Sunday, July 28, 2013

‘केन्द्र’ भत्काउने डेरिडा


–सिपी अर्याल/गोपीकेश आचार्य

“एउटा दार्शनिक जन्मन्छ, चिन्तन गर्छ र मर्छ ।” कसैले भोगेको जीवन समेट्दै लेखिने जीवनकथा लेखनमा ज्याक डेरिडालाई खास रुचि थिएन त्यसैले उनको इहलीलाबारे लेख्न खोज्नेलाई उनी भनिदिन्थे, “बाँकि कुरा आख्यान हुन् ।” उनकाअनुसार आत्मकथा बौद्धिक हुनुपर्छ जसमा एउटा दर्शन होस् । मानिसमाझ अलिअलि चिनिन थालेपछि उनले आफ्नोबारे कसैलाई केही बताउन चाहँदैनथे । आफ्नो फोटो पनि खिच्न मान्दैनथे । “मेराबारे के जान्न खोजेका ? म अल्जेरियाको यहुदी परिवारमा जन्मिएँ, विद्यालयबाट निकालिएँ...” उनको जीवनकथा लेख्न चाहने पत्रकारलाई झपारे एकपटक “यस्ता फाल्तु कुरा लेख्न पर्दैन, जाऊ आफ्नो काम गर ।” जीवनकथामा व्यक्तिगत जीवनभन्दा दर्शन हुनुपर्ने जिकिर उनको थियो ।

दर्शन, कला, सौन्दर्यशास्त्र, राजनीतिक सिद्धान्त, साहित्य, यौनमनोविज्ञान, धर्म अध्ययन, कुटनीति, नाट्य अध्ययन, वास्तु अध्ययन, पुरातत्व अध्ययन, कानुन, मानवअधिकार, भाषाविज्ञान, उत्तर औपनिवेशिक अध्ययनलगायत ज्ञानका हरेकजसो क्षेत्रमा काम लाग्ने विचार दिने डेरिडाको जीवनकथा लेखियो, अनेक लेखकका अनेक आँखाबाट । डेरिडाबारे लेखिएका थुप्रै जीवनकथा मध्येको एक बेनोइट पीटर्सले लेखेको, ‘डेरिडाः अ बायोग्राफी’ पुस्तक राम्रो मानिन्छ । लस एन्जलस रिभ्यु अफ बुक्समा कास सगाफीले यस पुस्तकलाई जीवनकथा लेखन शैलीको क्रममंग भन्दै प्रशंसा गरेका छन् ।

Monday, July 22, 2013

पात्रहरूको पाण्डुचित्र

-सिपी अर्याल (CP Aryal)

देउतामा विश्वास गर्ने हो भने यस जगत्‌का रचयिता देउता नै हुन्। अरूले यस्तो सुन्दर र त्रुटिरहित सृष्टि गर्नै सक्दैनन्, मानिसहरू त्यही भन्छन्। तर, लेखकहरू पनि अर्का देउता हुन्। सृष्टिकर्ता ब्रह्मा, जसले एउटा फरक ब्रह्माण्ड रचना गर्न सकेको विश्वास गरिन्छ। आफ्नो नयाँ कृति एन्ड द माउन्टेन्स इकोडमार्फत खालिद हुसैनी पनि नयाँ सृष्टिकर्ता साबित भएका छन्। यस कृतिमार्फत हुसैनीले गजब र सुन्दर सृष्टिको परकिल्पना गर्दै त्यसै अनुसार एउटा ब्रह्माण्डको रचना गरेका छन्। आफ्ना अघिल्ला दुई कृति द काइट रनर र अ थाउजेन्ड स्प्लेन्डिड सन्सपछि आफ्नो तेस्रो कृतिमा पनि उत्तिकै सफल छन् उनी, केही गुनासाका बाबजुद।

उपन्यासको प्रमुख कथा दाजुबहिनीको प्रेम हो। यो उनीहरूको मिलन-विछोडको आख्यान पनि हो। शदबाघ नामक अफगानिस्ताको काल्पनिक ठाउँको गरबि परविारबाट सुरु हुने कथा पृथ्वीको मस्त चक्कर लगाउँदै सकिन्छ। तर, त्यस काल्पनिक ठाउँको बेलीविस्तार र प्रस्तुतिमा वास्तविकताको मन्द गन्ध पनि आउँछ। आकर्षक कथावाचनका साथ सुरु भएको यस उपन्यासको राजमार्गमा गुडिरहँदा बीचबीचमा झल्याकझुलुक देखिने, छुट्टनिे र रुवाउने सबै उपकथाहरूमा बरोबर दमचाहिँ छैनन्। एउटा रोमाञ्चक आख्यानका सम्पूर्ण गुण भने छन्। लेखकले एउटा ठूलो क्यानभासमा पात्रहरूको रंगीन र श्यामश्वेत पाण्डुचित्र कोरेका छन्। त्यसमा पात्रले बोल्ने भाषा, लगाउने र खाने शैलीको स्पष्ट ध्वनि पनि प्रवाहित छ। तर, उपन्यास कहीँ बोझिलो लाग्छ र कहीँकतै अस्पष्ट पनि।

जिन्दगीको कुनै मोडमा पनि छुट्टिने कल्पनै नगरेका कलिला दाजुबहिनी चरम गरीबीका कारण अन्ततः छुट्टिनुपर्छ। छोरीको भविष्य उज्ज्वल होस्, उसले गरीबीको सामना गर्न नपरोस् भन्ने उद्देश्यका साथ सबुरले परी नामकी प्रिय छोरीलाई काबुलको सम्पन्न वाहदाती परिवारमा सुम्पन्छन्। त्यसपछि कथाको हुस्सु बाक्लिँदै जान्छ। छुट्टिएकी परी कहाँ जाली, के खाली, कस्तो जीवन बाँच्ली, अब्दुल्लाह र परीको भेट होला वा नहोला भन्ने उत्सुकताका साथ पाठकलाई हरप्रहर उपन्यासले उकुसमुकस पाररिहन्छ। त्यसबीचमा देखिने पात्रहरू, घटना र त्यसको अलौकिक वर्णनले कथाको लयलाई पक्रिरहन्छन्। अन्ततः साठी वर्षपछि दाजुबहिनीको भेट हुन्छ। अब्दुल्लाह र परीको भेट हुँदा पाठक पनि आनन्द र रोमाञ्चले विभोर हुन्छन्। सबथोक लगभग बिर्सिसकेकी बहिनी दाजुलाई देख्दा भक्कानिन्छिन्। भन्छिन्, "एउटा बिरामीले आफूलाई दुखेको ठाउँ कहाँनिर हो, ठ्याक्कै बताउन नसकेझैँ मेरो पीडा तिमीलाई बताउन सक्दिनँ।"

उपन्यासभरि नै आउने अन्य उपकथाहरू दाजुबहिनीको यो प्रमुख कथाको अगाडि फितला लाग्छन्। ६० वर्षपछि परी र अब्दुल्लाहको भेट भएको क्षणलाई लेखकले अझ सानदार तरकिाले प्रस्तुत भने गर्न सक्थे। खास गरी परीसँग भेट भइसकेपछिका घटना उनकै मुखबाट वा अब्दुल्लाहमार्फत वाचन गराउन सकेका भए, त्यो अझ सशक्त हुन सक्थ्यो।


Tuesday, July 9, 2013

कथा

घडीले बिहानको ६ बजाउँदा नै लल्लुले स्वास्नीलाई होटलबाट पिकअप गर्न हतारिन्छ । जुरुक्क उठ्छ । र्‍याल लतपतिएको अनुहार नाडीले सर्लक्क पुछ्छ । एक मुठी पानीले अनुहार र कपाल भिजाउँछ । ऐना हेर्छ । मिथ्थुनजस्तो देखिएँ कि देखिइनँ जान्न खोजेको हुँदो हो ! बरण्डामा राखेको नयाँ साइकल हतारिंदै झिक्छ । साइकल नयाँ छ नि, त्यसैले धुलो पुछेर टल्काउन भुल्दैन । अनि बाटाभरि अनेक सोंच्दै स्वास्नी लिन ‘बिन्दास लज’ पुग्छ । हप्ताको तीन वा चार दिन लल्लुले गर्ने चर्या हो यो ।

लज नजिकैको ‘बम्मै साइकल हस्पिटल’ मा थाकेको आफ्नै शरीर जबरजस्ती बोकेर सीताले कुरीरहेकी छ । परैबाट लल्लुले बजाएको सुसेली सुन्छे उसले । अनि गह्रुङ्गो भएको आफ्नो जिउलाई पैतालाको सहारामा छोडेर उभिन्छे । पाकेका केरा जस्ता पहेँला दाँत देखाएर लल्लु हाँस्छ । अनि ओठ चुच्च्याएर साइकलको क्यारिअरतिर इसारा गर्छ । सीताले दुवै खुट्टा एकापट्टी राखेर साइकल क्यारिअरमा आफ्ना पुठ्ठा राखिदिन्छे । नयाँ साइकल चुइँ–चुइँ गर्दै कुद्‍न थाल्छ । लल्लुले साइकल बेतोड कुदाउँदैन, किनकि उसमा एउटा उत्सुकता हुन्छ । उसलाई लिन आउँदा आफ्नो पोइले गर्ने पहिलो प्रश्न कुन हो सीतालाई थाहा छ ।

Source: forum.santabanta.com

“हिजो शुक्रबार ! ए बुढी कति आम्दानी भो त ?” कुन्नी कुन हिन्दी गीतको धुन सुसेल्दै लल्लुले साइकलको प्याडल खुब रहरलाग्दो तरिकाले घुमाउँदै सोध्छ । 

बाटामा भेटिएका मान्छेहरूलाई ‘राम राम हजुर !’ भन्न छुटाउँदैन ।

गुलाफी कलरको सारी लगाएकी स्वास्नीको मलिन अनुहारमा बिहानको उराठलाग्दो घाम ठोक्किएको छ । लल्लुको ढाडमा टाउको अड्याएर बसेकी सीता आज निश्लोट थाकेकी छ । त्यसैले बोल्ने जाँगर पनि छैन उसमा, जति आम्दानीबारे जान्ने जाँगर लल्लुमा थियो ।

“आज बहुत् खटिस् के रे बुढीया ?” गालामा चिमोटिदिन्छ लल्लुले ।

कालो नङपालीस पोतेको लामो नङले पोइको कम्मरमा घोचिदिन सीतालाई पनि मन लागेको थियो । तर उसँग जाँगर भए पो !

“पैँतालिस सौ !”

मलिन स्वरमा उत्तर दिन्छे उसले ।

कमाउन आउँदाका दिन उस्तै उस्तै आउने संख्यात्मक उत्तर आज भने चीनको अर्थतन्त्रजस्तै सर्लक्कै उकालो लागेको थियो !

साइकल झ्याप्प रोकेर बुढीलाई हेरेर हाँस्छ ।

“उम्ममममममम......!!!!” हिस्सि परेकी स्वास्नीको गालामा म्वाइ खाइदिन्छ, “कट्रिनाजस्ती मेरी बुढीया ! कमालै गरिस् रे ! अनि कस्तो मान्छे आएको थियो आज ?”

“तीनजना थिए, विद्यार्थीजस्ता देखिने ।” लामो हाइ काढ्दै निद्रालु आवाजमा सीताले उत्तर फर्काउँछे ।

परबाट एलडिओ साब लखरलखर हिंड्दै आइरहेको देखेर लल्लु टाढैबाट, चिच्याउँछ, “सर ! जय राम जि कि !” 

अनि नजिकै पुगेर साइकल घ्याच्च रोक्छ । सीता लल्लुतिर हुत्तिन्छे, उसका छाती लल्लुका ढाडतिर स्वात्तै बढ्छन्...

Source: tumblr.com

(लेख्दै गरेको उपन्यासको छोटो अंश...)