Thursday, April 24, 2014

मोदी–मेनिया

सिपी अर्याल (CP Aryal)

नरेन्द दामोदरदास मोदीको जीवन–स्केचमा उनको परिश्रम र कलंकको धब्बाको कोलाज छ । प्रधानमन्त्रीको रेसमा भिडिरहेको उनको रंगीन पृष्ठभूमिसँग श्यामश्वेत विगत् पनि गाँसिएको छ । उनको (कु)ख्यातीको कारण आम जनता र संचारमाध्यममा मोदी–मेनिया छ । भारतीय राजनीतिक इतिहासमा मोदीजस्ता चतुर, विवादित र चर्चित अर्का राजनीतिज्ञ छैनन् ।

मसालेदार बलिउड सिनेमा भन्दा कुनै एङ्गलबाट कम नदेखिने भारतीय राजनीति जारी निर्वाचनको यो माहौलमा त पूरै फिल्मी देखिन्छ । यसपाली चुनावमा भाजपाको तर्फबाट प्रधानमन्त्रीको प्रत्यासी भएर लडेका मोदीको उपस्थितिले चुनावलाई मसालेदार बनाएको हो । भारतको अत्यन्त तल्लो वर्गको जनसांख्यिक प्रतिनिधित्व गर्ने मोदीलाई ‘चायवाला’ पनि भनेर चिनिन्छ । किनकि, उनी कुनैबेला भारतकै रेल्वे स्टेसनमा चिया बेच्थे । अर्कोतर्फ, ‘प्रिन्स’ राहुल गान्धी छन् जसले आफ्नो कुलको ‘डाइनेस्टी पोलिटिक्स’ कायम राख्न कंग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार भएर मोदीसँगै भिडिरहेका छन् । मोदीले भारत स्वतन्त्र भएयताको ‘नेहरु–गान्धी डाइनेस्टी’को राजनीतिलाई अन्त्य गर्न चाहन्छन् भने राहुलले चाहिँ त्यसलाई निरन्तरता दिन । रेसमा केजरीवाल पनि छन्, जो केही हप्ता यता मोदीको प्रचारशैलीको कारण छायामा परेझैँ देखिन्छन् । पल्ला भारी कसको होला त्यो कुर्न केही हप्ता पर्खनुपर्ने हुन्छ !
त्यतिबेला उनको मनभित्र केके हुन्डरी मच्चिरहेको थियो । १२/१४ वर्षको हुँदा एकदिन बाआमालाई आफूलाई जोगी बन्न मन लागेको बताए । छोराको कुराले बाआमा तर्सिए । किनभने, मोदी सानै हुँदा एउटा जोगीले उनलाई हेर्दै उनी कि जोगी हुने कि राजनीतिज्ञ हुने बताएका थिए ।

“हिमालयतिर घुम्न जान्छु” बाआमासँग मोदीले साह्रै करकर गरे ।

“जा त नि !” बाआमाले पनि भन्दिए ।


Thursday, April 17, 2014

कर्नालीको कथा

-सिपी अर्याल (CP Aryal)

माओवादी विद्रोहले के के कुरा दिएर गयो? के के कुरा नदिएरै गयो? कतिको सपना तुइन चुँडिएर झ्वाम्म कर्नालीमा बगेझैँ सुलुलु बगाएर लग्यो? अनि, कतिको विपना पूरा गर्‍यो? यसको यकिन लेखाजोखा सायद कोहीसँग छैन। द्वन्द्वको घाउ र त्यसले निम्त्याएको पीडाको लेखाजोखा भने भइरहेकै छ, साहित्यमार्फत। त्यही द्वन्द्वको सेरोफेरोमा बुनिएको कथा हो, तुइन।

सशस्त्र युद्धको दुःख र मालतीसँगको प्रेमको सुखबीच हुर्किरहेको भूमिराजको कथा छ, तुइनमा। आफू बाँचेका सम्पूर्ण परदिृश्यलाई उत्कृष्ट ढंग र इमानसाथ बयान गर्दै भूमिराजले युद्धग्रस्त र भोको जुम्लाको गीत गाइरहन्छ। ऊ एउटा दुःखी पात्र हो। दुःखहरूबाट ओझेलिन ऊ निरन्तर यात्रा गररिहन्छ, बन्दुकबाट जोगिन यायावरझैँ कताकता घुमिरहन्छ। यद्यपि, उसले बाँचेको जीवन सधैँसधैँ 'आइरोनिक' साबित हुन्छ। ऊ दुःख, पीडा, भोक र बन्दुकको छायाँबाट टाढिन निरन्तर हिँडिरहन्छ तर तिनै कुराले उसलाई पछ्याइरहन्छन्। भन्छ, 'म जुन अँध्यारो चिर्न हिँडेको थिएँ, आज त्यही अँध्यारोले मलाई चिरेको छ, चिराचिरा पारेर। कर्नालीमाथिको आकाशमा बारुदको बादल लागेर आँसु र रगतको झरी पार्न थालेपछि भागेको थिएँ, भाउजूलाई एक्लाएर।'


कुनै पनि पात्रले सजिलो मृत्यु मर्न पाएका छैनन्। न त जिउन नै पाएका छन्। भूमिराजकी भाउजू, आमा, बा, दिदी र केही साथीहरू सबै सबै जुम्ली हुनुको सकसमा छन्। कर्नाली नदीमाथि झुन्डिएको तुइनले जुम्लीको सपना र विपना हाडखोर नभेटिने गरी सर्लक्कै बगाएर लैजान्छ। तुइन भनेको त सेतु हो, जसले सम्बन्धहरूलाई, किनारहरूलाई जोड्ने मात्र काम जानेको हुन्छ। तर, कर्नालीको तुइनले त्यही एउटा काम कहिल्यै गर्न जान्दैन। सम्बन्धहरूलाई, दुःखी मानिसहरूले देखेको सपनालाई चुँडाउँछ मात्रै। जोड्दै जोड्दैन। लाग्छ, कर्नालीको तुइन एउटा भोको अजिंगर हो !

उपन्यासको वर्णनात्मक भाषा सशक्त छ। यद्यपि, पात्रहरूबीच जुम्ली भाषिकामार्फत हुने संवाद सबैतिर सजिलै बुझ्न सकिने खालका छैनन्। पुस्तकमा प्रयुक्त जुम्ली भाषिकाका केही शब्दका अर्थ अन्तिम पृष्ठमा खुलाइएका छन् तर ती पर्याप्त छैनन्। अझ धेरै शब्दावलीहरू खुलाइएको हुनुपथ्र्यो। त्यसले संवादको अर्थ थाहा पाउन सजिलो बनाउँथ्यो। जनताको सेवामा जुम्लामा खटिएका कर्मचारीहरूको बदमासी पढ्दा पाठकहरू धुरुक्कै हुन्छन्।