-सिपी अर्याल
अचेल बिसञ्चोले बढीनै चिथोर्न थालेको छ मेरी हजुरआमालाई । फोनमा नियमित बोलिरहन्छु । आँखा रसाउँछन् । रसाएर धमिलिएका मेरा आँखा उमेरले धमिल्याएर जालो लागेका हजुरआमाका आँखाले छर्लङ्ग देख्छन् । वेभले उहाँको कानसम्म मेरो आवाज पुर्याउन सक्दैन । त्यसैले एकतर्फि कुराकानी हुन्छ, उहाँ बोल्ने मैले चुपचाप सुन्ने । घर जान मन लाग्छ, एउटा युग बाँचेकी उहाँलाई सुनिरहन मन लाग्छ । चौरासी पूजा गरेपछि मान्छे पनि देउता हुन्छन् अरे । छिमेकहरू भन्छन्, “हजुरआमा पनि देउता हुनुभयो, मान्छेहरू माझकी भगवती हुनुभयो ।” देउता हुन्छन्/हुँदैनन् संसार ढुक्क छैन । मेरा लागि कम्तिमा तपार्इँ हुनुहुन्छ, त्यसैले म ढुक्क छु । यसकारण तपार्इँ देउता होइन हजुरआमा नै हुनुपर्छ ।
मेरी हजुरआमा |
पढाइ र कामका अनेक टन्टा छन् यहाँ । घर गइरहन पाउँदिन । वेभले नसुनाएको मेरो आवाज उहाँ आफैं सुनेर भन्नुहुन्छ, “तँ राम्ररी पढ्, काम अर् । आत्तिएर घर नआइज । मेरो पिर पनि नअर् । तेरा बा/आमाले नम्मरी स्याहार अर्चन् । फालफूलको रस ख्वाम्चन् ।” उहाँले रुचाउने खान्की, मिश्री लगिदिएको थिएँ । सकिएछ । भन्नुभयो, “तैँले ल्याइदेको मिश्री भ्याइयो । गुलियो मिश्री नातीको कमाइको हुँदा झन् गुलियो मानेर खाएँ !”
“बिहा अर् !” मलाई जिस्क्याउनुहुन्छ, “स्वास्नी ले । तँलाई चट्ट पारेर केम्पस पठाम्चे । मीठो ख्वाम्चे । मोया अर्चे । जे जात भएनी केइ हुन्न । तेरा बा/आमाले नमाने म फकाम्चु ।” सुन्छु अनि मुसुमुसु हाँस्छु । फेरि भन्नुहुन्छ, "हुन्त पढेर ठूलो मुन्छे हो पैला अनि ल्याउलास् स्वास्नी । अक्षरको डाक्टर हुनपर्च तँ ।" अक्षर नचिनेकी उहाँले कसरी थाहा पाउनुभयो होला मान्छेहरु 'अक्षरका डाक्टर' पनि हुन्छन् भनेर !
मेरो हृदयमा तपाईँको आवाजको बेजोड झंकार छ ! नमन तपाईँलाई !
मेरो हृदयमा तपाईँको आवाजको बेजोड झंकार छ ! नमन तपाईँलाई !