Saturday, October 5, 2013

दसैँछेकको घाम

–सिपी अर्याल (CP Aryal)

बिहानै झ्यालबाट बेपर्वाह छिरेका घामका किरणले बिउँझाउँछन् । त्यो घामले पोल्दैन, बरु शितल अनुभूति हुन्छ । हतार हतार उठेर कामको लागि हिँड्न थाल्छु । बाटाभरि मानिसहरूको लस्कर देखिन्छ लाहुरबाट फर्किरहेका योद्धा झैँ बाटोमा हिँडिरहेका देखिन्छन् मानिसहरू । गह्रुङ्गो झोला भिरेका छन्, सबैजसोले । एकै पाइलामा घर पुग्लान् कि झैँ लाग्ने लामा–लामा पाइला चालीरहेका छन् । केहीले मलाई प्रश्न गर्छन् ।

“घर कहिले जाने हो साथी दशैँ आयो त !” प्रश्नले एकाएक झस्काउँछ मलाई ।

नबिझाउने गरी कोठामा अचेल सुटुक्क छिर्न थालेको मध्य असोजको घाम, काठमाण्डु खाल्डोबाट त्यसरी हिँडिरहेका मानिसको लाम अनि मप्रति सोझिएका प्रश्नले बल्ल मलाई झस्काउँछन्, दशैँ आएछ ।


                                           +++
“बुकिङ नखुल्दै बसको टिकट सकियो ।”

पत्रिकामा छ्याप्छ्याप्ती देखिन्छन् अक्षरहरू, बोल्ड लेटरमा । यी पत्रिकाहरू मानिसहरूले पाएको दुख्खको खबर छाप्न तँछाड–मछाड गर्छन् । त्यही दुख्ख धेरै बिक्छ पनि अचेल । अर्काले पाएको दुख्खबारे सकेसम्म बढी जानकारी राख्न पाठकहरू पनि उस्तै रुचि राख्छन् । दुख्खहरूलाई यी पत्रिकाले बिक्ने सामग्रीको ‘टप लिस्ट’मा राख्ने गरेका छन् । अचेल दुख्खहरू ‘कमर्सियलाइज्ड’ भइसके !

चोकमा एउटी बुढी आमाले बेचिरहेको पत्रिकाका खबर–शिर्षक सर्सर्ती हेर्छु । अक्षर नचिनेकी ती बूढी आमा मेरो अनुहारमा हेरेर मुस्कुराउँछिन् । म चाहिँ पत्रिकाको खबर शिर्षक पढेर । दशैँले यति साह्रो गाँजिसकेछ सहरलाई, म कता बेहोस् थिएँ हँ ? सहरले सबैलाई बेहोसीको फन्दामा पार्छ, मानिस आफैलाई बिर्सेर कहिँकतै मस्त भइरहन्छ यो काठमान्डुमा । दशैँले मलाई जस्तै धेरैलाई बेहोसीबाट होसमा ल्याउँछ । त्यसकारण, सहरका बेहोसीहरूलाई एकमुष्ट बिउँझाउँन पनि दशैँहरू आइरहून् ।

गोजिको फोन भाइब्रेट हुन्छ । घरको फोन रहेछ ।

“टिकट नपाइने भयो क्या हो ?” मसिनो आवाजमा मम्मी बोल्नुहुन्छ ।

उहाँको सोधाइको आसय थियो, “चाँडो घर आइज ।”

टिभीमा समाचार सुन्नुभयो, सायद । बुकिङ सुरु हुनु अगाडि बसको टिकट सकिएको ।

“दशैँमा घर आउन यो नाथे टिकट चाहिँदैन क्या ।” म भन्छु, “झुन्डिएर भएनि आइन्छ नि ।”

यो सहरमा अचेल टिकटकै चर्चा छ, एउटा चुनावको टिकट, अर्को दशैँमा घर जान बसको टिकट । मानिसहरू तँछाड मछाड गर्दैछन्, दुवैथरी टिकट आफ्नो कब्जामा पार्न । चुनावी टिकटको कुनै मतलब भएन मलाई । अब त बसको टिकटको पनि फिक्री भएन, सकिइसक्यो रे त !

                                +++   

घर हिँडेका यात्रीहरूलाई कुइनाले घुच्याउँदै, आफूले पनि अरूको कुइनाको घुच्याइ खाँदै प्रत्येक सालझैँ यो साल पनि घर पुग्नेछु । लखतरान भएर । सिधै हजुरआमाको कोठामा पस्नेछु । झोला त्यहीँ बिसाउनेछु । निदाइरहेको बुढो शरीरलाई एक छिन वाल्ल परेर हेर्नेछु । हजुरआमाको अनुहारमा प्रत्येक साल दर्जनौँ चाउरी थपिएको देख्छु । अनुहारको रङ बदलिइरहन्छ, प्रत्येक साल । अनुहारमा देखिने उमेरका इन्द्रेणीहरूले गहिरो अर्थ राख्छन् ।

“हजुरी !!” उहाँलाई बोलाउँछु, गालाका चाउरीहरू सुम्सुम्याउँदै, “म आएँ ।”

मैले हजुरआमालाई सानैदेखि हजुरी भन्थेँ, प्रेमले । ठूलो हुँदा पनि भनिरहेछु किनकि उहाँप्रति मेरो प्रेम कहिल्यै कमजोर हुँदैन । मेरो आवाज सुनेर उहाँ मुस्कुराउनुहुनेछ । मलाई केही वर्ष यता उहाँले आवाजले चिन्न थाल्नुभएको छ । आँखाले चिन्न छाडे । मेरो आवाज हजुरआमाको लागि दृश्य हो । यसले पनि मलाई चिन्न छाडे के गर्नुहुन्छ होला ! थाहा छैन ।

“ए, दशैँ आयो बाबु ? तँ आइछस् ।” छामछुम पार्नुहुन्छ वरिपरि, चाउरीएका फुस्रा हात मेरा अनुहारमा सलबलाउँछन्, “सन्चै आइस् ?”

म आउनु हजुरआमाको लागि दशैँ आउनु हो । उमेरका ९० ओटा कठिन देउरालीहरू चढिसक्नुभएकी हजुरआमालाई अब दशैँको लागि खुसी हुने कारण अरू केही छैनन् जस्तो लाग्छ ।

“त्यति टाढाबाट आयो नाती ।” हो उहाँले मसँग घरबाट काठमान्डुसम्मको दुरीको कुरा गर्नुहुन्छ, म अर्को दुरी बुझ्छु, “नाती टाढियो” भन्ने । निद्राले लटपटिएको आवाज हो कि उहाँको बोली तोते भएका हुन् एकछिन् ठम्याउन सक्दिन । उहाँका सेता खुट्टामा मेरो निधार लगेर जोड्नेछु । युग बोकि हिँडेका ती खुट्टा एकछिन् सुम्सुम्याउनेछु ।

“नाम कमाएस् ।” उहाँको आशिष र मेरो रुचि कस्तो मिलेका ।

मलाई तान्दै हजुरआमाले उहाँको अँगालोमा बेर्न खोज्नुहुनेछ । म अटाउनेछैन उहाँको अँगालोमा । हजुराआमा आफैलाई पनि अनुभूति हुनेछ ।

“ठूलो भएछस् । पैला मेरा हत्केलाँ अटाउँथिस् ।” म हजुरआमाको हत्केलामा अटेको सम्झना त छैन, तर उहाँले भनेको केही पनि कुरामा अविश्वास लाग्दैन ।

“के छ त तेता खबर ?” उहाँले काठमान्डुको खबर सोध्नुहुन्छ ।

के बताउँ उहाँलाई ? अनि के नबताउँ ?

रत्नपार्कको आकाशे पूलमाथि निष्लोट सुतेर “भोक लायो बा हो!!!” भन्दै रोइरहेको फुच्चेलाई काठमान्डुले मार्न आँट्यो हजुरआमा भनेर बताउँ ? एमए सकेपछि जागिर नपाएर विरक्तीएको साथीको बिजोग बताउँ ? एसएलसीको रिजल्टमा फेल भएपछि झुन्डिएर मरेकी विद्यार्थीको खबर छाप्ने अखबारका प्राथमिकतामा पर्ने खबर बताउँ ? अचेल काठमान्डु विश्वयुद्धपछि ध्वस्त भएको देशझैँ भताभुङ्ग छ, भनेर बताउँ ? ठमेल र सुन्धाराका गेष्ट हाउसका पहरेदार युवतीहरूको आँखामा देखिने उदेकलाग्दो भोकबारे बताउँ ? कि घण्टाघरले अचेल बेठीक समय बताउन थालेको खबर सुनाउँ ?

के सुनाउँ उहाँलाई म ? एकछिन् वाल्ल पर्नेछु म । मलाई देखेर मुस्कुराएझैँ देखिने जमरा देख्नेछु पल्लो कुनामा । हर्लक्क बढिसकेका । मेरो कानमाथिको शोभा बन्न पाउने आस गरेका ।

सप्रिएर हलक्क बढेका जमरातिर मैले हेरेर टोलाइरहेको बुझेपछि हजुरआमाले भन्नुहुनेछ, “तँ पनि ती जमरा झैँ सप्रिएस् बाबु ।” थाहा छैन, मेरो मष्तिष्कमा कब्जा जमाएर बसेको सपनालाई हजुरआमाले कसरी देख्न सक्नुहुन्छ । उमेरले धमिल्याएको उहाँको आँखाले मेरो मनको दृश्य स्पष्ट देख्न सक्छ । थाहा छैन अब मैले उहाँलाई आँखा कम देख्नुहुन्छ भन्नु हुन्छ कि हुँदैन ।

हजुरआमाले खुब रुचाउने गुँदपाकका केही पोका निकाल्ने छु । मिश्री र फलफूल पनि हातमा लिएर भन्नेछु, 

“हजुरी यो नातीको कमाइ ।”

भगवानको थानतिर इशारा गर्दै उहाँले भन्नुहुनेछ, “त्यहाँ राख्दे । तेरो कमाइ नि खान पाएँ । भाग्गेमानी रैछु परमेश्वर, नातीलाई सधैँ राम्रो होस् ।” हाँस्दै निस्कन्छु उहाँको कोठाबाट ।

                                                                                   +++   

बुवासँग गफिन मन लाग्छ । बाहिर बरण्डामा उहाँले हजरआमा र मबीचको वार्ता सुनिरहनुभएको हुनेछ । मुस्कुराउँदै गरेको देख्नेछु ।

“अचलको दशैँ बदलियो हेर् केटा ।” उहाँले मसँग गफ गर्ने मेसो गरेको थाहा पाउनेछु । छेउमै बस्नेछु गएर । बुवाको छेउमा बसेर उहाँको अनुहार चियाउने मौका पाउन दशैँ नै आउनु पर्छ अचेल !

“उतिबेला घरघरमा गएर दमैहरूले बाजा बजाउँथे ।” बुवाको ओठबाट वाक्य बनेर इतिहास फुत्त फुत्त खस्न थाल्छ ।

“हाम्रोमा पाठ गर्न सिक्न केटाहरू आउँथे । बाले सिकाउनुहुन्थ्यो ।” उतिबेलाका युवाबारे कुरा गर्नुहुन्छ बुवा ।
“दशैँमा नयाँ लुवा भनेको दौरा–सुर्वाल थियो । मेरा बा (तेरो हजुर्बा) नाम कमाएको पण्डित भकोले हाम्लाई दशैँमा लाउन–खान दुख्ख थिएन । घरमा दुर्गापाठ हुँदा मान्छेहरूले दही अनि रोटा लेर आउँथे । म टिका लाउन घर–घर जान्थेँ । पैसा बटुल्थेँ ।” भन्नुहुन्छ ।
पाएको पैसाले उहाँलाई बिँडी÷चुरोट किनेर खाने सौख रहेछ । त्यो पूरा हुन प्रायः दशैँ नै कुर्नुपर्ने । मान्छेहरूको केके सौख ! ती सौखहरू प्रायः दशैँले पूरा गरिदिँदा रहेछन् ।
टिकाको दिन प्रायः प्रत्येकवर्ष उस्तैउस्तै हुन्छ, आशिर्वाद उस्तै, खानपीन उस्तै, घरमा आउने पाहुनाहरू उस्तै । प्रायः थपिने कुरा भनेका हजुरआमा र बुवाका अनुहारका चाउरीहरू हुन् ।

हजुरआमाको उमेरको कारण उहाँबाट टिका थाप्ने पाहुनाहरूको सानोतिनो घुइँचो नै हुन्छ घरमा । सबैलाई उहाँले आवाजले चिन्नुहुन्छ । दृश्यले चिन्नुहुन्न । या भनौँ आवाज नै उहाँको लागि दृश्य हो । टिकाको दिनभरी म हजुरआमाको छेउमा बसेर गफ गरिरहन्छु, उहाँलाई सहयोग गर्छु । पाहुनाहरूलाई उहाँले टिका लगाइदिनुहुन्छ, दाहिने हातका चोर, बुढी र माझी औँलाले रातो अक्षता समाएर पाहुनाहरूको निधारतिर हात बढाउनुहुन्छ हजुरआमा । उहाँको हातको स्पर्ष पाउँदा पाहुनाहरू आँखा चिम्म गर्छन्, आनन्दले विभोर भएका हुँदाहुन्, सायद ।

“रोग नलागोस् । सुख्ख पाए ।” उहाँले प्रत्येकलाई दिने आशिष यही हो । मानिसहरू सुख्खै पाउन यो दौडधुप जो गरिरहेका छन् । हजुरआमाले बुझेरै दिनुहुन्छ आशिष ।

यसप्रकार, हेर्दाहेर्दै आँखाबाट ओझेल पर्छ प्रत्येक सालको दशैँ । असोजको पारिलो घाम सेलाउँदै जान्छ । घरवरिपरिका साथीहरू हिँड्न थाल्छन् । यसप्रकार, गाउँ रित्तिँदै जान्छ, सहर भरिँदै ।

अनि मेरो मनलाई पनि उही काठमान्डु फर्किने हतारोले गाँज्न थाल्छ । गुन्टा कसिरहँदा बुवाले भन्नुहुन्छ, “काठमान्डुमा त घर मात्रै फल्छ । चामल फल्दैन ।”

हो, बुवाले भनेझैँ काठमान्डुको मलिलो जग्गामा घर फल्छ । मानिसहरूले सपना फलाउने हरप्रयास गरिरहन्छन् । यहाँ चामल फल्दैन ।

(२०७० असोज १९ (घटस्थापना) शनिवार, नागरिक अक्षर )