Sunday, June 30, 2013

समृद्ध तर कमजोर भारत ?

सिपी अर्याल (CP Aryal)

भारतमा नियमित र निष्पक्ष निर्वाचन हुन्छ, समावेशी राजनीतिक व्यवस्था र उदाउँदो अर्थतन्त्र छ, गरिबीको खाडलबाट जनजीवन धमाधम मध्यमवर्गमा रूपान्तरित हुँदै छ । तरपनि गुरुचरण दासको सोंचमा भारत दिनानुदिन असफल राष्ट्र बन्दैछ ।  यो भारतीय प्रजातन्त्रको पहेली पनि हो ।  आफ्नो पुस्तक ‘अ लिबरल केस फर अ स्ट्रङ स्टेटः इन्डिया ग्रोज एट नाइट’ मा दासले भारतलाई असफल राष्ट्र बन्नबाट जोगाउने मन्त्रहरू दिएका छन् । कमजोर राज्य संयन्त्र भएपनि भारत विश्वशक्ति बन्ने होडमा किन दगुरिरहेको छ ? तीब्र प्रगतिबाबजुद मध्यमवर्ग किन असन्तुष्ट छन् ? चीन र अमेरिकालाई टक्कर दिन भारत कहिले सफल हुन्छ ? यस्ता प्रश्नका सहज तर दर्शनमिश्रित उत्तर छन् पुस्तकमा । त्यहाँको प्रशासन, प्रहरी र न्यायमा सुधार आए मुलुक बलियो विश्वशक्ति बन्ने जिकिर गदै दासले यी तिनै पक्ष एकअर्काका परस्पर विरोधी भएकोले नै भारत कमजोर हुँदै गएको हो भन्छन् ।
Gurucharan Das_book review_CP Aryal
आधुनिकीकरण र विकासको प्राचिन सिद्धान्तअनुसार राजनीतिक, आर्थिक र सामाजिक विकास सँगसँगै भएमात्र राष्ट्र सफल बन्न सक्छ । भारत स्वतन्त्र भएर नेहरुको नेतृत्व पायो । उनले अँगालेको समाजवादी धारले भारतको आर्थिक विकासलाई द्रुत बनाउन चाहिँ सकेन । राजनीति अघि बढ्यो तर अर्थतन्त्र जहिँको त्यहीँ । यही थियो समस्याको जड, दास भन्छन् । फेरि, इन्दिरा गान्धीको कालमा उनको राजनीतिक महत्वाकांक्षाको कारण भारत नराम्रो गरी पिल्सिएर कमजोर बन्यो । त्यसैले स्वतन्त्रतापछिको भारतले एउटा ‘मोहनदास गान्धी’ खुब मिस गर्छ ।

Saturday, June 15, 2013

प्रेमपुराण

सिपी अर्याल (CP Aryal)

ब्याख्या र बुझाइमा फरकफरक रहनेगरेको सर्वकालिक विषय हो प्रेम । यो एउटा रहस्य हो, भुमरी पनि हो । यसको पोको फुकाएर ब्याख्या गर्ने यत्न गरेका छन् १० थरी लेखकले संस्मरणत्मक पुस्तक–आकार फस्ट लभमार्फत् । प्रत्येकको आफ्नै भोगाइ छ तर परिणाम एउटै । सबैजना कुनै दृष्टिले असफल प्रेमी/प्रेमिका भएपनि उनीहरूको भोगाई–वाचन पढ्दा पुराण पढेजस्तै लाग्छ ।

संग्रहको सुरुमै विमल आरोही देखिन्छन्, पँधेरामा लुक्दै आफ्नी प्रेमिकाको सुन्दरता लोभलाग्दो शैलीमा ब्याख्या गरिरहेका । पुस्तकमै उत्कृष्ट बिम्बप्रयोगमार्फत् यिनले खितखिताएर हँसाउँछन् । कतै उनको प्रेमको वियोगपूर्ण अन्त्यले पाठकलाई रुन पनि विवश बनाउँछन् । आफ्नी ‘विन्ते’ को सम्झनामा उनले खर्चेका शब्द–पसीना लोभलाग्दा हुँदाहुँदै आञ्चलिक भाषाप्रयोगमा उनी कतैकतै नराम्ररी चिप्लिएका छन् ।

आफ्नो प्रेममा थच्चिएका विमलपछि शिवानी झुल्किन्छिन् । उनका प्रसंग र कथाबुनोट प्राकृतिक लाग्छन् । प्रेम तोड्ने निर्णय सुनाएर पर हिँडिरहेको आशिषलाई टिलपिल हुँदै हेरिरहेकी शिवानीपछि अर्का देवदास प्रकट हुन्छन्, कुमार नगरकोटी। “जिप्सी यादहरू बोक्दै ऋतुको चियापसलमा” बसिरहँदा आफूभन्दा जेठी र विवाहित मीरासँग प्रेममा पर्छन् उनी । मीरा अचानक ओझेल परेपछि नगरकोटीले अन्ततः ऋतुसँग विवाह गर्छन् । माइत गएकी ऋतु फर्केर आउँदिन । पाठकले ऋतुलाई धारे हात लगाउँछन् । प्रेमिका/श्रीमतीले छाडेर हिँडेपछिको नगरकोटीको खत नओभाउँदै कमल नेपाली देखिन्छन्, पहिलो प्रेमले उनको हृदयमा कस्तो खत बसाल्यो, त्यो देखाउँदै । निकै रमाइलो पारामा प्रस्तुत कमलको कथाअन्त्यले चाहिँ पाठकलाई झसङ्ग बनाउँछन्, कुनै युवतीको दुईधारे प्रवृत्तिमाथि होशिवार हुन आग्रह गर्दै ।

मनपरेकी संगीतालाई पोस्टकार्ड दिएर त्यसमा आफ्नो नाम लेख्न बिर्सेका लेनिन बञ्जाडेले नामकै कारण ती युवतीलाई नपाएपछि स्पष्टिकरण दिन्छन् “नाममा के छ ?” भन्दै । कलेजजीवनमा जेसुकै गर्न नडराउने केटो, युवतीसामु प्रेम पोख्न कति काँतर हुन्छ, त्यो यिनले बताएका छन्, सरल र मीठो भाषामा । त्यसपछि सहरीया युवतीको चक्करमा फँसेका अजित आउँछन् । सुहाउँदा नेपाली शब्द हुँदाहुँदै अत्यधिक अंग्रेजी शब्द प्रयोग गरेका अजित आफ्नो वर्णनमा इमान्दार देखिन्छन्, नाटकीयता कम छ यिनको भोगाइमा । रिसाहा प्रेमीको उन्मत्तताबाट दिक्क भएर फुत्किएपछि ऋचाले आफूलाई प्रेम–पिँजडाबाट फुत्किएकी चरी मान्छिन् । उनले सन्देश दिन खोजेजस्तो देखिन्छ, प्रेम एउटा पिँजडा हो ।