Thursday, October 29, 2015

लिफ्ट चाहिन्छ ?

संविधानसभाबाट संविधान बनिसकेपछि देश अघोषित नाकाबन्दीको संकटमा फस्दा आफू पनि सक्दो सहयोगी हुने प्रयासमा थिएँ । त्यहीअनुसार काममा आउँदा-जाँदा आफू चढिहिँडेको मोटरसाइकलमा मानिसहरूलाई लिफ्ट दिन्थेँ । एकदिन, बानेश्वर चोकको बसस्टप अघि मानिसको हुल भएनिर पुगेर चिच्याएँ, “बल्खु जाने कोही भए आउनुस् ।” मानिसहरू हुरुरु आए । मचाहिँ तीमध्ये अलि वृद्द र असक्तलाई रोजेर सँगै लिएर गएँ । त्यसैदिन, फर्किने बेला पनि बल्खु चोकको बसस्टेन्डनिर एकजना ६०/६५ वर्षकी वृद्दा उभिएकी देखेर उनीनजिकै गइ रोकेँ । र, भनेँ, “आमा कहाँ जानुहुन्छ ? बानेश्वर जाने भए म पुर्याइदिन्छु ।”

बाब्बानी हो !

महिला त मलाई लुछौँला झैँ गरी पड्किइन्, “जाँ गए पनि तँलाई के मतलब ! म बसै चढेर जान्छु ।”


म आत्तिएँ । उनले मलाई नराम्रो मानिछन् । चोरको झैँ गेटअपमा त थिइनँ । तरपनि के सोचिन् थाहा छैन ।

“महिला भनेर बडो हेप्न खोज्दो रैछ ।” उनी फेरि बम्किइन् ।

मचाहिँ “माफ पाउँ आमा !” भन्दै हिँडेँ । अल्लि पर पुगेर चिया पसलमा पसेँ । बुढीआमै कहाँ जाँदीरहिछन् हेर्न मन लागेर उतै हेरिरहेँ । देखेँ, टन्टलापुर घाममा बूढी २० मिनट उभिएपछि खचाखच नेपाल यातायात आयो हाँसझैँ ढल्कँदै । बूढी आमै त्यही बसतिर लम्किइन् । मचाहिँ मुस्कुराउँदै चिया सुर्काएँ ।

Sunday, October 19, 2014

अविरल बग्यो सुनकोशी...


–सिपी अर्याल (CP Aryal)

मध्यरातमा मान्छेहरू चिहिरिएको हल्लाखोरले ब्युँझायो । झ्यालबाट चिहाएँ । अन्धकार थियो । आँखा चिम्लँदा पनि अँध्यारो थियो, खोल्दा पनि अँध्यारो ! आवाज मात्रै सुनेँ । मुसलधारे पानी पनि परिरहेको रैछ । आत्तिएर दगुरिरहेका छन् मान्छे । किन दगुरेका होलान ! कहिल्यै केही नबोल्ने घरनजिकैको नदी आजचाहिँ फूल भल्युममा ‘स्वाँ !!!’ गरिरहेको छ । सर्पले झैँ ! दर्के झरी र नदीको डरलाग्दो आवाजले कानको जाली फुटाउन मात्रै बाँकी थियो । भोको राक्षस हामीलाई खान खोज्दै कराइरहेको छझैँ भयो ! यस्तो नमीठो ध्वनीमा यो नदी, ती मानिस र मुसलधारे वर्षा मध्यरातमै किन यस्तरी हल्लाखोर गरिरहेका छन् ! थाहा पाइनँ ।

“भागओ है भागओ ! पैरो आयो !” घरबाहिर चिच्याइरहेको यो धोद्रो स्वर त मेरो कोही साथीको हो झैँ लाग्यो !
“पैरोले मार्‍यो ! गुहार ! !” अशोक रैछ चिच्याउने । स्वर धोद्रो थियो ।

“पैरो आयो ! गुहार गुहार !” अरू मान्छे पनि चिच्याइरहेको सुनिन्थ्यो ।

झन्‌पछि झन् मान्छे चिहिरिएको आवाजलाई नदी सुसाएको आवाजले जित्न थाल्यो । पक्कै पनि पहिरो जान थालिसक्यो होला । पृथ्वी थर्किने गरी आवाज आइरहेको छ । सिंगो पहाडै नदीमा खस्न थालेछ कि क्या हो ! घरहरू बगाउन थालिसके छ कि क्या हो !

“लौ मरिने भैयो !” एक्लै फुस्फुसाएँ । छटपटी भयो । तिर्खा लाग्यो । कोठामा पानी खोजेँ । भेटिनँ । तिर्खा झन् बढ्यो ।

“ए भाइ उठ् न !” छेउमै मस्त सुतेको भाइलाई बोलाएँ । ऊ सुतिरहेको भएपनि छटपटाइरहेको जस्तो देखिन्थ्यो ।

“हुँ !” यति मात्रै भन्यो । उसको जिउ हल्लाउँदा थाहा पाएँ, पसिनाले निथ्रुक्कै भिजेको रहेछ । डरलाग्दो सपना देखिरहेको हुँदो हो । चिम्म गरेका आँखाका नानी हल्लीरहेका थिए । निधारमा गाँठा परेका थिए । केही बोल्न खोजेझैँ लाग्थ्यो, ओठ चल्मलाइरहेका थिए उसका ।

“बाहिर जाम् !” भनेँ, “हेर्त मान्छेहरू किन होला रुँदै दगुरेका !”

“हुँ ! नाइँ के !” तन्द्रामै भएको उसको भुँडीमा समाएर हल्लाएँ ।

“बाहिर मान्छे रोका छन्, हेर्न जाम् के !” फेरि भनेँ ।

“हुँ! ” भन्यो, र जुरुक्कै उठ्यो । आँखा राता थिए ।

आफ्नै कपाल कुइयाउँदै बडबडाउन थाल्यो, “ती मान्छेसँग म जान्नँ । मलाई डर लायो । बुवा आमा, बैनी खै ! बोला ! चाँडो बोला !” यति भनेर ऊ पुर्लुङ्ङै बेडमा सुत्यो फेरि ।

“बैनीलाई बोक् !” ऊ निद्रामै बडबडाइरह्यो ।

Sunday, July 27, 2014

विम्बको क्षेप्यास्त्र

सिपी अर्याल (CP Aryal) 

यो,
समयको लिंग
जतिचोटी स्खलित भए पनि
उत्तेजितको उत्तेजित रहन्छ (घण्टाघर)

धुँवाको पनि कस्तो धागो होला ? मनमनै प्रश्न जन्मिएको थियो, माथि उल्लेखित कविता भएको पुस्तक ‘धुँवाको धागो’ देख्दा । उत्सुकतासाथ पाना पल्टाउँदै जाँदा ३८ औँ पेजमा टक्क रोकिएँ । देखियो घण्टाघर शिर्षकको चार लाइनको कविता । यो एउटै कविता पढिसकेपछि मष्तिष्क भारी भएझैँ लाग्यो । कविताले मेरो मष्तिष्कमा प्रहार गरेको क्षेप्यास्त्रले भारी बनाएको थियो आफैलाई ! कविताको शक्ति यहिँनिर हुन्छ । प्रयोग हुने विम्बको क्षेप्यास्त्रले सिधै मष्तिष्कमा प्रहार गरेका कविता वास्तवमै शक्तिशाली हुन्छन् । पूरै कविता पढिसक्दा धुवाँको धागोको किरिङमिरिङ स्केच आँखा अगाडि आइसकेको थियो ।

मेडिकल डाक्टर हुनुको यथार्थ र गजलकार हुनुको लेखकीय स्केचबाट कविताको संसारमा पहिलोपल्ट हाम फालेका कवि निरज भट्टराईको यो संग्रह समग्रमा राम्रो छ । कविता जस्तो संवेदनशील विधामा जोशीला प्रतिभाशाली कविहरूको समूहमा निरजको प्रवेश उज्यालो देखिन्छ ।

किताबमा समेटिएका ४५ थान कविता सबै उत्कृष्ट छैनन् । सबै औषत पनि छैनन् । केही उत्कृष्ट छन् । केही औषत छन् । केही कविताचाहिँ कविता हुन खोज्दा खोज्दै कविता हुन सकेका छैनन् । ‘अकविता’ भएका छन् ।

बेग्लाबेग्लै सारमा लेखिएका छन् कविता । हजुरबा÷हजुरआमासँग बिताएको बाल्यकालको नोष्टाल्जियादेखि, एक्लो प्रेमीको गुनगुन, परदेशीको पिडा, आदि कुराहरू अटेका छन् । हरेकजसो कवितामा कविको फरक फरक अस्तित्व छ । एउटै कवितामा उनले टुटेको प्रेम, गरीबी र राष्ट्रियताको भाव समेट्न सकेका छन् । कहिले कवि उहिल्यैदेखि राखिएको शालिकको÷दाँतमा किरा लागेको देख्न भ्याउँछन् त कहिले भुरुङ खेलिरहेको बच्चाहरूलाई ईश्वर र भुरुङलाई मानिसको उपमा दिँदै भन्छन् 

ईश्वरलाई पनि भुरुङ खेल्न औधी मनपर्छ
ऊ नालले बेरेर फुत्त फालिदिन्छ मान्छेलाई दुनियाँमा
र ताली बजाई रहन्छ मान्छेको नाचमा...

कविताको कुनै पात्रको अनौठो शोख छ । ऊ आकाशतर्फ हेर्दै मुखमा फुत्तफुत्त बदामको गेडा हुल्न प्रयासरत देखिन्छ । ऊ शत्प्रतशित सफल हुँदैन त्यसमा । बदामका केही गेडा मुखभित्र पस्छन् त केही जमिनमा खसेर बिलाउँछन् । जिन्दगीका शोख र पूरा गर्न न÷सकिएका कथालाई विम्बात्मक रूपमा मज्जाले उधिन्न सकेको छ यो कविताले । हरेक कुरालाई फरक दृष्टिले हेर्दै पट्यारलाग्दो दैनिकीलाई पनि आनन्दित बनाउने सुझाव जवाफ कविताले दिन्छ 

सधैँ सधैँ व्यस्त रहने
चिया पसलको गिलासलाई सोधेँ
‘यार तिमीलाई दूध, चियापत्ती र चिनीको
स्वादले वाक्क लाग्दैन ?’
फिस्स हाँसेर उसले भन्यो–
‘सर, हरेक ओठको स्वाद फरक हुन्छ ।’

कवितामा झाँक्रिको कथा पनि छ जसले भाउँतो–भाउँतो किसिमका रोग निको पार्ने ठेक्का लिएर बसेको छ । तर, अन्तिममा उसैलाई पखालाले डस्छ । यस कवितामा अन्धविश्वास र विज्ञानको विम्ब प्रयोग गरिएको छ ।


Saturday, May 10, 2014

धुलोमुनिको फाइल

सिपी अर्याल (CP Aryal)

अहिले

वि.सं. २०८७ बैशाख ।

बुदहीको जिन्दगीको बायोडाटामा एउटा वाक्य थपियो– पशुपति प्रताप पुस्तकालयको पियन । त्यही पियनको जागिर उसको लागि भयंकर ठूलो उपलब्धि हो । त्यसैले बिहानैदेखि अनुहारमा अस्थिर र बेचैन भाव थियो । यस्तो छटपटी बुदहीले पहिले कहिल्यै भोगेन पनि ।

निमको दतिवनले दाँत माझ्न आँगनछेउ टुक्रुक्क बस्यो । आफूछेऊको सानो अम्खोरामा राखेको पानीले मुख कुल्ला गर्‍यो । पल्लोपट्टि तीनओटा खटियामा भैया, अम्मा र अब्बा लम्पसार थिए ।
तराईको असह्य गर्मी छल्न आँगनमा खटिया बिछ्याएर, झुल टाँगेर सुत्छन् उनीहरू । यो रित यसैगरी चल्दै आएको छ, सदियौंदेखि ।

दाँत माझ्दा एफएम रेडियो बजायो । एउटी केटी राशिफल भन्दै थिई । पालो कुम्भ राशिको थियो । संयोगले ऊ पनि कुम्भ ।

“कुम्भ राशी हुनेहरूले आज नयाँ रहस्य थाहा पाउने योग छ ।”

उसलाई राशिमा विश्वास छैन । आज भाग्योदयको योग छ भनेको दिन उसको भाग्य कहिल्यै चम्किएको छैन ।

“माकी आँख !” निधारमा धर्सा कोर्दै ऊ फुसफुसायो, “मनइकए उल्लू बनावथी !”

“बहुत बड्बड् करथी लवन्डी ।” एफएमकी केटीले निद्रा बिथोलेको झोँकमा उसको भैया खाटबाट जुरुक्क उठेर च्याँट्ठियो, “बन्द कैदे रेडियो ।”

रेडियो बन्द गर्‍यो । भैया घुर्‍यो निमेषमै ।

बिहानदेखि बेचैन मन कतै लगेर बिसाउन पाए ऊ रम्थ्यो पनि होला ।

अम्माले पकाएको भात साढे आठ बजे नै खाइसकेर तयार भयो । छोरोले जागिर खान जान लागेको पहिलो दिन, अब्बा र अम्मा खुसीले डम्म फुलेका थिए ।

भोलिपल्ट अफिस जाँदा लगाउने सर्ट र पाइन्टलाई ‘धारिलो’ बनाउन हिजै राति पट्याएर डसनामुनि राखेको थियो उसले । नीलो पाइन्ट र सेतो सर्टमा जताततै ‘धार’ बस्यो ।

खुसी हुँदै कपडा लगायो । अनि अब्बाको थोत्रो एवन साइकलमा हुइँकियो बतासझैं । ऊ पर पुगुन्जेल अब्बा र अम्माले आँखा चिम्म पनि गरेनन् । धुलोको मुस्लोले उसलाई ओझेल पारुन्जेल हेरिरहे । एसएलसी पास गरेपछि उसले जागिर पाउँदा परिवारका सबैलाई नागमणि पाएझैँ भएको छ । गरिबलाई त्यही जागिर त हो नागमणि !

एउटै रफ्तारमा कुदाइरह्यो साइकल । घरिघरि एफएमकी केटीको आवाजको बतासले छोएर जान्थ्यो । केटी कानमा आएर फुस्फुसाएझैँ लाग्थ्यो, “कुम्भ राशि हुनेहरूले आज नयाँ रहस्य थाहा पाउने योग छ... ।”


Thursday, April 24, 2014

मोदी–मेनिया

सिपी अर्याल (CP Aryal)

नरेन्द दामोदरदास मोदीको जीवन–स्केचमा उनको परिश्रम र कलंकको धब्बाको कोलाज छ । प्रधानमन्त्रीको रेसमा भिडिरहेको उनको रंगीन पृष्ठभूमिसँग श्यामश्वेत विगत् पनि गाँसिएको छ । उनको (कु)ख्यातीको कारण आम जनता र संचारमाध्यममा मोदी–मेनिया छ । भारतीय राजनीतिक इतिहासमा मोदीजस्ता चतुर, विवादित र चर्चित अर्का राजनीतिज्ञ छैनन् ।

मसालेदार बलिउड सिनेमा भन्दा कुनै एङ्गलबाट कम नदेखिने भारतीय राजनीति जारी निर्वाचनको यो माहौलमा त पूरै फिल्मी देखिन्छ । यसपाली चुनावमा भाजपाको तर्फबाट प्रधानमन्त्रीको प्रत्यासी भएर लडेका मोदीको उपस्थितिले चुनावलाई मसालेदार बनाएको हो । भारतको अत्यन्त तल्लो वर्गको जनसांख्यिक प्रतिनिधित्व गर्ने मोदीलाई ‘चायवाला’ पनि भनेर चिनिन्छ । किनकि, उनी कुनैबेला भारतकै रेल्वे स्टेसनमा चिया बेच्थे । अर्कोतर्फ, ‘प्रिन्स’ राहुल गान्धी छन् जसले आफ्नो कुलको ‘डाइनेस्टी पोलिटिक्स’ कायम राख्न कंग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार भएर मोदीसँगै भिडिरहेका छन् । मोदीले भारत स्वतन्त्र भएयताको ‘नेहरु–गान्धी डाइनेस्टी’को राजनीतिलाई अन्त्य गर्न चाहन्छन् भने राहुलले चाहिँ त्यसलाई निरन्तरता दिन । रेसमा केजरीवाल पनि छन्, जो केही हप्ता यता मोदीको प्रचारशैलीको कारण छायामा परेझैँ देखिन्छन् । पल्ला भारी कसको होला त्यो कुर्न केही हप्ता पर्खनुपर्ने हुन्छ !
त्यतिबेला उनको मनभित्र केके हुन्डरी मच्चिरहेको थियो । १२/१४ वर्षको हुँदा एकदिन बाआमालाई आफूलाई जोगी बन्न मन लागेको बताए । छोराको कुराले बाआमा तर्सिए । किनभने, मोदी सानै हुँदा एउटा जोगीले उनलाई हेर्दै उनी कि जोगी हुने कि राजनीतिज्ञ हुने बताएका थिए ।

“हिमालयतिर घुम्न जान्छु” बाआमासँग मोदीले साह्रै करकर गरे ।

“जा त नि !” बाआमाले पनि भन्दिए ।


Thursday, April 17, 2014

कर्नालीको कथा

-सिपी अर्याल (CP Aryal)

माओवादी विद्रोहले के के कुरा दिएर गयो? के के कुरा नदिएरै गयो? कतिको सपना तुइन चुँडिएर झ्वाम्म कर्नालीमा बगेझैँ सुलुलु बगाएर लग्यो? अनि, कतिको विपना पूरा गर्‍यो? यसको यकिन लेखाजोखा सायद कोहीसँग छैन। द्वन्द्वको घाउ र त्यसले निम्त्याएको पीडाको लेखाजोखा भने भइरहेकै छ, साहित्यमार्फत। त्यही द्वन्द्वको सेरोफेरोमा बुनिएको कथा हो, तुइन।

सशस्त्र युद्धको दुःख र मालतीसँगको प्रेमको सुखबीच हुर्किरहेको भूमिराजको कथा छ, तुइनमा। आफू बाँचेका सम्पूर्ण परदिृश्यलाई उत्कृष्ट ढंग र इमानसाथ बयान गर्दै भूमिराजले युद्धग्रस्त र भोको जुम्लाको गीत गाइरहन्छ। ऊ एउटा दुःखी पात्र हो। दुःखहरूबाट ओझेलिन ऊ निरन्तर यात्रा गररिहन्छ, बन्दुकबाट जोगिन यायावरझैँ कताकता घुमिरहन्छ। यद्यपि, उसले बाँचेको जीवन सधैँसधैँ 'आइरोनिक' साबित हुन्छ। ऊ दुःख, पीडा, भोक र बन्दुकको छायाँबाट टाढिन निरन्तर हिँडिरहन्छ तर तिनै कुराले उसलाई पछ्याइरहन्छन्। भन्छ, 'म जुन अँध्यारो चिर्न हिँडेको थिएँ, आज त्यही अँध्यारोले मलाई चिरेको छ, चिराचिरा पारेर। कर्नालीमाथिको आकाशमा बारुदको बादल लागेर आँसु र रगतको झरी पार्न थालेपछि भागेको थिएँ, भाउजूलाई एक्लाएर।'


कुनै पनि पात्रले सजिलो मृत्यु मर्न पाएका छैनन्। न त जिउन नै पाएका छन्। भूमिराजकी भाउजू, आमा, बा, दिदी र केही साथीहरू सबै सबै जुम्ली हुनुको सकसमा छन्। कर्नाली नदीमाथि झुन्डिएको तुइनले जुम्लीको सपना र विपना हाडखोर नभेटिने गरी सर्लक्कै बगाएर लैजान्छ। तुइन भनेको त सेतु हो, जसले सम्बन्धहरूलाई, किनारहरूलाई जोड्ने मात्र काम जानेको हुन्छ। तर, कर्नालीको तुइनले त्यही एउटा काम कहिल्यै गर्न जान्दैन। सम्बन्धहरूलाई, दुःखी मानिसहरूले देखेको सपनालाई चुँडाउँछ मात्रै। जोड्दै जोड्दैन। लाग्छ, कर्नालीको तुइन एउटा भोको अजिंगर हो !

उपन्यासको वर्णनात्मक भाषा सशक्त छ। यद्यपि, पात्रहरूबीच जुम्ली भाषिकामार्फत हुने संवाद सबैतिर सजिलै बुझ्न सकिने खालका छैनन्। पुस्तकमा प्रयुक्त जुम्ली भाषिकाका केही शब्दका अर्थ अन्तिम पृष्ठमा खुलाइएका छन् तर ती पर्याप्त छैनन्। अझ धेरै शब्दावलीहरू खुलाइएको हुनुपथ्र्यो। त्यसले संवादको अर्थ थाहा पाउन सजिलो बनाउँथ्यो। जनताको सेवामा जुम्लामा खटिएका कर्मचारीहरूको बदमासी पढ्दा पाठकहरू धुरुक्कै हुन्छन्।

Saturday, February 22, 2014

हीराको हार


उनी निकै सुन्दर, आकर्षक र सुशिल युवती थिइन् । तर एउटा सामान्य कर्मचारीको घरमा उनी जन्मनु नियतीको प्रहार नै मान्नुपथ्र्यो ! दाइजो लैजाने क्षमता उनीसँग थिएन, कुनै महत्त्वकांक्षा थिएनन्, नाम कमाउने चाहना थिएन, कुनै धनी पुरुषले बिहे गरेर लैजाला र सधैँभरी माया गरेर राख्ला भन्ने अपेक्षा पनि थिएन । त्यसैले एउटा निम्छरो कर्मचारीसँग बिहे गरेर खुरुखुरु गइन् ।

धेरै नक्कल पार्न नजानेकाले सामान्य लुगाफाटो लगाउँथीन् उनले । ठूलै चोट परेजस्तै देखिन्थिन् र भित्रभित्रै असन्तुष्ट पनि । परिवार र जन्मले सौन्दर्य, हिस्सीपना र आकर्षणजस्ता सबै ठाउँ ओगट्ने हुनाले महिलाका कुनै कुल र श्रेणी हुँदैनन् । प्राकृतिक चातुर्यता र टाठो मष्तिष्क नै उनीहरूको अब्बल श्रेणी हो । र यही कुरा गुणवान् महिला हुनुबराबर हुन्छ ।

मथिल्ड नराम्ररी पिल्सिएकी थिइन् । सम्पूर्ण आनन्द र सुखभोग आफूले भोग्न पाए हुँदो हो भन्ने पनि ठान्थीन् कुनैकुनै प्रहर । आफ्नो जीजिविषाप्रति बेखुस थिइन् । ठिङ्ग उभिएका चारभित्ताहरूको नाङ्गोपन, भाँचिएका कुर्सी तथा मैला र च्यातिएका पर्दा देख्दा उनी निकै उदास हुन्थीन् । उनीबराबरका अन्य महिला चाहिँ त्यस्ता कुराबाट सुर्ताउँदैनथे । घरायसी काम गर्ने महिलालाई देख्दा मात्र पनि उनलाई ठूलो पछुतो हुन्थ्यो, सपनाहरूले डस्थे । पूर्वीय सभ्यतामा प्रयोग हुने कुरुषले बुनेका उत्कृष्ट पर्दाहरू, मैनबत्ती राख्न प्रयोग हुने ढलौटका ठूला–ठूला भाँडा र आर्मचेयरमा आरामसँग सुतिरहेका पुरुष मूर्तिहरूको कल्पना गरीन् उनले । त्यस्तो कल्पनालाई स्टोभको तातो रापले उत्तिखेरी पगालिदियो ! फेरि, लामा–लामा स्वागतकोठी र त्यसमा झुन्डिएका प्राचिन रेशमी पर्दाहरूबारे सोंचीन्, आफ्ना सहेलीलगायत अन्य सबै महिलाले मरिहत्ते गर्ने प्रख्यात पुरुषहरूसँग साँझको पाँच बजेपछि गफिन मिल्ने अत्तरले मगमगाएका कोठाबारे कल्पिइन् जसमा क्युरियोका प्राचिन वस्तुहरू पनि हुन्थे ।

Sunday, December 29, 2013

राजनीतिक लेखजस्तो

-सिपी अर्याल (CP Aryal)

नेपाली वामपन्थी आन्दोलनको विसर्जन कहिले भयो वा भएकै छैन? एक वा अर्को रूप धारण गरेर उही नेमप्लेटसहित अनेक हिसाबले घस्रिरहेको छ कि? यी प्रश्नका सपाट जवाफ दिन पक्कै सजिलो नहोला। सूर्यसामु बिहानको जल अर्पण गरेझैँ आफ्नो भरभराउँदो उमेरमा सबैथोक त्यागेर निष्ठा अनुकूलको कम्युनिस्ट व्यवस्था ल्याउन कम्मर कसेको एउटा युवा कालान्तरमा पछुतो गर्छ, आफ्नो त्यही राजनीतिक निष्ठाप्रति। स्वप्नधारी त्यही असन्तुष्टलाई वामपन्थ विसर्जनबारे प्रश्न सोधे उसले पक्कै पनि कड्केरै उत्तर दिन्छ, 'हो कम्युनिस्ट आन्दोलन विसर्जन भएकै हो। यो पथभ्रष्ट भइसक्यो।' उसका कड्काइमा जरुर दम छ। कस्तो दम छ, यसको उत्तर झलक सुवेदीको पहिलो उपन्यास आधा जूनले दिन्छ।

विद्यालय पढ्दा नै गाउँको आन्तरिक अवस्थाका कारण अर्धचेतनबाट कम्युनिस्ट हुन गएको पोखरेली केटो पछि आएर राजनीतिमा सक्रिय हुँदै देश सपार्ने अनेक सपना देख्न थाल्छ। तर, आन्दोलन सफल हुँदा नहुँदै पार्टीको विचलनले ऊलगायत थुप्रै निष्ठावान् कार्यकर्ता असन्तुष्ट हुन थाल्छन्। केही पलायन पनि हुन्छन्। केही विचलनसँगै अवसरवादको सिकार भएरै पनि पार्टीमा आफ्नो अस्तित्व कायम राख्छन्। ऊर्जाशील समयमा पार्टीलाई आफूले गरेको योगदानको समीक्षा जिन्दगीको पूवार्द्धमा गररिहन्छन्, एकअर्कासँग। चाहे त्यो आफ्नै विम्ब नै किन नहोस्। पुस्तक पढिरहँदा धेरै ठाउँमा विम्बको आलो सम्झना आउँछ, '३० को दशकमा पृथ्वीनारायण क्याम्पसअगाडि बसेर क्रान्तिकारी चेतसहित प्रहरीलाई ढुंगा हान्न कस्सिएका गाउँले ठिटाठिटीको। गाउँका जिम्माल र हुनेखानेहरूको थिचोमिचो, दलितमाथि भएका दुव्र्यवहार र पीडाका अनेक पाटा देखेको सञ्जय त्यही पिसिएको वर्गको प्रतिनिधि हो।

देशमा परविर्तनको बाहिरी आवरण मात्र कसरी बदलिएको छ र त्यसको स्वाद पिँधमा रहेको वर्गले कहिल्यै लिन नपाएको उपन्यासमा देखाइएको छ। त्यस वर्गमा निष्ठावान् राजनीतिक कार्यकर्तादेखि गाउँका अशिक्षित र दलित, केटाकेटी, वृद्धवृद्धा सबै पर्छन्। पञ्चायत ढाल्न सशक्त प्रतिकार गरेका जनता प्रजातन्त्र स्थापनापछि पनि उसै गरी ठगिएका छन्।






'कम्युनिज्म'का कुरा अधिक छन् उपन्यासमा। त्यसका गहिरा दर्शन पढेर झ्याउ लाग्दा पाठकले क्षतिपूर्तिर् स्वरूप रमाइला संवादहरू प्रशस्तै भेट्छन्। जस्तै :


मैले नचिनेकी एउटी तरुनी स्कुलनिरको गल्छेडोमा भेट भई। मैले उसलाई एकछिन हेरेँ र सोधेँ, 'घर काँ हो नानी?'

'खामो गाटेको ठाममा क्या!'

'आब खामो गाट्नु मो जानु पाइन होई, काँनिर गाटेको होला?'


'भरे रोतिमा आउन मास्टार मो देखाइदेला खामो गाट्ने ठाम!'


भनी र खितिति हाँस्दै वनतिर झरी।

Friday, December 20, 2013

लेखिकाले जितेको बाजी


-सिपी अर्याल (CP Aryal)
२८ वर्षे युवती, एलिनर क्याटन (Eleanor Catton) ले म्यान बुकर बाजी मार्दा ८२ वर्षे क्यानडेली मूलकी वृद्धा लेखिका एलिस मुन्‍रो (Alice Munro) यसै वर्षको नोबल पुरस्कार पाउने अर्की महिला लेखक बनिन् । नोबल पुरस्कार प्रतिष्ठानले कथा लेखनमा अभूतपूर्व योगदान पुर्‍याएबापत यस वर्षको नोबल पुरस्कार मुन्‍रोलाई अर्पण गर्‍यो । १४ वटा कथासंग्रह निकालिसकेकी मुन्‍रोलाई प्रतिष्ठानले 'मास्टर अफ दी मोडर्न सर्ट स्टोरी' (Master of the modern short story)  भनेको छ । उपन्यासको वर्चस्व रहेको समयमा कथा -सर्ट स्टोरी) ले नोबल पुरस्कार पाउनुले एकपटक फेरि छोटा कथाहरूको युग फर्किएको दाबी समीक्षकहरू गर्छन् ।
मुन्‍रो र क्याटन दवै क्यानडामा जन्मिएका थिए । ती दुईबीच समयको एउटा ठूलै कालखण्ड गुजि्रसकेको छ । हजुरआमा र (प)नातिनी पुस्ता मान्न सकिन्छ यी दुईलाई । २८ वर्षिय तन्नेरी लेखिकाले प्रतिष्ठित म्यान बुकर पाउनु लेखक बन्न चाहने अनगिन्ती युवाका लागि प्रेरणा हो । अर्को पक्षमा, ८२ वर्षे वृद्धा लेखिकाले संसार प्रसिद्ध नोबल पुरस्कार पाउनु अर्को संकेत हो, लेखक बनेर अत्यन्त सफल हुन लामै धैर्य गर्नुपर्छ ।

नोबल पुरस्कार
विलियम फक्नर र फ्लेनरी ओ कनरजस्ता लेखकझैं मुन्‍रो पनि आफ्ना कथामा क्षेत्रीयतालाई प्राथमिकता दिन्छिन् । उनका अधिकांश कथाहरू ओन्टारियोको सेरोफेरोका छन् । कथाका पात्रहरूमा स्थानीय मूल्य र मान्यताको जडता छ । प्रायः उनका पुरुष पात्रहरूमा 'एभि्रमेन' को गन्ध पाइन्छ भने महिला पात्रहरू अलि बेसी जटिल देखिन्छन् । उनका कथालाई एन्टन चेखभसँग तुलना गर्ने मानिसहरूको कमी छैन । जसरी चेखभले कथालेखनमा एउटा युग धाने, त्यस्तै अर्को युग मुन्‍रोले धानिरहेको विचार ती समीक्षकहरूको छ ।


साहित्य मेलाको सौन्दर्य

-सिपी अर्याल (CP Aryal)
त्रिचन्द्र कलेजबाट पूर्वतिर दुई सय मिटरजति लाग्नूस्, त्यहाँ एउटा सरकारी भवन ठडिएको देख्नुहुन्छ। भरलिो आँगन र आकर्षक बनोट छ, त्यस भवनको। बाहिर आकर्षक देखिने यो त्यही भवन हो, जसमा नेपाल प्रज्ञा-प्रतिष्ठान छ। जुन उद्देश्यसाथ प्रतिष्ठानको स्थापना र यस भवनको निर्माण गरएिको थियो, त्यो भित्रभित्रै मक्किएको छ। आफ्नो उद्देश्यमा हिँड्न नसकेर अन्योलग्रस्त भएको छ।


बुकवर्म ट्रस्टद्वारा ८-११ कात्तिकमा आयोजित साहित्य मेला प्रज्ञा भवनको आँगनमा भइरहँदा त्यसले नेपाली अक्षरबजारको वृत्तमा परविर्तनका छुट्टै ज्वारभाटा प्रसारण गररिहेको थियो। एउटा सरकारी संस्था, जुन साहित्यलाई माथि उठाउने जिम्मेवारीसाथ खडा भएको थियो, त्यसैको आँगनमा साहित्य मेला भयो, निजी क्षेत्रको सम्पूर्ण प्रयासमा। गर्नुपर्ने काम उल्लेखनीय रूपमा नगरेरै आफ्नो तलबभत्ता पकाइरहेको उक्त सरकारी संस्थाको निधारमै सीधा प्रहार थियो, त्यो साहित्य मेला। पोहोर पनि प्रज्ञा-प्रतिष्ठानको आँगनमै यस्तो मेला भएको थियो। तर, प्रज्ञा-प्रतिष्ठान त निदाइरहेकै छ, देशविदेशका लेखक र पाठकबीच भएका तात्ताता बहस-आवाजले समेत उसको चिरनिद्रा हरण गर्न दुर्भाग्यवश सकेन।

मात्रै एक दशकअघि पुस्तक प्रकाशन व्यवसायमा गतिलो विकास हुने, मानिसबीच पढ्ने बानीको व्यापक विकास हुने र पुस्तकहरू टन्नै बिकेर लेखक रातारात 'सेलिबि्रटी' हुने कुरा अकल्पनीय नै त थिएनन् तर यी सबै हुन अझै दशक लाग्ने अनुमानचाहिँ थियो। महोत्सवको सुरुको दिनमा राष्ट्रकवि माधव घिमिरेले दिएको उद्घाटन भाषण सुन्दा लाग्थ्यो, उनले पनि यी सबै कुरा विश्वास नगरेर आफूलाई चिमोट्दै छन्। "म ९० वर्षको बूढो मानिसलाई पनि तपाईंहरूले यो मेलाको साक्षी बनाउनुभयो," उनले खुसी प्रकट गरेका थिए, "मलाई कति खुसी लागेको होला !" पुस्तक पढ्दा दण्डित भइने राष्ट्रकविको युगबाट पुस्तक नपढ्दा बेइज्जती हुने युगमा फड्किसकेको नेपाली समाजमा उल्लेख्य भिन्नता आएकै हो।

Saturday, October 5, 2013

दसैँछेकको घाम

–सिपी अर्याल (CP Aryal)

बिहानै झ्यालबाट बेपर्वाह छिरेका घामका किरणले बिउँझाउँछन् । त्यो घामले पोल्दैन, बरु शितल अनुभूति हुन्छ । हतार हतार उठेर कामको लागि हिँड्न थाल्छु । बाटाभरि मानिसहरूको लस्कर देखिन्छ लाहुरबाट फर्किरहेका योद्धा झैँ बाटोमा हिँडिरहेका देखिन्छन् मानिसहरू । गह्रुङ्गो झोला भिरेका छन्, सबैजसोले । एकै पाइलामा घर पुग्लान् कि झैँ लाग्ने लामा–लामा पाइला चालीरहेका छन् । केहीले मलाई प्रश्न गर्छन् ।

“घर कहिले जाने हो साथी दशैँ आयो त !” प्रश्नले एकाएक झस्काउँछ मलाई ।

नबिझाउने गरी कोठामा अचेल सुटुक्क छिर्न थालेको मध्य असोजको घाम, काठमाण्डु खाल्डोबाट त्यसरी हिँडिरहेका मानिसको लाम अनि मप्रति सोझिएका प्रश्नले बल्ल मलाई झस्काउँछन्, दशैँ आएछ ।


                                           +++
“बुकिङ नखुल्दै बसको टिकट सकियो ।”

पत्रिकामा छ्याप्छ्याप्ती देखिन्छन् अक्षरहरू, बोल्ड लेटरमा । यी पत्रिकाहरू मानिसहरूले पाएको दुख्खको खबर छाप्न तँछाड–मछाड गर्छन् । त्यही दुख्ख धेरै बिक्छ पनि अचेल । अर्काले पाएको दुख्खबारे सकेसम्म बढी जानकारी राख्न पाठकहरू पनि उस्तै रुचि राख्छन् । दुख्खहरूलाई यी पत्रिकाले बिक्ने सामग्रीको ‘टप लिस्ट’मा राख्ने गरेका छन् । अचेल दुख्खहरू ‘कमर्सियलाइज्ड’ भइसके !

चोकमा एउटी बुढी आमाले बेचिरहेको पत्रिकाका खबर–शिर्षक सर्सर्ती हेर्छु । अक्षर नचिनेकी ती बूढी आमा मेरो अनुहारमा हेरेर मुस्कुराउँछिन् । म चाहिँ पत्रिकाको खबर शिर्षक पढेर । दशैँले यति साह्रो गाँजिसकेछ सहरलाई, म कता बेहोस् थिएँ हँ ? सहरले सबैलाई बेहोसीको फन्दामा पार्छ, मानिस आफैलाई बिर्सेर कहिँकतै मस्त भइरहन्छ यो काठमान्डुमा । दशैँले मलाई जस्तै धेरैलाई बेहोसीबाट होसमा ल्याउँछ । त्यसकारण, सहरका बेहोसीहरूलाई एकमुष्ट बिउँझाउँन पनि दशैँहरू आइरहून् ।

गोजिको फोन भाइब्रेट हुन्छ । घरको फोन रहेछ ।

“टिकट नपाइने भयो क्या हो ?” मसिनो आवाजमा मम्मी बोल्नुहुन्छ ।

उहाँको सोधाइको आसय थियो, “चाँडो घर आइज ।”

टिभीमा समाचार सुन्नुभयो, सायद । बुकिङ सुरु हुनु अगाडि बसको टिकट सकिएको ।

“दशैँमा घर आउन यो नाथे टिकट चाहिँदैन क्या ।” म भन्छु, “झुन्डिएर भएनि आइन्छ नि ।”

यो सहरमा अचेल टिकटकै चर्चा छ, एउटा चुनावको टिकट, अर्को दशैँमा घर जान बसको टिकट । मानिसहरू तँछाड मछाड गर्दैछन्, दुवैथरी टिकट आफ्नो कब्जामा पार्न । चुनावी टिकटको कुनै मतलब भएन मलाई । अब त बसको टिकटको पनि फिक्री भएन, सकिइसक्यो रे त !

                                +++   

घर हिँडेका यात्रीहरूलाई कुइनाले घुच्याउँदै, आफूले पनि अरूको कुइनाको घुच्याइ खाँदै प्रत्येक सालझैँ यो साल पनि घर पुग्नेछु । लखतरान भएर । सिधै हजुरआमाको कोठामा पस्नेछु । झोला त्यहीँ बिसाउनेछु । निदाइरहेको बुढो शरीरलाई एक छिन वाल्ल परेर हेर्नेछु । हजुरआमाको अनुहारमा प्रत्येक साल दर्जनौँ चाउरी थपिएको देख्छु । अनुहारको रङ बदलिइरहन्छ, प्रत्येक साल । अनुहारमा देखिने उमेरका इन्द्रेणीहरूले गहिरो अर्थ राख्छन् ।

“हजुरी !!” उहाँलाई बोलाउँछु, गालाका चाउरीहरू सुम्सुम्याउँदै, “म आएँ ।”

मैले हजुरआमालाई सानैदेखि हजुरी भन्थेँ, प्रेमले । ठूलो हुँदा पनि भनिरहेछु किनकि उहाँप्रति मेरो प्रेम कहिल्यै कमजोर हुँदैन । मेरो आवाज सुनेर उहाँ मुस्कुराउनुहुनेछ । मलाई केही वर्ष यता उहाँले आवाजले चिन्न थाल्नुभएको छ । आँखाले चिन्न छाडे । मेरो आवाज हजुरआमाको लागि दृश्य हो । यसले पनि मलाई चिन्न छाडे के गर्नुहुन्छ होला ! थाहा छैन ।

“ए, दशैँ आयो बाबु ? तँ आइछस् ।” छामछुम पार्नुहुन्छ वरिपरि, चाउरीएका फुस्रा हात मेरा अनुहारमा सलबलाउँछन्, “सन्चै आइस् ?”

म आउनु हजुरआमाको लागि दशैँ आउनु हो । उमेरका ९० ओटा कठिन देउरालीहरू चढिसक्नुभएकी हजुरआमालाई अब दशैँको लागि खुसी हुने कारण अरू केही छैनन् जस्तो लाग्छ ।

“त्यति टाढाबाट आयो नाती ।” हो उहाँले मसँग घरबाट काठमान्डुसम्मको दुरीको कुरा गर्नुहुन्छ, म अर्को दुरी बुझ्छु, “नाती टाढियो” भन्ने । निद्राले लटपटिएको आवाज हो कि उहाँको बोली तोते भएका हुन् एकछिन् ठम्याउन सक्दिन । उहाँका सेता खुट्टामा मेरो निधार लगेर जोड्नेछु । युग बोकि हिँडेका ती खुट्टा एकछिन् सुम्सुम्याउनेछु ।

“नाम कमाएस् ।” उहाँको आशिष र मेरो रुचि कस्तो मिलेका ।

मलाई तान्दै हजुरआमाले उहाँको अँगालोमा बेर्न खोज्नुहुनेछ । म अटाउनेछैन उहाँको अँगालोमा । हजुराआमा आफैलाई पनि अनुभूति हुनेछ ।

“ठूलो भएछस् । पैला मेरा हत्केलाँ अटाउँथिस् ।” म हजुरआमाको हत्केलामा अटेको सम्झना त छैन, तर उहाँले भनेको केही पनि कुरामा अविश्वास लाग्दैन ।

“के छ त तेता खबर ?” उहाँले काठमान्डुको खबर सोध्नुहुन्छ ।

के बताउँ उहाँलाई ? अनि के नबताउँ ?

रत्नपार्कको आकाशे पूलमाथि निष्लोट सुतेर “भोक लायो बा हो!!!” भन्दै रोइरहेको फुच्चेलाई काठमान्डुले मार्न आँट्यो हजुरआमा भनेर बताउँ ? एमए सकेपछि जागिर नपाएर विरक्तीएको साथीको बिजोग बताउँ ? एसएलसीको रिजल्टमा फेल भएपछि झुन्डिएर मरेकी विद्यार्थीको खबर छाप्ने अखबारका प्राथमिकतामा पर्ने खबर बताउँ ? अचेल काठमान्डु विश्वयुद्धपछि ध्वस्त भएको देशझैँ भताभुङ्ग छ, भनेर बताउँ ? ठमेल र सुन्धाराका गेष्ट हाउसका पहरेदार युवतीहरूको आँखामा देखिने उदेकलाग्दो भोकबारे बताउँ ? कि घण्टाघरले अचेल बेठीक समय बताउन थालेको खबर सुनाउँ ?

के सुनाउँ उहाँलाई म ? एकछिन् वाल्ल पर्नेछु म । मलाई देखेर मुस्कुराएझैँ देखिने जमरा देख्नेछु पल्लो कुनामा । हर्लक्क बढिसकेका । मेरो कानमाथिको शोभा बन्न पाउने आस गरेका ।

सप्रिएर हलक्क बढेका जमरातिर मैले हेरेर टोलाइरहेको बुझेपछि हजुरआमाले भन्नुहुनेछ, “तँ पनि ती जमरा झैँ सप्रिएस् बाबु ।” थाहा छैन, मेरो मष्तिष्कमा कब्जा जमाएर बसेको सपनालाई हजुरआमाले कसरी देख्न सक्नुहुन्छ । उमेरले धमिल्याएको उहाँको आँखाले मेरो मनको दृश्य स्पष्ट देख्न सक्छ । थाहा छैन अब मैले उहाँलाई आँखा कम देख्नुहुन्छ भन्नु हुन्छ कि हुँदैन ।

हजुरआमाले खुब रुचाउने गुँदपाकका केही पोका निकाल्ने छु । मिश्री र फलफूल पनि हातमा लिएर भन्नेछु, 

“हजुरी यो नातीको कमाइ ।”

भगवानको थानतिर इशारा गर्दै उहाँले भन्नुहुनेछ, “त्यहाँ राख्दे । तेरो कमाइ नि खान पाएँ । भाग्गेमानी रैछु परमेश्वर, नातीलाई सधैँ राम्रो होस् ।” हाँस्दै निस्कन्छु उहाँको कोठाबाट ।

                                                                                   +++   

बुवासँग गफिन मन लाग्छ । बाहिर बरण्डामा उहाँले हजरआमा र मबीचको वार्ता सुनिरहनुभएको हुनेछ । मुस्कुराउँदै गरेको देख्नेछु ।

“अचलको दशैँ बदलियो हेर् केटा ।” उहाँले मसँग गफ गर्ने मेसो गरेको थाहा पाउनेछु । छेउमै बस्नेछु गएर । बुवाको छेउमा बसेर उहाँको अनुहार चियाउने मौका पाउन दशैँ नै आउनु पर्छ अचेल !

“उतिबेला घरघरमा गएर दमैहरूले बाजा बजाउँथे ।” बुवाको ओठबाट वाक्य बनेर इतिहास फुत्त फुत्त खस्न थाल्छ ।

“हाम्रोमा पाठ गर्न सिक्न केटाहरू आउँथे । बाले सिकाउनुहुन्थ्यो ।” उतिबेलाका युवाबारे कुरा गर्नुहुन्छ बुवा ।
“दशैँमा नयाँ लुवा भनेको दौरा–सुर्वाल थियो । मेरा बा (तेरो हजुर्बा) नाम कमाएको पण्डित भकोले हाम्लाई दशैँमा लाउन–खान दुख्ख थिएन । घरमा दुर्गापाठ हुँदा मान्छेहरूले दही अनि रोटा लेर आउँथे । म टिका लाउन घर–घर जान्थेँ । पैसा बटुल्थेँ ।” भन्नुहुन्छ ।
पाएको पैसाले उहाँलाई बिँडी÷चुरोट किनेर खाने सौख रहेछ । त्यो पूरा हुन प्रायः दशैँ नै कुर्नुपर्ने । मान्छेहरूको केके सौख ! ती सौखहरू प्रायः दशैँले पूरा गरिदिँदा रहेछन् ।
टिकाको दिन प्रायः प्रत्येकवर्ष उस्तैउस्तै हुन्छ, आशिर्वाद उस्तै, खानपीन उस्तै, घरमा आउने पाहुनाहरू उस्तै । प्रायः थपिने कुरा भनेका हजुरआमा र बुवाका अनुहारका चाउरीहरू हुन् ।

हजुरआमाको उमेरको कारण उहाँबाट टिका थाप्ने पाहुनाहरूको सानोतिनो घुइँचो नै हुन्छ घरमा । सबैलाई उहाँले आवाजले चिन्नुहुन्छ । दृश्यले चिन्नुहुन्न । या भनौँ आवाज नै उहाँको लागि दृश्य हो । टिकाको दिनभरी म हजुरआमाको छेउमा बसेर गफ गरिरहन्छु, उहाँलाई सहयोग गर्छु । पाहुनाहरूलाई उहाँले टिका लगाइदिनुहुन्छ, दाहिने हातका चोर, बुढी र माझी औँलाले रातो अक्षता समाएर पाहुनाहरूको निधारतिर हात बढाउनुहुन्छ हजुरआमा । उहाँको हातको स्पर्ष पाउँदा पाहुनाहरू आँखा चिम्म गर्छन्, आनन्दले विभोर भएका हुँदाहुन्, सायद ।

“रोग नलागोस् । सुख्ख पाए ।” उहाँले प्रत्येकलाई दिने आशिष यही हो । मानिसहरू सुख्खै पाउन यो दौडधुप जो गरिरहेका छन् । हजुरआमाले बुझेरै दिनुहुन्छ आशिष ।

यसप्रकार, हेर्दाहेर्दै आँखाबाट ओझेल पर्छ प्रत्येक सालको दशैँ । असोजको पारिलो घाम सेलाउँदै जान्छ । घरवरिपरिका साथीहरू हिँड्न थाल्छन् । यसप्रकार, गाउँ रित्तिँदै जान्छ, सहर भरिँदै ।

अनि मेरो मनलाई पनि उही काठमान्डु फर्किने हतारोले गाँज्न थाल्छ । गुन्टा कसिरहँदा बुवाले भन्नुहुन्छ, “काठमान्डुमा त घर मात्रै फल्छ । चामल फल्दैन ।”

हो, बुवाले भनेझैँ काठमान्डुको मलिलो जग्गामा घर फल्छ । मानिसहरूले सपना फलाउने हरप्रयास गरिरहन्छन् । यहाँ चामल फल्दैन ।

(२०७० असोज १९ (घटस्थापना) शनिवार, नागरिक अक्षर )

Sunday, September 29, 2013

मधेसको मध्यम विश्लेषण


-सिपी अर्याल (CP Aryal)

ठूलो रूखमुनि उम्रिएको बिरुवा नसप्रिएजस्तै देशको अर्थतन्त्रको कुल हिस्सामा बढीभन्दा बढी योगदान दिँदै आएको भए पनि तराई-मधेस आफू सप्रिन सकेन। दोस्रो जनआन्दोलन सकिएपछि लागू भएको अन्तरिम संविधानले पनि मधेसको चित्त बुझाउन सकेन। तर, अहिले राष्ट्रिय राजनीतिमा मधेस महत्त्वपूर्ण तुरुप बन्न पुगेको छ। अर्थात्, छोटो समयमै मधेसको मूलधारीकरण भयो। तर, यसको पृष्ठभूमिचाहिँ दशकौँदेखि तयार भइरहेको थियो। मधेसको सफलताअघि र पछिका पक्षमाथि अनेक विचार पोखिए, प्रशस्त किताब लेखिए। कतिपय विचार निश्चित पक्षसँग गाँसिएर लेखिए, कतिपयचाहिँ इमानदार भएर।

मधेसको त्यस्तै इमानदारीपूर्ण बयानसहित लेखिएको पुस्तक हो, इग्नोर्ड अर इल-रिप्रेजेन्टेड ? द ग्रेभिएन्स अफ तराई-मधेस कन्फि्लक्ट इन नेपाल। पक्षपातविहीन विश्लेषणसहितको यस वैज्ञानिक लेखन (साइन्टिफिक राइटिङ्)लाई द्वन्द्व विश्लेषक विष्णुराज उप्रेती र युवा अनुसन्धाता सुमनबाबु पौडेल र सफल घिमिरेले संयुक्त आकार दिएका हुन्। मधेसको शाब्दिक अर्थ, रोजाइमाथिको बहस, मधेसी जनतामाथि भएको बहिष्करणको ऐतिहासिक सन्दर्भ, द्वन्द्वको सुरुआत र त्यो लम्बिनुका कारण र त्यसका असर हुँदै मधेसका सवालमाथि राष्ट्रिय/अन्तर्राष्ट्रिय चासो एवं चलखेलको विश्लेषणसहितको यो पुस्तक व्यवस्थित लाग्छ।

कृषि र उद्योगमार्फत देशलाई उकासिरहेको मधेस आफूचाहिँ जहिल्यै पिँधमा रह्यो। माओवादी द्वन्द्वका बेलामा समेत यो शान्त थियो। तर, शान्ति सम्झौतापछि एकाएक जुर्मुरायो, हजार वर्षको निद्रापछि ब्यूँझिएझैँ। लगत्तै, दशकौँदेखि आफू चेपुवामा पर्नुका सवाल- नागरकिता, निर्वाचनमा समान प्रतिनिधित्व र शक्ति एवं स्रोतको सरोबर बाँडफाँटको मुद्दा उठाउँदै मधेस जुर्मुरायो। 'मधेस' शब्दावलीप्रति थारू जातिको आपत्ति र 'तराई' शब्दप्रति मधेसी समुदायको असहमतिपछि राजनीतिक दलले मध्यम बाटो रोज्दै त्यस क्षेत्रलाई 'तराई-मधेस' भने। यसरी नामको विवाद केही मत्थर भए पनि मधेसी र थारूबीच तराई-मधेसका आदिवासी को भन्ने विवादबारे पुस्तकमा राम्रै विश्लेषण छ। मधेसी र थारू जातिको चेपुवामा मुसलमान कसरी परे, त्यसमाथि पनि विद्वान्हरूको मत रोचक तरिकाका साथ प्रस्तुत छ ।

युगौँदेखि मधेस चेपुवामा पर्नुको कारण खोतल्ने क्रममा लेखकहरूको राय छ, यो क्षेत्र पृथ्वीनारायण शाहकै पालादेखि बहिष्करणमा परेको थियो। उनले राष्ट्रिय एकीकरणका प्रयास थालेपछि नेपाली भाषा र संस्कृतिलाई मात्र ग्राह्यता दिइयो। भाषिक र सांस्कृतिक रूपमा देशलाई समरूपी बनाउने उद्देश्यमै खोट थियो, जसले मधेसीलगायत अन्य जातिमाथि विभेदपूर्ण व्यवहार गर्‍यो। मधेसका जनता अर्ध-भारतीय र दोस्रो दर्जाका नागरकि ठानिए। उनीहरूलाई नागरकिता दिन राज्य हिचकिचाउनु उनीहरूको सबैभन्दा ठूलो चित्त दुखाइ थियो। त्यसको पीडा दोस्रो जनआन्दोलनपछि मात्र विस्फोट हुन सक्यो।


सन् १९८३ मा गहन बसाइँसराइको अध्ययनपछि जनसंख्याविद् हर्क गुरुङ नेतृत्वको टोलीले सीमा व्यवस्थापन गर्न, भारतबाट नेपाल आउने कामदारलाई भन्दा नेपालकै मानिसलाई रोजगारी र स्रोत उपयोगको लागि प्राथमिकता दिन र नागरकिताको प्रश्नमा सरकारलाई 'हाई अलर्ट'मा रहन सुझाव दिएको थियो। तर, सरकारलाई दिइएको सुझाव कार्यान्वयन भएन। गुरुङले उतिबेलै सुझाएका थिए, सीमाको कडा निगरानी र व्यवस्थापन भए मधेसका थुप्रै समस्या समाधान हुन सक्छन्।

अन्तरमि संविधान जलाइएपछि लहान घटना तथा नेपालगन्जमा भएको जातीय द्वन्द्व मधेसको मुद्दामा भूसको आगो भइसकेका थिए। माओवादीले रोपिदिएको जातीयताको आगो मधेसमा बेस्सरी फैलियो। अनि, त्यसले उग्र रूप लियो। मधेस आन्दोलनले अब राष्ट्रिय-अन्तर्राष्ट्रिय शक्तिको ध्यान तानेपछि तिनले चलखेलको मौका पनि पाए। मधेस आन्दोलन बढ्नुका कारणमध्ये नेपालगन्ज हिंसालाई पुस्तकमा प्रमुख मानिएको छ। नेपालगन्ज हिंसाले मधेसी समुदाय र पहाडी मूलका समुदायबीच भएको जातीय भड्कावलाई जनाउँछ। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको असमर्थता र पुष्पकमल दाहाल 'प्रचण्ड'जस्ता जिम्मेवार नेताको भड्कावपूर्ण भाषण पनि मधेस आन्दोलन उकास्ने कारण बन्यो।


देशको अरू संरचनामा जस्तै मधेसको संरचनामा पनि व्यापक फेरबदल ल्याउने र विद्रोह जगाउने श्रेय/दोष तत्कालीन नेकपा माओवादीलाई दिन लेखकहरू चुकेका छैनन्। संघीयता, निर्वाचन प्रणाली, नागरकिताजस्ता गम्भीर विषयप्रति बुझाइ अभावले पनि द्वन्द्व लम्बिएको थियो। मधेसवादी नेताले त्यसबारे जनतालाई राम्ररी बुझाउन सकेका भए मधेसले साम्प्रदायिक द्वन्द्व नभोगेरै परविर्तन आत्मसात् गर्न सक्ने जिकिर लेखकहरूको छ। मधेसमा भएको परविर्तनले समग्र देशकै सुरक्षा व्यवस्थामा पनि परविर्तन गर्‍यो। युवा विभिन्न आपराधिक समूहमा लागे, खुला सीमाका कारण घातक हतियारको चलखेल बढ्यो र हतियार कारोबारमा छिमेकी मुलुकको संलग्नताले समस्या अझ जटिल बन्यो। यी र यस्ता सुरुचिपूर्ण विश्लेषण छन् पुस्तकमा।

विचार दोहोरिनु, कतिपय ठाउँमा खुलेर सुझाव दिन लेखकहरू अनकनाउनु पुस्तकका सामान्य कमजोरी हुन्। पोख्त अनुसन्धाताले देशको गम्भीर सवालमाथि प्रस्ट सुझाव दिन सक्नुपर्छ। पुस्तकको अंग्रेजी भाषा पनि उति खिरिलो, सुललित र प्राकृतिक लाग्दैन। कुशल सम्पादकको अभाव खड्किएको त्यसले बताउँछ। समग्रमा पुस्तकका सूचना र विश्लेषण औसत छन्। मधेसबारे गहिरो अनुसन्धान गर्न चाहनेलाई पुस्तक धेरै उपयोगी नभए पनि यसबारे सामान्य जान्ने र वैज्ञानिक लेखको खोजीमा रहेकाका लागि पुस्तक अवश्य उपयोगी हुन सक्छ।

इग्नोर्ड अर इल-रिप्रेजेन्टेड ? द ग्रेभिएन्स अफ तराई-मधेस कन्फि्लक्ट इन नेपाल
लेखक   :    विष्णुराज उप्रेती, सुमनबाबु पौडेल, सफल घिमिरे
प्रकाशक   :    अड्रोइट पब्लिसर्स, नयाँदिल्ली 
पृष्ठ   :    १६८
मूल्य   :    ५५० भारु

(नेपाल साप्ताहिकमा प्रकाशित, लिंक यहाँ)

Sunday, September 22, 2013

पुँजीवादी प्रेमको व्यङ्ग्यात्मक व्याख्या

(नेपाल साप्ताहिकबाट)

नेपालगन्जजस्ता तराई भेगका कथालाई चपक्कै समाएर साहित्ययिक रङरोगन गर्ने नयनराज पाण्डे पछिल्लो समय  ‘घामकिरी’ सँगै उड्दै छन् । लेखक पाण्डे आफ्ना अघिल्ला केही कृतिमा खोट लाउन नमिल्ने गरी सफल दरिए । विश्वब्यापीकरण, पुँजीवाद र उपभोक्तवादमाझ झाँगिएको प्रेमको व्यङ्ग्यात्मक व्याख्या गर्ने उनको पछिल्लो उपन्यास कृति ‘घामकिरी’ लाई पाठकले औषत मान्नेछन्, ‘उलार’ र ‘लू’ सँग तुलना गर्ने हो भने । स्वैरकल्पनाको उच्चतम प्रयोग, पुँजीवादी समाजमा हुर्किएको प्रेममाथि निकृष्ट व्यङ्ग्य, भुलभुलैयायुक्त तथ्य र कथ्यको प्रयोगले उपन्यासलाई चाखलाग्दो चाहिँ बनाएका छन् ।

उपन्यासको नायक चौध/पन्ध्र वर्षे ठिटो राजु (नयन) हो । कथामा उसको मष्तिष्कको मज्जाले चिरफार गरिएको छ । सन् १९८० तिरकी बलिउड स्टार पद्मिनी कोल्हापुरेसँगको उसको ‘स्वैरकाल्पनिक प्रेम’ ले उसलाई गतिलो पाठ सिकाउँछ । कल्पनामा डुबेको राजुको दिमागमा पद्मिनीले मज्जाले डेरा जमाएर बस्छे । राजु उसँगको आसक्तिमा लीन हुन्छ । अनि ऊ बाँधिन्छ घामकिरी झैँ धागोमा । र अनुभव गर्छ इन्द्रधनुषी आकाशमा निष्फिक्री उडेको ! त्यही आशक्तिले उसलाई बम्बैसम्मको कष्टकर यात्राको लागि वाध्य बनाउँछ । राजुको बम्बै यात्रासँगै उपन्यास तीब्र गतिमा गुड्न थाल्छ्, त्यहाँको मेट्रो ट्रेनकै गतिमा । ठूलो महत्वाकांक्षासाथ ऊ बम्बै प्रस्थान गर्छ । यात्रामा ठूला कठिनाई झेल्छ । ट्रेन स्टेसनमा नमज्जाको दुख्खसँगै उसको बम्बै सपना तुहिन थाल्छ । क्याथरिन बूको ‘बिहाइन्ड दि ब्युटिफुल फरएभर’ उपन्यास लगायत थुप्रै हिन्दी सिनेमाको झल्को दिने गरी पुस्तकमा बम्बैको झुपडपट्टीको दर्दनाक कथा भनिएको छ । बम्बैमा सुपरस्टार बन्ने लक्ष्यसहित ट्रेनलाई सपनाको भारी बोकाएर पसेको राजु एक प्रतिनिधि पात्र हो । सुपरस्टार बन्ने उद्देश्यसहित बम्बै पसेका लाखौँ युवाको वास्तविक प्रतिनिधि बन्न राजु सक्षम छ । उसले त्यहाँ भेटेका पात्रहरू राजीव, टिङ्कु, थापा, शिवनाथ, रञ्जिता, चम्पक आदि पनि दुखीयाहरू हुन् । प्रत्येकको आँखामा सपना तैरिरहेको हुन्छ । प्रत्येक पात्रहरू एउटा चमत्कारिक चिठ्ठाको पर्खाइमा हुन्छन् । तर उनीहरूलाई थाहा हुँदैन चिठ्ठाको अधकट्टी अरूकै हातमा हुन्छ । उनीहरू सबै एउटा अनौठो भ्रममा आफ्नो जिजिविशा बाँचेका छन् जसको चङ्गुलबाट निस्कन उनीहरूले मृत्यु नै कुर्नुपर्ने हुन्छ !

उपन्यासमा गाँसिएका उपकथाहरूले मूलकथालाई ओझेलमा पारेका छन् । पद्मिनी र राजुको प्रेम उपन्यासको मूलकथा भएपनि बीच खण्डतिर जाँदा लेखकले त्यही मूलकथाको जरो समातेर अघि बढ्न सकेका छैनन् । धेरै ठाउँमा चिप्लिएका छन् ।

Tuesday, August 27, 2013

सम्झनामा साइकल

-संस्मरण

“ट्रिङ ! ट्रिङ ! ट्रिङ”

दस बज्न दस मिनट बाँकि हुन्थ्यो । घरको ‘एवन’ साइकलको घण्टी तीनफेर बजाइदिन्थेँ, दाहिने हातको बुढी औँलाले । अनि खुरुरुरु साइकल कुदाएर भाग्न कस्सिन्थेँ म ।

“हरे ! आज नि केटोले साइकिल लेर हिँड्यो !” खाना खान भान्सामा पस्नुभएको बुवाले मम्मीसँग भनेको सुन्थेँ, “होमक गरेन होला अनि भाग्यो । साह्रै दुख दियो । येल्लाई क्यार्नी होला हँ ?” उहाँ अफिस जाने बेला साइकल आफ्नो कब्जामा पारेर म दुख दिन्थेँ बुवालाई । तर, त्यसो गर्दा अन्तरमनमा मैले खुसी भोगेको उहाँलाई के थाहा ! मेरा विरुद्ध थप केही भने मैले सिम्किना खानुपर्थ्यो, त्यसैले मम्मी केही बोल्नुहुन्नथ्यो । अफिस जाने बेला मैले साइकल लिएर हिँडेकोमा बुवाको रिस पैतालाबाट सिधै दिमागमा पुग्थ्यो । बेतोडले साइकल कुदाइरहेको म फुच्चेको लागि भने अनुपम आनन्द दिमागबाट पैतालासम्म सुरेली खेल्थ्यो ।

कैँची चलाउन भर्खर सिकेको थिएँ । साइकल पाएपछि पृथ्वीकै फन्को लाउँछु जस्तो लाग्थ्यो । लामो गद्दि भएको र बुढाखाडाले चलाउने स्टाइलको थियो त्यो साइकल । त्यसलाई आफ्नो कब्जामा पार्न म हरकोशिस गर्थेँ । स्कुल जान मन नलाग्दा साइकल लिएर गाउँतिर जान्थेँ, तौलिहवा बजारबाट १० किलोमिटर पर भारतीय सीमासम्मै पुग्थेँ ।
“पन्चड भयो भने कसरी बनाउँछस् भन् !” बुवाले हकार्नुहुन्थ्यो। 

उहाँले नै पैसा दिए मसँग हुन्थ्यो । वा मन्दिर जाँदा चढाउन मम्मीले सँगालेका खुद्रा पैसाहरू चोर्नु पर्थ्यो । अर्को उपाय पनि थियो । बुवा निदाएका बेला ठूलै कसरत गरेर चोर्ने । नत्र म बबुरोसँग कसरी होस् पैसा ! दुई रुपियाँ लाग्थ्यो एक ठाउँको पन्चड टालेको ! दुई रुपियाँ मेरो लागि ट्रोजन युद्ध बराबर !

दिनभरी बजार डुल्थेँ अनि पाँच बज्न दस मिनट जति बाँकि हुँदा बुवाको अफिस पुग्थेँ । मलाई देखेपछि ङिच्च दाँत देखाएर हाँस्नुहुन्थ्यो बुवा । उहाँको हाँसोको अर्थ बुझ्थेँ, अब ‘माइजू होटल’ मा समोसा–मटर, चिया र नमकिन मस्त खान पाइने भो ।

“तँ आउँछस् भनेर कुरीराथेँ ।” घामझैँ सेता दाँत देखाउँदै बुवा हाँस्नुहुन्थ्यो अनि भन्नुहुन्थ्यो, “ल हिँड् !”

म चाहिँ जूनझैँ पहेँला दाँत देखाएर मुस्कुराउँथेँ । खुसीले एकफेर बुर्लुक्क उफ्रिउँझैँ लाग्थ्यो । हत्तपत्त बुवालाई साइकल थमाउँथे । उहाँ उभिएरै साइकलको लामो गद्दिमा बस्नुहुन्थ्यो ।

“म कहिले बुवाजत्रो हुन सकुँला अनि उभिएरै साइकलमा बसुँला...” सोँच्थेँ ।

साइकल गुडाउन थाल्नुहुन्थ्यो बुवा । अनि म गुड्दै गरेको साइकलमा बुर्लुक्क उफ्रेर पछि बस्थेँ । साइकल एकफेर थररर काँप्थ्यो । बुवाले त्यसमाथि सजिलै कब्जा जमाउनुहुन्थ्यो ।

“घर जाम् है ! आज पैसा छैन ।”

बुवाले मलाई जिस्क्याउन खोजेको चाल पाउँदिन र मैले ! त्यसैले पछि बसेरै साइकल हल्लाइदिन्थेँ, गुल्टाइदिने उद्देश्यले नि ! बुझ्नुहुन्थ्यो म रिसाएको ।

“ल ल जानी जानी ! मलाई दुख दिन जान्याछस् नि तैँले । स्कुल किन गइनस् भन् ।” बुवाले तुरुप फ्याँक्नुहुन्थ्यो ।

स्कुल नगएको कारण जान्दिनथेँ। नजानेको कुरा कसरी बताउनु !

“दुष्ट छस् नि तँ ।” केही नबोल्नु मुनासिब हुन्थ्यो । किनकि एकैछिनमा ‘माइजू होटल’ आउँदै थियो । त्यसैले बोलेर बुवाको रिसको पारा उकाल्न हुँदैनथ्यो ।

“कता जानी ! माइजूकोमा कि मुरलीकोमा ?”

मुरलीकोमा राम्रा मिठाइहरू हुन्थे, माइजूकोमा समोसा–मटर ।

“आज माइजूकोमा जाम् ।” विस्तारै बोल्थेँ म । अनि साइकलको पांग्रा माइजू होटलतिर गुड्थ्यो । होटल जति जति नजिक आउँथ्यो मेरो मुख रसाउँथ्यो ।

“माइजू येल्लाई समोसा–मटर, नमकिन र चिया दिँदै गर्नुस् म हाटबजारबाट आइहाल्छु ।”

Source: linzfrentrop.wordpress.com
हाटमा छोरो हराउला भन्ने डरले बुवाले मलाई माइजूको होटलमा छोडेर आफू तरकारी किन्न जानुहुन्थ्यो ।

एकपटक माइजू होटलबाट घर फर्केपछि डुल्न मन लाग्यो । साइकल लिएर खुसुक्क निस्केँ । घरभन्दा अलिकति टाढा पुगेपछि हेन्डल नसमाएरै साइकल कुदाउन थालेँ । अचानक झ्याङतिर साइकल आफसेआफ मोडियो । अनि फलामे काँडेतारमा गएर पल्टियो । साइकल एकातिर म अर्कैतिर । तिघ्रामा तिखो फलामको सुइरो रोपिएछ ! रगत भुलुलु बग्दै थियो, तिघ्रामा रोपिएको फलामे सुइरो नडराएरै स्वात्त झिकेँ । बेस्मारी दुख्यो । आँसु थाम्नै सकिँन । एक्लै रोएँ, झाडीभित्र पसेर । बाटोमा हिँडिरहेका एकजना अंकलले मेरो रुवाइ सुनेछन् । बुवालाई चिनेका रहेछन् । मलाई पनि चिनिहाले ।

अंकल झाडीभित्र आए र भने, “नरोऊ बाबु।”

उनले त्यसो भन्दा मलाई झन् रुन आयो ।

फेरि भने, “हिँड अल्ताफकोमा जाम् घाउ ठूलै भएछ ।”

म विस्तारै उठेँ, तिघ्रा समात्दै । तिनले साइकल डोर्‍याए । म पछिपछि लागेँ । अल्ताफ डाक्टरकोमा लगेर मलमपट्टी गरिदिए । टिटनसको सुइ लगाइदिए डाक्टरले । फलामको सुइरो रोपियो, सुइ पनि रोपियो । सुइको रोपाइले रन्थनिएको थिएँ पर अडिएको त्यही साइकल देखेँ । देखेर खुब रिस उठ्यो । घर जान खुब डर लागिरहेको थियो । तिनै अंकलले विस्तारै घर पुर्‍याइदिए । घरमा कोही थिएनन् त्यसैले खुसी लाग्यो । मलाई लागेको त्यतिविधि चोट देख्या भए बुवाले मलाई भकुर्नुहुन्थ्यो । चुपचाप साइकल थन्काएँ । कोठामा पस्नेबित्तिकै पाइन्ट लगाएर बसेँ । एकहप्ताजति घाउ निको भएन । त्यतिन्जेल साइकल पनि चलाइनँ । घटनाबारे घरमा कसैलाई बताइनँ, मलाई उपचार गरिदिने अंकललाई पनि वाचा गराएको थिएँ, बुवालाई नभन्न । भन्नुभएनछ । साइकल मोहले मलाई धेरै चोट दियो, अनि धेरै खुसी पनि ।

अलि सानै हुँदा बुवाले मलाई जिनको राम्रो हाफपाइन्ट किनिदिनुभएको थियो ।

"डेढ सयको हो अलि जतन गरेर लगा । दशैँलाई पनि यही हो ।" भन्नुभएको थियो ।

नयाँ कपडाको खुब जतन गर्थेँ । त्यतिबेला डेढ सयको हाफपाइन्ट लगाउन पाउनु मेरो लागि हिराजडित सुन्दर कपडा लगाएबराबर थियो । नयाँ हाफपाइन्ट नागमणीझैँ भएको थियो । २४ घण्टा मैसँग हुने । साथीहरूले इर्ष्या गरेका थिए, मैले लगाएको त्यो जिनको हाफपाइन्टको । उनीहरूले आफ्ना बुवालाई मेरोझैँ हाफपाइन्ट किनिदिन जिद्दी गर्थे ।

एकपटक त्यही हाफपाइन्ट लगाएर साथीहरूसँग गुच्चा खेलिरहेको थिएँ । परबाट रिक्सा आएको देखेँ । रिक्साको पछिल्तिर झुण्डिन मन लागेर अखपै भयो ! मेरो हाफपाइन्टझैँ नयाँ र राम्रो रिक्सा नजिकैबाट गुडेर गयो । गुच्चा खेल्न छाडेर रिक्सा पछाडि खुरुरु दगुरेँ । अनि पछाडि झुन्डिएँ । ओहो ! एकैछिनमा संसार अँध्यारो भयो । रिक्साको पछाडिको चेनले मेरो हाफप्यान्ट समातेछ ! हाफप्यान्ट धररर च्यातियो । छालामा पनि सुइरो रोपेझैँ भयो । तिघ्रामा रगत देखेँ ।

अनि कराएँ, "ओए रिक्सामान रोक ! म मरेँ ।"

म पछाडि झुन्डिएको देखेकै थिएन उसले तर आवाज सुन्यो, अनि रिक्सा रोक्यो । मलाई देखेर डरायो । अनि समातेर मलाई निकाल्यो त्यहाँबाट । म पिडाले छटपटिएको थिएँ । रिक्सामानले मलाई बोकेर घर पुर्‍याइदियो । मैले च्यातिएको हाफप्यान्ट हेरेर रुवाईको डाँको बढाइरहेको थिएँ । हाफप्यान्ट धुजा-धुजा भएको थियो । म खुब रोएँ ।

बुवा नजिकै आउनुभयो, “नरो भोलि यो भन्दा नि राम्रो किन्दिन्छु ।”

त्यसपछि मैले दुखाइ बिर्सेँ । रुँदारुँदै हाँसे । उपचार गरेर ठीक भएपछि खुब गाली गर्नुभयो, “त्यस्तो राम्रो हाफप्यान्ट च्यातेर मर्‍यो अब किन्दिम्ला नयाँ ! १० पास भएपछि मात्रै तँलाई नयाँ लुवा किन्दिन्छु अब ।” 

ओहो २ कक्षा पढिरहेको फुच्चे म कहिले होला त्यतिका पढिसक्ने ! जिनको राम्रो हाफप्यान्ट लगाउन भएपनि अब मैले १० पास गर्नैपर्ने थियो !

१० पढ्दापढ्दै नयाँ साइकल चाहिँ घरमा भित्रियो । यतिबेला पहिलाझैँ बदमासी गरिनँ । एसएलसी तयारीको चटारो पनि थियो, हुर्किसकेको पनि त थिएँ । नयाँ साइकल मेरो र पुरानो चाहिँ बुवाको । स्कुल पढ्दाजस्तो यसबेला साइकलप्रतिको मोह हराइसकेको थियो तर पनि खुसीचाहिँ थिएँ । मेरो भागमा एउटा सिङ्गो साइकल जो थियो । स्कुलमा नयाँ साइकल लैजान पाएको थिएँ । साथीहरूमाझ ठूलो शान थियो । किनकि उनीहरूमध्ये कसैको थिएन नयाँ साइकल ।

अब मलाई मोटरसाइकलको रहर लाग्न थाल्यो । अंग्रेजी पढाउने विकास सरलाई हेर्थेँ, मोटरसाइकल चढेर आउँछन् । टिर्लिक्क पार्छन् 'क्रक्स' मोटरसाइकल । मेरो साइकल भन्दा पनि बढी चम्केको हुन्थ्यो त्यो ! मैले कल्पन थालेँ, “ओहो मोटरसाइकल किन्ने दिन कहिले होला मेरो ।” सपना पनि देख्न जानेको थिइनँ त्यतिबेला । त्यसैले मोटरसाइकल किन्न सक्ने हैसियत पनि कल्पन जान्दिनथेँ ।

Source: www.rapgenius.com

+ + +

धेरै वर्षपछि समय मेरो पोल्टामा खस्यो । मोटरसाइकल पनि किनेँ । एकफेर घर लगेर बुवालाई देखाउन मन लागेको थियो, असाध्यै । त्यसैअनुसार, आफ्नै मोटरसाइकलमा घर जाने निधो गरेँ ।

“म घर आउँदैछु बुवा, कलंकीबाट भर्खर बस चढेँ ।”

जाँदै त म मोटरसाइकलमा थिएँ । तर घरमा चाहिँ बसमा आइरहेको बताउनु पर्थ्यो । लामो बाटो, पानीमा रुझ्दै घर पुगेँ । साँझमा घर पुग्दा भिजेका लुगा ओभाइसकेका थिए ।

गेटमा मोटरसाइकल रोकेर धेरैबेर हर्न बजाएँ ।

“हरे को हो !” बुवा झोक्किँदै गेट खोल्न आउनुभएको थियो ।

मलाई मोटरसाइकलमा देखेपछि एकछिन ट्वाँ पर्नुभयो । पछाडि जगुभाइ पनि थियो ।

हेडलाइटको प्रकाशलाई हत्केलाले छेक्दै बोल्नुभयो बुवा, “ओहो कस्तो राक्षस हो यो तेती लामो बाटो मोटरसाइकिलमा आउनी गाँठे !”

“गेट खोल्नु न पैला ।” म हाँसे । “साँचो बोले त आउन दिनुन्थ्यो र !”

चुइँ ऽऽऽ गर्दै गेट खुल्यो, पेन्ट नलगाएकोले खिया पर्न थालेछ । बुवाको अनुहारमा उमेरले पारेको खियाजस्तै गेटलाई देखेँ । मोटरसाइकलमा दस घण्टा लामो सफरपछि घर पुगेको थिएँ । बाहिरै आँगनमा मोटरसाइकल राख्न थालेको देखेपछि बुवाले भन्नुभयो, “भित्र बरण्डामा राख् । चिसोले  रङ खुइल्याउँछ ।”

छोरोले कमाउन थाल्नेबित्तिकै किनेको मोटरसाइकल धित मरुन्जेल हेर्न त्यसको नजिक जानुभयो बुवा । माया गरेर त्यसलाई छुनुभयो । अनि भन्नुभयो, “अझै माया गर्न जान्याछैनस् है आफैले कमाएर किन्दानि ।” म हाँसे । बुवा पनि हाँस्नुभयो । बाइक बरण्डामा उकाल्न खोजेँ । एकैपटकमा सकिनँ । फेरि प्रयास गरेँ, टायर चिप्लीयो । तेस्रो पटक पनि सकिनँ ।

“पख् चक्का खराब हुन्छ ।” बुवाले भन्नुभयो ।

अनि गोठतिर लम्कनुभयो । बाइक उकाल्न सजिलो बनाउन एउटा सानो काठ लिन जानुभएको रैछ । बरण्डा र आँगनलाई छुने गरी त्यो फलेक राखिदिनुभयो । यसपाली एकैफेरमा उक्लियो ।

Source: www.flickr.com
“ढङ्गसङ्ग छैन तेसै भटभटे चढ्छ !” आफ्ना दुई हात बाँधेर ढाडतिर लगेर भन्नुभयो । कसैलाई सुझाव दिँदा उहाँले गर्ने पुरानै हाउभाउ हो उहाँको ।

घर नगएको लामो समय भएको थियो । वरिपरि हेरेँ । आफू खेलेको ठाउँ । पर उभिएका थिए बेलौँती र आँपका रुख । मलाई देखेर मुस्कुराएझैँ लाग्यो । ती रुखमा चढेर बाल्यकालको एउटा खण्ड पार भएको थियो । बुढा भएछन् रुख, म चाहिँ तन्नेरी । बाहिर चौकीमा थचक्कै बसेँ । सँगै गएको जगुभाइ पनि मेरो छेउमा बस्यो ।

बुवा मोटरसाइकल नजिक जानुभयो । गएर सर्सर्ती हेर्नुभयो । घरि पूर्वबाट, घरि पश्चिम, घरि उत्तर र घरि दक्षिणतिरको एङ्गलबाट । प्रत्येकपटक दिशा फेर्दा मतिर हेरेको देखेँ । भुइँजस्तै मैलो कपडाले बाइकको ट्याङ्की र हेडलाइट पुछिदिनुभयो । सोँचे मैले बाइकलाई गर्ने जत्तिकै माया बुवाले पनि गर्नुहुन्छ होला, किनकी छोरो त्यसमा चढेर हिँड्छ र भिडभाड काठमाण्डौँको फन्को लगाउँछ । पुछेर सकेपछि बुवाले एक्सिलेटर बटार्नुभयो । हेडलाइट हेर्नुभयो । सेलाउन नपाएको साइलेन्सर पाइप छुनुभएको थियो, पोलेछ ! हात स्वाट्ट झिकेको देखेँ अनि भनेँ, “पोल्छ केरेनि बुवा, इन्जिन तातो छ ।”

दुई दिन घर बस्दा सबै ठाउँ मोटरसाइकलमै चाहारेँ जुन ठाउँहरू वर्षौँ अगाडि साइकलमा फन्को लगाउँथे । हुर्किएको समयले एकपटक नोष्टाल्जिक बनायो ।

काठमाण्डौँ फर्किने दिन बिहानै खाजा खान भान्छामा पसेँ । मोटरसाइकल आँगनमा थियो, बरण्डाबाट बुवाले नै निकाल्नुभएको रहेछ । पुछ्नुभएछ पनि । बिहानको घामझैँ टल्किएको थियो त्यो । खाज खाएर हिँड्ने तर्खर गर्न थालेँ । बुवा मोटरसाइकल नजिकै उभिएर घरि मतिर घरि मोटरसाइकतिर हेर्नुहुन्थ्यो । बुर्कुसी मारेको समयसँग बुवाले गफ गरिरहेजस्तो लाग्यो ।

“म जान्छु बुवा अब ।” हलुका झोला पछाडि भिरेर बोलेँ । बुवा चाहिँ केही नबोली मोटरसाइकललाई अझै हेरिरहनुभएको थियो । त्यसलाई मुसारिरहनुभएको थियो ।

"विस्तारै चलाएस् नि। हाइवेमा डर हुन्छ।" भन्नुभयो ।

जिन्दगीको हाइवेमा द्रुत गतिमा कुद्ने रहर भएको म। बुवा भन्नुहुन्छ "विस्तारै हिँड्।"

मुसुक्क हाँसेँ र टाउको हल्लाएँ।

"सुरक्षित पुग्नेछु, सुरक्षित गति महत्वपूर्ण हो बुवा।"

हेल्मेटको फिता बाँध्न बिर्सेको रहेछु। बुवाले नै बाँधिदिँदै भन्नुभयो, "कलंकी पुग्नेबित्तिकै फोन गरेस् नि !"

त्यसपछि जगुभाइ र म अघि बढ्यौँ, बिहानको घामलाई पछ्याउँदै ।

अलि पर पुगेर रियर भ्यू मिररमा हेरेँ बुवा उही खिया लागेको गेट समाएर मतिर हेरिरहनुभएको थियो !



-सिपी अर्याल (CP Aryal)

Sunday, July 28, 2013

‘केन्द्र’ भत्काउने डेरिडा


–सिपी अर्याल/गोपीकेश आचार्य

“एउटा दार्शनिक जन्मन्छ, चिन्तन गर्छ र मर्छ ।” कसैले भोगेको जीवन समेट्दै लेखिने जीवनकथा लेखनमा ज्याक डेरिडालाई खास रुचि थिएन त्यसैले उनको इहलीलाबारे लेख्न खोज्नेलाई उनी भनिदिन्थे, “बाँकि कुरा आख्यान हुन् ।” उनकाअनुसार आत्मकथा बौद्धिक हुनुपर्छ जसमा एउटा दर्शन होस् । मानिसमाझ अलिअलि चिनिन थालेपछि उनले आफ्नोबारे कसैलाई केही बताउन चाहँदैनथे । आफ्नो फोटो पनि खिच्न मान्दैनथे । “मेराबारे के जान्न खोजेका ? म अल्जेरियाको यहुदी परिवारमा जन्मिएँ, विद्यालयबाट निकालिएँ...” उनको जीवनकथा लेख्न चाहने पत्रकारलाई झपारे एकपटक “यस्ता फाल्तु कुरा लेख्न पर्दैन, जाऊ आफ्नो काम गर ।” जीवनकथामा व्यक्तिगत जीवनभन्दा दर्शन हुनुपर्ने जिकिर उनको थियो ।

दर्शन, कला, सौन्दर्यशास्त्र, राजनीतिक सिद्धान्त, साहित्य, यौनमनोविज्ञान, धर्म अध्ययन, कुटनीति, नाट्य अध्ययन, वास्तु अध्ययन, पुरातत्व अध्ययन, कानुन, मानवअधिकार, भाषाविज्ञान, उत्तर औपनिवेशिक अध्ययनलगायत ज्ञानका हरेकजसो क्षेत्रमा काम लाग्ने विचार दिने डेरिडाको जीवनकथा लेखियो, अनेक लेखकका अनेक आँखाबाट । डेरिडाबारे लेखिएका थुप्रै जीवनकथा मध्येको एक बेनोइट पीटर्सले लेखेको, ‘डेरिडाः अ बायोग्राफी’ पुस्तक राम्रो मानिन्छ । लस एन्जलस रिभ्यु अफ बुक्समा कास सगाफीले यस पुस्तकलाई जीवनकथा लेखन शैलीको क्रममंग भन्दै प्रशंसा गरेका छन् ।

Monday, July 22, 2013

पात्रहरूको पाण्डुचित्र

-सिपी अर्याल (CP Aryal)

देउतामा विश्वास गर्ने हो भने यस जगत्‌का रचयिता देउता नै हुन्। अरूले यस्तो सुन्दर र त्रुटिरहित सृष्टि गर्नै सक्दैनन्, मानिसहरू त्यही भन्छन्। तर, लेखकहरू पनि अर्का देउता हुन्। सृष्टिकर्ता ब्रह्मा, जसले एउटा फरक ब्रह्माण्ड रचना गर्न सकेको विश्वास गरिन्छ। आफ्नो नयाँ कृति एन्ड द माउन्टेन्स इकोडमार्फत खालिद हुसैनी पनि नयाँ सृष्टिकर्ता साबित भएका छन्। यस कृतिमार्फत हुसैनीले गजब र सुन्दर सृष्टिको परकिल्पना गर्दै त्यसै अनुसार एउटा ब्रह्माण्डको रचना गरेका छन्। आफ्ना अघिल्ला दुई कृति द काइट रनर र अ थाउजेन्ड स्प्लेन्डिड सन्सपछि आफ्नो तेस्रो कृतिमा पनि उत्तिकै सफल छन् उनी, केही गुनासाका बाबजुद।

उपन्यासको प्रमुख कथा दाजुबहिनीको प्रेम हो। यो उनीहरूको मिलन-विछोडको आख्यान पनि हो। शदबाघ नामक अफगानिस्ताको काल्पनिक ठाउँको गरबि परविारबाट सुरु हुने कथा पृथ्वीको मस्त चक्कर लगाउँदै सकिन्छ। तर, त्यस काल्पनिक ठाउँको बेलीविस्तार र प्रस्तुतिमा वास्तविकताको मन्द गन्ध पनि आउँछ। आकर्षक कथावाचनका साथ सुरु भएको यस उपन्यासको राजमार्गमा गुडिरहँदा बीचबीचमा झल्याकझुलुक देखिने, छुट्टनिे र रुवाउने सबै उपकथाहरूमा बरोबर दमचाहिँ छैनन्। एउटा रोमाञ्चक आख्यानका सम्पूर्ण गुण भने छन्। लेखकले एउटा ठूलो क्यानभासमा पात्रहरूको रंगीन र श्यामश्वेत पाण्डुचित्र कोरेका छन्। त्यसमा पात्रले बोल्ने भाषा, लगाउने र खाने शैलीको स्पष्ट ध्वनि पनि प्रवाहित छ। तर, उपन्यास कहीँ बोझिलो लाग्छ र कहीँकतै अस्पष्ट पनि।

जिन्दगीको कुनै मोडमा पनि छुट्टिने कल्पनै नगरेका कलिला दाजुबहिनी चरम गरीबीका कारण अन्ततः छुट्टिनुपर्छ। छोरीको भविष्य उज्ज्वल होस्, उसले गरीबीको सामना गर्न नपरोस् भन्ने उद्देश्यका साथ सबुरले परी नामकी प्रिय छोरीलाई काबुलको सम्पन्न वाहदाती परिवारमा सुम्पन्छन्। त्यसपछि कथाको हुस्सु बाक्लिँदै जान्छ। छुट्टिएकी परी कहाँ जाली, के खाली, कस्तो जीवन बाँच्ली, अब्दुल्लाह र परीको भेट होला वा नहोला भन्ने उत्सुकताका साथ पाठकलाई हरप्रहर उपन्यासले उकुसमुकस पाररिहन्छ। त्यसबीचमा देखिने पात्रहरू, घटना र त्यसको अलौकिक वर्णनले कथाको लयलाई पक्रिरहन्छन्। अन्ततः साठी वर्षपछि दाजुबहिनीको भेट हुन्छ। अब्दुल्लाह र परीको भेट हुँदा पाठक पनि आनन्द र रोमाञ्चले विभोर हुन्छन्। सबथोक लगभग बिर्सिसकेकी बहिनी दाजुलाई देख्दा भक्कानिन्छिन्। भन्छिन्, "एउटा बिरामीले आफूलाई दुखेको ठाउँ कहाँनिर हो, ठ्याक्कै बताउन नसकेझैँ मेरो पीडा तिमीलाई बताउन सक्दिनँ।"

उपन्यासभरि नै आउने अन्य उपकथाहरू दाजुबहिनीको यो प्रमुख कथाको अगाडि फितला लाग्छन्। ६० वर्षपछि परी र अब्दुल्लाहको भेट भएको क्षणलाई लेखकले अझ सानदार तरकिाले प्रस्तुत भने गर्न सक्थे। खास गरी परीसँग भेट भइसकेपछिका घटना उनकै मुखबाट वा अब्दुल्लाहमार्फत वाचन गराउन सकेका भए, त्यो अझ सशक्त हुन सक्थ्यो।


Tuesday, July 9, 2013

कथा

घडीले बिहानको ६ बजाउँदा नै लल्लुले स्वास्नीलाई होटलबाट पिकअप गर्न हतारिन्छ । जुरुक्क उठ्छ । र्‍याल लतपतिएको अनुहार नाडीले सर्लक्क पुछ्छ । एक मुठी पानीले अनुहार र कपाल भिजाउँछ । ऐना हेर्छ । मिथ्थुनजस्तो देखिएँ कि देखिइनँ जान्न खोजेको हुँदो हो ! बरण्डामा राखेको नयाँ साइकल हतारिंदै झिक्छ । साइकल नयाँ छ नि, त्यसैले धुलो पुछेर टल्काउन भुल्दैन । अनि बाटाभरि अनेक सोंच्दै स्वास्नी लिन ‘बिन्दास लज’ पुग्छ । हप्ताको तीन वा चार दिन लल्लुले गर्ने चर्या हो यो ।

लज नजिकैको ‘बम्मै साइकल हस्पिटल’ मा थाकेको आफ्नै शरीर जबरजस्ती बोकेर सीताले कुरीरहेकी छ । परैबाट लल्लुले बजाएको सुसेली सुन्छे उसले । अनि गह्रुङ्गो भएको आफ्नो जिउलाई पैतालाको सहारामा छोडेर उभिन्छे । पाकेका केरा जस्ता पहेँला दाँत देखाएर लल्लु हाँस्छ । अनि ओठ चुच्च्याएर साइकलको क्यारिअरतिर इसारा गर्छ । सीताले दुवै खुट्टा एकापट्टी राखेर साइकल क्यारिअरमा आफ्ना पुठ्ठा राखिदिन्छे । नयाँ साइकल चुइँ–चुइँ गर्दै कुद्‍न थाल्छ । लल्लुले साइकल बेतोड कुदाउँदैन, किनकि उसमा एउटा उत्सुकता हुन्छ । उसलाई लिन आउँदा आफ्नो पोइले गर्ने पहिलो प्रश्न कुन हो सीतालाई थाहा छ ।

Source: forum.santabanta.com

“हिजो शुक्रबार ! ए बुढी कति आम्दानी भो त ?” कुन्नी कुन हिन्दी गीतको धुन सुसेल्दै लल्लुले साइकलको प्याडल खुब रहरलाग्दो तरिकाले घुमाउँदै सोध्छ । 

बाटामा भेटिएका मान्छेहरूलाई ‘राम राम हजुर !’ भन्न छुटाउँदैन ।

गुलाफी कलरको सारी लगाएकी स्वास्नीको मलिन अनुहारमा बिहानको उराठलाग्दो घाम ठोक्किएको छ । लल्लुको ढाडमा टाउको अड्याएर बसेकी सीता आज निश्लोट थाकेकी छ । त्यसैले बोल्ने जाँगर पनि छैन उसमा, जति आम्दानीबारे जान्ने जाँगर लल्लुमा थियो ।

“आज बहुत् खटिस् के रे बुढीया ?” गालामा चिमोटिदिन्छ लल्लुले ।

कालो नङपालीस पोतेको लामो नङले पोइको कम्मरमा घोचिदिन सीतालाई पनि मन लागेको थियो । तर उसँग जाँगर भए पो !

“पैँतालिस सौ !”

मलिन स्वरमा उत्तर दिन्छे उसले ।

कमाउन आउँदाका दिन उस्तै उस्तै आउने संख्यात्मक उत्तर आज भने चीनको अर्थतन्त्रजस्तै सर्लक्कै उकालो लागेको थियो !

साइकल झ्याप्प रोकेर बुढीलाई हेरेर हाँस्छ ।

“उम्ममममममम......!!!!” हिस्सि परेकी स्वास्नीको गालामा म्वाइ खाइदिन्छ, “कट्रिनाजस्ती मेरी बुढीया ! कमालै गरिस् रे ! अनि कस्तो मान्छे आएको थियो आज ?”

“तीनजना थिए, विद्यार्थीजस्ता देखिने ।” लामो हाइ काढ्दै निद्रालु आवाजमा सीताले उत्तर फर्काउँछे ।

परबाट एलडिओ साब लखरलखर हिंड्दै आइरहेको देखेर लल्लु टाढैबाट, चिच्याउँछ, “सर ! जय राम जि कि !” 

अनि नजिकै पुगेर साइकल घ्याच्च रोक्छ । सीता लल्लुतिर हुत्तिन्छे, उसका छाती लल्लुका ढाडतिर स्वात्तै बढ्छन्...

Source: tumblr.com

(लेख्दै गरेको उपन्यासको छोटो अंश...)