनियाँबाट अब विष्ट अलग भए, यो हिमाली देशका नेपथ्यहरूको फन्को लगाउन दुईले उमङ्गको सिटबेल्ट कसिलो गरी बाँधे । एकनासमा हिँडिरहेको घोडेटो जस्तो जिन्दगीसँग विदा माग्दै अर्कै राजमार्गमा उनका पदचाप सुस्त–सुस्त बग्न थाले । विल्कुल नौलो काम, नौला मानिससँगको उठबस । हातका रेखाहरू मेट्न नसकिने भविष्य जो हुन् । विष्टका हातका रेखामा जे लेखिएको थियो त्यो नभै के सुख्ख र ! रेखाहरू चलमलाए अनि विख्यात अनुसन्धाता हुने सम्भावनाहरू विस्तारै कोरलिन थाले । आफूले एन्थ्रोपोलेजीकल रिसर्च गर्नुपर्ने थाहा पाउँदा विष्टले हेमिन्ड्रफलाई ‘एन्थ्रोपोलोजी’को अर्थ सोधेनन् । आफैले सुटुक्क शब्दकोष हेरे, जहाँ लेखेको थियो, “मानव समाजको अध्ययन गर्ने विज्ञान” ।
Bista at Jumla (Photo: John Hames)