Saturday, February 23, 2013

गुमनाम गुरु

सिपी अर्याल, विजयराज पौडेल

बाबुको सम्झनाको हिक्काले कहिल्यै छोड्दैन उनलाई । एक–अनेक तरिकाले घाउ बल्झिरहन्छ । दुनियाँलाई चासो छ नि त बाबुबारे । त्यसैले सोधिरहन्छन् सबैले ।

“फर्केर आउने सम्भावना अब होला र ?” मानिसहरूको यस्तो प्रश्न सिधै उनको आँखामा गएर ठोक्किन्छ ।
अनि ती आँखामा सम्झनाका बाछिटाहरू लम्पसार पर्छन् । ओसिला आँखाहरू सजिलै ओभाउनै पाउँदैनन् । 

“बुवा फर्केर आउनुहोला जस्तो लागिरहन्छ...” डोरबहादुर विष्टका छोरा केशरबहादुरले यसो भन्दा माघको आकाश धुम्मीएको थियो । पानी पर्ला–पर्ला जस्तो देखिन्थ्यो । अनि केशरका आँखा पनि उसैगरी पानीले धुम्मीएका थिए । आकाशको जस्तै आँखाका पानी पनि तप्प चुहिइहालेका थिएनन् ।

केही वर्ष अघि धेरैलाई आश थियो–काँसझैं सेतै फुलेको एउटा बुढो मानिस झोलाभरी पाण्डुलिपि बोकेर आउने छ । र, फेरि एकपल्ट संसारभरिका विद्वानहरुलाई चक्मा देखाउने छ । १२ वर्षमा खोला पनि फर्किन्छ भन्छन्, तर उनी फर्केनन् । सधैँका लागि एउटा रहस्य भए । धर्तीमा छन् कि आकाशमा ? सबै चुपचाप । उत्तर भए पो ! श्रीमतीको स्वर्गेवास हुँदा पनि फर्किएनन् न त घरमा ठूला थितीहरु चलाउँदा नै । त्यसैले कठ्यांग्रिने चिसोजस्तै भइसकेको छ आस । तर पनि ८७ वर्ष वाँचिने नै उमेर हो । खोला फर्किन्छ कि ! अनि के थाहा उनी चम्कीएका आँखासहित लौरी टेक्दै आइ पो हाल्छन् की ?

“उनी बहुलाएर हिँडे”

“‘प्रचण्ड’ भनेका अरू कोही नभएर यिनै विष्ट हुन् ।”

“उनी त जोगी भएर भारततिर बरालिइ हिँडेका छन् रे !”

“जोगीको भेषमा इथ्नोग्राफिक रिसर्च गर्दैछन् रे !”

विष्ट हराएपछि मानिसहरूका फरक–फरक अन्दाज हुन यी । माओवादी विद्रोह सुरु भएको भर्खरै एक वर्ष हुनु र उनी हराउनुको संयोग कस्तो जुरेको ! “त्यसैले उनलाई ‘प्रचण्ड’ भन्ने अड्कल काटेका थिए कतिले” छोरा केशर बताउँछन् । तर कट्टर राजनीतिक खेलसँग विष्टको सम्बन्ध ब्रहण्डको एक छेउदेखि अर्को छेउसम्मको दुरी जत्तिको पनि थिएन होला ! भलै उनका लेख, अनुसन्धान अनि विचारहरूले त्यस्तो राजनीति गर्नेहरूलाई आच्छुआच्छु पारेका होउन् ।

नेपालको मानवशास्त्रको जनकको उपाधी पाएका विष्टको जीवन काल्पनिक जस्तै लाग्छ । सुरुमा पाटनको कुनै विद्यालयका प्रधानाध्यापक । अनि स्वअध्ययनबाट प्रोफेसर तथा मानवशास्त्री । २०१३ सालतिर सिरिरि चलेको बतासले उनको कानमा खबर पु¥यायो, “बेलायतबाट आएका मानवशास्त्रीले सोलुखुम्बुका शेर्पाबारे अनुसन्धान गर्न चाहन्छन् । त्यसैले उनलाई नेपाली भाषा, रहनसहन, रितीबारेका यथार्थ बुझाउन एकजना नेपाली सहयोगी चाहिएको छ रे ।” कालो पाटीमा अक्षर पोख्न उद्दत प्रधानाध्पापकको मनको तलाउमा त्यो बतासले ढुङ्गा फ्याँकेजस्तो भयो । आफूले त्यो काम ती बेलायती मानवशास्त्री, क्रिस्टोफोर भोन फ्युर–हेमिन्ड्रफसँग गर्न पाए हुन्थ्यो भनि आफ्नै मनसँग विष्टले वार्तालाप गरे । अनि आफूलाई सहयोगी राखिदिन ती खैरो कपाल भएका बेलायतीसामु यस्तो याचना गर्न पुगे, “नेपाल बुझ्ने तपाईँका एक जोडी आँखा र कानमा मेरा पनि एक जोडी आँखा र कान मिसाउनुहोस् हेमिन्ड्रफ !” हेमिन्ड्रफलाई विष्ट चाहिएको अनि विष्टलाई हेमिन्ड्रफ । कुरा मिल्यो । चक र डस्टरको दुनियाँबाट अब विष्ट अलग भए, यो हिमाली देशका नेपथ्यहरूको फन्को लगाउन दुईले उमङ्गको सिटबेल्ट कसिलो गरी बाँधे । एकनासमा हिँडिरहेको घोडेटो जस्तो जिन्दगीसँग विदा माग्दै अर्कै राजमार्गमा उनका पदचाप सुस्त–सुस्त बग्न थाले । विल्कुल नौलो काम, नौला मानिससँगको उठबस । हातका रेखाहरू मेट्न नसकिने भविष्य जो हुन् । विष्टका हातका रेखामा जे लेखिएको थियो त्यो नभै के सुख्ख र ! रेखाहरू चलमलाए अनि विख्यात अनुसन्धाता हुने सम्भावनाहरू विस्तारै कोरलिन थाले । आफूले एन्थ्रोपोलेजीकल रिसर्च गर्नुपर्ने थाहा पाउँदा विष्टले हेमिन्ड्रफलाई ‘एन्थ्रोपोलोजी’को अर्थ सोधेनन् । आफैले सुटुक्क शब्दकोष हेरे, जहाँ लेखेको थियो, “मानव समाजको अध्ययन गर्ने विज्ञान” ।
Bista at Jumla (Photo: John Hames)