Thursday, October 29, 2015

लिफ्ट चाहिन्छ ?

संविधानसभाबाट संविधान बनिसकेपछि देश अघोषित नाकाबन्दीको संकटमा फस्दा आफू पनि सक्दो सहयोगी हुने प्रयासमा थिएँ । त्यहीअनुसार काममा आउँदा-जाँदा आफू चढिहिँडेको मोटरसाइकलमा मानिसहरूलाई लिफ्ट दिन्थेँ । एकदिन, बानेश्वर चोकको बसस्टप अघि मानिसको हुल भएनिर पुगेर चिच्याएँ, “बल्खु जाने कोही भए आउनुस् ।” मानिसहरू हुरुरु आए । मचाहिँ तीमध्ये अलि वृद्द र असक्तलाई रोजेर सँगै लिएर गएँ । त्यसैदिन, फर्किने बेला पनि बल्खु चोकको बसस्टेन्डनिर एकजना ६०/६५ वर्षकी वृद्दा उभिएकी देखेर उनीनजिकै गइ रोकेँ । र, भनेँ, “आमा कहाँ जानुहुन्छ ? बानेश्वर जाने भए म पुर्याइदिन्छु ।”

बाब्बानी हो !

महिला त मलाई लुछौँला झैँ गरी पड्किइन्, “जाँ गए पनि तँलाई के मतलब ! म बसै चढेर जान्छु ।”


म आत्तिएँ । उनले मलाई नराम्रो मानिछन् । चोरको झैँ गेटअपमा त थिइनँ । तरपनि के सोचिन् थाहा छैन ।

“महिला भनेर बडो हेप्न खोज्दो रैछ ।” उनी फेरि बम्किइन् ।

मचाहिँ “माफ पाउँ आमा !” भन्दै हिँडेँ । अल्लि पर पुगेर चिया पसलमा पसेँ । बुढीआमै कहाँ जाँदीरहिछन् हेर्न मन लागेर उतै हेरिरहेँ । देखेँ, टन्टलापुर घाममा बूढी २० मिनट उभिएपछि खचाखच नेपाल यातायात आयो हाँसझैँ ढल्कँदै । बूढी आमै त्यही बसतिर लम्किइन् । मचाहिँ मुस्कुराउँदै चिया सुर्काएँ ।

Sunday, October 19, 2014

अविरल बग्यो सुनकोशी...


–सिपी अर्याल (CP Aryal)

मध्यरातमा मान्छेहरू चिहिरिएको हल्लाखोरले ब्युँझायो । झ्यालबाट चिहाएँ । अन्धकार थियो । आँखा चिम्लँदा पनि अँध्यारो थियो, खोल्दा पनि अँध्यारो ! आवाज मात्रै सुनेँ । मुसलधारे पानी पनि परिरहेको रैछ । आत्तिएर दगुरिरहेका छन् मान्छे । किन दगुरेका होलान ! कहिल्यै केही नबोल्ने घरनजिकैको नदी आजचाहिँ फूल भल्युममा ‘स्वाँ !!!’ गरिरहेको छ । सर्पले झैँ ! दर्के झरी र नदीको डरलाग्दो आवाजले कानको जाली फुटाउन मात्रै बाँकी थियो । भोको राक्षस हामीलाई खान खोज्दै कराइरहेको छझैँ भयो ! यस्तो नमीठो ध्वनीमा यो नदी, ती मानिस र मुसलधारे वर्षा मध्यरातमै किन यस्तरी हल्लाखोर गरिरहेका छन् ! थाहा पाइनँ ।

“भागओ है भागओ ! पैरो आयो !” घरबाहिर चिच्याइरहेको यो धोद्रो स्वर त मेरो कोही साथीको हो झैँ लाग्यो !
“पैरोले मार्‍यो ! गुहार ! !” अशोक रैछ चिच्याउने । स्वर धोद्रो थियो ।

“पैरो आयो ! गुहार गुहार !” अरू मान्छे पनि चिच्याइरहेको सुनिन्थ्यो ।

झन्‌पछि झन् मान्छे चिहिरिएको आवाजलाई नदी सुसाएको आवाजले जित्न थाल्यो । पक्कै पनि पहिरो जान थालिसक्यो होला । पृथ्वी थर्किने गरी आवाज आइरहेको छ । सिंगो पहाडै नदीमा खस्न थालेछ कि क्या हो ! घरहरू बगाउन थालिसके छ कि क्या हो !

“लौ मरिने भैयो !” एक्लै फुस्फुसाएँ । छटपटी भयो । तिर्खा लाग्यो । कोठामा पानी खोजेँ । भेटिनँ । तिर्खा झन् बढ्यो ।

“ए भाइ उठ् न !” छेउमै मस्त सुतेको भाइलाई बोलाएँ । ऊ सुतिरहेको भएपनि छटपटाइरहेको जस्तो देखिन्थ्यो ।

“हुँ !” यति मात्रै भन्यो । उसको जिउ हल्लाउँदा थाहा पाएँ, पसिनाले निथ्रुक्कै भिजेको रहेछ । डरलाग्दो सपना देखिरहेको हुँदो हो । चिम्म गरेका आँखाका नानी हल्लीरहेका थिए । निधारमा गाँठा परेका थिए । केही बोल्न खोजेझैँ लाग्थ्यो, ओठ चल्मलाइरहेका थिए उसका ।

“बाहिर जाम् !” भनेँ, “हेर्त मान्छेहरू किन होला रुँदै दगुरेका !”

“हुँ ! नाइँ के !” तन्द्रामै भएको उसको भुँडीमा समाएर हल्लाएँ ।

“बाहिर मान्छे रोका छन्, हेर्न जाम् के !” फेरि भनेँ ।

“हुँ! ” भन्यो, र जुरुक्कै उठ्यो । आँखा राता थिए ।

आफ्नै कपाल कुइयाउँदै बडबडाउन थाल्यो, “ती मान्छेसँग म जान्नँ । मलाई डर लायो । बुवा आमा, बैनी खै ! बोला ! चाँडो बोला !” यति भनेर ऊ पुर्लुङ्ङै बेडमा सुत्यो फेरि ।

“बैनीलाई बोक् !” ऊ निद्रामै बडबडाइरह्यो ।

Sunday, July 27, 2014

विम्बको क्षेप्यास्त्र

सिपी अर्याल (CP Aryal) 

यो,
समयको लिंग
जतिचोटी स्खलित भए पनि
उत्तेजितको उत्तेजित रहन्छ (घण्टाघर)

धुँवाको पनि कस्तो धागो होला ? मनमनै प्रश्न जन्मिएको थियो, माथि उल्लेखित कविता भएको पुस्तक ‘धुँवाको धागो’ देख्दा । उत्सुकतासाथ पाना पल्टाउँदै जाँदा ३८ औँ पेजमा टक्क रोकिएँ । देखियो घण्टाघर शिर्षकको चार लाइनको कविता । यो एउटै कविता पढिसकेपछि मष्तिष्क भारी भएझैँ लाग्यो । कविताले मेरो मष्तिष्कमा प्रहार गरेको क्षेप्यास्त्रले भारी बनाएको थियो आफैलाई ! कविताको शक्ति यहिँनिर हुन्छ । प्रयोग हुने विम्बको क्षेप्यास्त्रले सिधै मष्तिष्कमा प्रहार गरेका कविता वास्तवमै शक्तिशाली हुन्छन् । पूरै कविता पढिसक्दा धुवाँको धागोको किरिङमिरिङ स्केच आँखा अगाडि आइसकेको थियो ।

मेडिकल डाक्टर हुनुको यथार्थ र गजलकार हुनुको लेखकीय स्केचबाट कविताको संसारमा पहिलोपल्ट हाम फालेका कवि निरज भट्टराईको यो संग्रह समग्रमा राम्रो छ । कविता जस्तो संवेदनशील विधामा जोशीला प्रतिभाशाली कविहरूको समूहमा निरजको प्रवेश उज्यालो देखिन्छ ।

किताबमा समेटिएका ४५ थान कविता सबै उत्कृष्ट छैनन् । सबै औषत पनि छैनन् । केही उत्कृष्ट छन् । केही औषत छन् । केही कविताचाहिँ कविता हुन खोज्दा खोज्दै कविता हुन सकेका छैनन् । ‘अकविता’ भएका छन् ।

बेग्लाबेग्लै सारमा लेखिएका छन् कविता । हजुरबा÷हजुरआमासँग बिताएको बाल्यकालको नोष्टाल्जियादेखि, एक्लो प्रेमीको गुनगुन, परदेशीको पिडा, आदि कुराहरू अटेका छन् । हरेकजसो कवितामा कविको फरक फरक अस्तित्व छ । एउटै कवितामा उनले टुटेको प्रेम, गरीबी र राष्ट्रियताको भाव समेट्न सकेका छन् । कहिले कवि उहिल्यैदेखि राखिएको शालिकको÷दाँतमा किरा लागेको देख्न भ्याउँछन् त कहिले भुरुङ खेलिरहेको बच्चाहरूलाई ईश्वर र भुरुङलाई मानिसको उपमा दिँदै भन्छन् 

ईश्वरलाई पनि भुरुङ खेल्न औधी मनपर्छ
ऊ नालले बेरेर फुत्त फालिदिन्छ मान्छेलाई दुनियाँमा
र ताली बजाई रहन्छ मान्छेको नाचमा...

कविताको कुनै पात्रको अनौठो शोख छ । ऊ आकाशतर्फ हेर्दै मुखमा फुत्तफुत्त बदामको गेडा हुल्न प्रयासरत देखिन्छ । ऊ शत्प्रतशित सफल हुँदैन त्यसमा । बदामका केही गेडा मुखभित्र पस्छन् त केही जमिनमा खसेर बिलाउँछन् । जिन्दगीका शोख र पूरा गर्न न÷सकिएका कथालाई विम्बात्मक रूपमा मज्जाले उधिन्न सकेको छ यो कविताले । हरेक कुरालाई फरक दृष्टिले हेर्दै पट्यारलाग्दो दैनिकीलाई पनि आनन्दित बनाउने सुझाव जवाफ कविताले दिन्छ 

सधैँ सधैँ व्यस्त रहने
चिया पसलको गिलासलाई सोधेँ
‘यार तिमीलाई दूध, चियापत्ती र चिनीको
स्वादले वाक्क लाग्दैन ?’
फिस्स हाँसेर उसले भन्यो–
‘सर, हरेक ओठको स्वाद फरक हुन्छ ।’

कवितामा झाँक्रिको कथा पनि छ जसले भाउँतो–भाउँतो किसिमका रोग निको पार्ने ठेक्का लिएर बसेको छ । तर, अन्तिममा उसैलाई पखालाले डस्छ । यस कवितामा अन्धविश्वास र विज्ञानको विम्ब प्रयोग गरिएको छ ।


Saturday, May 10, 2014

धुलोमुनिको फाइल

सिपी अर्याल (CP Aryal)

अहिले

वि.सं. २०८७ बैशाख ।

बुदहीको जिन्दगीको बायोडाटामा एउटा वाक्य थपियो– पशुपति प्रताप पुस्तकालयको पियन । त्यही पियनको जागिर उसको लागि भयंकर ठूलो उपलब्धि हो । त्यसैले बिहानैदेखि अनुहारमा अस्थिर र बेचैन भाव थियो । यस्तो छटपटी बुदहीले पहिले कहिल्यै भोगेन पनि ।

निमको दतिवनले दाँत माझ्न आँगनछेउ टुक्रुक्क बस्यो । आफूछेऊको सानो अम्खोरामा राखेको पानीले मुख कुल्ला गर्‍यो । पल्लोपट्टि तीनओटा खटियामा भैया, अम्मा र अब्बा लम्पसार थिए ।
तराईको असह्य गर्मी छल्न आँगनमा खटिया बिछ्याएर, झुल टाँगेर सुत्छन् उनीहरू । यो रित यसैगरी चल्दै आएको छ, सदियौंदेखि ।

दाँत माझ्दा एफएम रेडियो बजायो । एउटी केटी राशिफल भन्दै थिई । पालो कुम्भ राशिको थियो । संयोगले ऊ पनि कुम्भ ।

“कुम्भ राशी हुनेहरूले आज नयाँ रहस्य थाहा पाउने योग छ ।”

उसलाई राशिमा विश्वास छैन । आज भाग्योदयको योग छ भनेको दिन उसको भाग्य कहिल्यै चम्किएको छैन ।

“माकी आँख !” निधारमा धर्सा कोर्दै ऊ फुसफुसायो, “मनइकए उल्लू बनावथी !”

“बहुत बड्बड् करथी लवन्डी ।” एफएमकी केटीले निद्रा बिथोलेको झोँकमा उसको भैया खाटबाट जुरुक्क उठेर च्याँट्ठियो, “बन्द कैदे रेडियो ।”

रेडियो बन्द गर्‍यो । भैया घुर्‍यो निमेषमै ।

बिहानदेखि बेचैन मन कतै लगेर बिसाउन पाए ऊ रम्थ्यो पनि होला ।

अम्माले पकाएको भात साढे आठ बजे नै खाइसकेर तयार भयो । छोरोले जागिर खान जान लागेको पहिलो दिन, अब्बा र अम्मा खुसीले डम्म फुलेका थिए ।

भोलिपल्ट अफिस जाँदा लगाउने सर्ट र पाइन्टलाई ‘धारिलो’ बनाउन हिजै राति पट्याएर डसनामुनि राखेको थियो उसले । नीलो पाइन्ट र सेतो सर्टमा जताततै ‘धार’ बस्यो ।

खुसी हुँदै कपडा लगायो । अनि अब्बाको थोत्रो एवन साइकलमा हुइँकियो बतासझैं । ऊ पर पुगुन्जेल अब्बा र अम्माले आँखा चिम्म पनि गरेनन् । धुलोको मुस्लोले उसलाई ओझेल पारुन्जेल हेरिरहे । एसएलसी पास गरेपछि उसले जागिर पाउँदा परिवारका सबैलाई नागमणि पाएझैँ भएको छ । गरिबलाई त्यही जागिर त हो नागमणि !

एउटै रफ्तारमा कुदाइरह्यो साइकल । घरिघरि एफएमकी केटीको आवाजको बतासले छोएर जान्थ्यो । केटी कानमा आएर फुस्फुसाएझैँ लाग्थ्यो, “कुम्भ राशि हुनेहरूले आज नयाँ रहस्य थाहा पाउने योग छ... ।”